सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अवकाश प्राप्त नायव सुब्बा गणपति झाविरुद्ध झण्डै अढाइ करोड बिगोको भ्रष्टाचार मुद्दा

बुधबार, ०८ असार २०७९, १६ : २७
बुधबार, ०८ असार २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाशप्राप्त नायव सुब्बा गणपति झाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनको वैधानिक आम्दानी र खर्च तथा लगानीका बारेमा छानबिनपछि आयोगले दुई करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ ५१ पैसाको स्रोत नखुलेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

उनी २०३९ मंसिर ९ गते गाविस सचिवका रुपमा सार्वजनिक सेवामा प्रवेश गरी त्यस यता विभिन्न पद तथा कार्यलयमा रही २०७८ साउन महिनाबाट अवकाश प्राप्त गरेको आयोगले जनाएको छ । आयोगका अनुसार आर्थिक वर्ष २०३९÷४० देखि २०७७/७८ सम्मको उनको समग्र आय÷व्यय तथा खर्च एवं लगानीलाई आधार बनाएर छानबिन गरिएको हो ।

समीक्षा अवधिमा उनले दुई करोड ४२ लाख ६७ हजार १०४ रुपैयाँ ५६ पैसा आयआर्जन गरेको र ४ करोड ८७ लाख ३८ हजार २१० रुपैयाँ ७ पैसा खर्च एवं लगानी गरेको देखिएको आयोगको भनाइ छ । उनको दुई करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ ५१ पैसा बराबरको खर्च तथा लगानीको वैधानिक स्रोत खुल्न नसकेको भन्दै आयोगले उनीविरुद्ध आरोपपत्र दायर गरेको हो । वैधानिक स्रोत खुल्न नसकेको रकमलाई बिगो मानेर आयोगले उक्त रकम बराबरको सम्पत्ति तथा नगद जफत गर्न पनि मागदाबी गरिएको छ ।

अवकाश प्राप्त नायव सुब्बा झाले आफूले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति पत्नी मीनादेवी झा, छोराहरु दिवाकर कुमार झा, शिवाकर कुमार झा र करुणाकर कुमार झाको नाममा समेत राखेको पाइएको भन्दै आयोगले उनीहरुको नाममा रहेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनीहरुलाई समेत प्रतिवादी कायम गरेर आरोपपत्र दायर गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप