शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली महिला क्रिकेटः जब मुखको गाँस खोसियो !

बिहीबार, २३ असार २०७९, ११ : २९
बिहीबार, २३ असार २०७९

नेपाली महिला क्रिकेट टोली एउटा ठूलो प्रतियोगिता खेल्नबाट बञ्चित भयो । छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको नेपाल फाइनल पुन सकेन । नेपालको फाइनल यात्रामा बलियो टोली बाधक बनेको भने होइन । वर्षा बाधक बन्दा नेपाल सेमिफाइनबाट नै बाहिरियो । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप छनोट हुने नेपालको सपना पानीले पखालियो । महिला टोलीले गरेको तयारी र मेहनत मलेसियाको घनघोर वर्षाले युएईलाई राहत दियो । 

युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि वर्षा बाधक बन्दा खेल रद्द भएपछि नेपाल छनोट हुन सकेन । योसँगै नेपालको एसिया कप महिला टी–ट्वान्टी च्याम्पियनसिप खेल्ने सपना चकनाचुर भयो । 

नेपाली टोलीले अपेक्षाकृत प्रदर्शन गर्दा पनि छनोट हुन नसकेकोमा नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा निराश छन् । लक्ष्यको मुखमै पुगेर बाहिरिनु परेको पीडा टमाटाको उदास अनुहारमा झल्किन्छ । समग्रमा नेपालको प्रदर्शन राम्रो भए पनि वर्षाका कारण नेपाली टोली अभागी साबित भएको उनको भनाइ छ । 

‘महिला टोलीले धेरै मेहनत गरेको थियो । प्रतियोगिता खेलेर नै बाहिरिएको भए बेग्लै कुरा । ठूलो मिहिनेत गर्दा पनि त्यसको नतिजा नआउँदा जो कोहीलाई नराम्रो लाग्ने रहेछ । टिम कमजोर भएको होइन । लिग चरणका खेलदेखि नै उत्कृष्ट प्रदर्शन गरेको टिम फाइनलमा नपुग्दा टोलीका सबैलाई दुःख लाग्यो,’ टमाटाले भने । 

लामो समय नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रशिक्षकको भूमिकामा रहेका टमाटाले अन्तर्राष्ट्रिय स्तरमा टिमका लागि नेतृत्व गरे । पहिलो पटक महिला टोलीलाई ठूलो प्रतियोगिता खेलाउने उनको योजनामा भने पानी बाधक बन्यो । 

यदि महिला टोलीले एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप खेल्न पाएको भए टिमका खेलाडीहरू विदेशी लिगमा जाने र नयाँ एक्सपोजर पाउने अवस्था थियो । टमाटाका अनुसार लामो समयदेखि टिममा नै खेलिरहेका, टिममा सन्यास लिने अवस्थामा रहेका खेलाडीको लागि पनि ठूलो सफलता हुने थियो । अहिलेको सफलताले नेपाली क्रिकेटलाई हेर्न नजरिया नै परिवर्तन हुने थियो । तर, यो सबै अहिले सम्भव देखिएन । 

यूएई विरुद्धको खेलमा पहिलो इनिङ सकेपछि वर्षा रोकिने आशाका साथ खेलाडीहरू ब्याटिङ गर्न प्याड लगाएर तयार पारेका थिए टमाटाले । डीएल प्रविधिमार्फत् पनि सीमित ओभर तोकेर ब्याटिङ गर्ने अपेक्षा खेलाडीको रहेको थियो । तर, पछि खेल रद्द भएको घोषणा गर्दा ड्रेसिङ रुमको माहौल नै बेग्लै बनेको उनको भनाइ छ । 

पुरुष टोलीको विभिन्न प्रतियोगिताको समयमा केवल एक विकेटले हारेको समयमा आफूलाई केही सम्हाल्ने आधार भएको तर, वर्षाका कारण नै छनोट नहुँदाको अहिलेको विषय भने आफूलाई निकै मर्माहत बनाएको उनले बताए । 

‘पुरुष क्रिकेट टोलीको नतिजामा एक रन र एक विकेटको हार हेर्दा आफूलाई केही हौसला दिएर सम्हाल्ने अवस्था हुन्थ्यो । तर, यहाँ खेल नै नखेलेर प्रतियोगिताबाट बाहिरिनु पर्यो । यो अवस्थामा मैले न खेलाडीलाई सम्हाल्न सके न त आफूलाई,’ टमाटाले भने । 

खेलको प्लेअर अफ दी म्याचको ट्रफी लिन जाँदा खेलाडी अस्मिना कर्माचार्यले आफ्नो अघि आएर आँसु झारेको त्यो पल अझै पनि उनको आँखा अगाडि झल्किरहेको छ । क्रिकेट करियरमा त्यो पल आफ्नो लागि इमोसनल पलको रुपमा कहिल्यै नमेटिने क्षणको रुपमा रहने उनको भनाइ छ । 

बलिङतर्फ टिमका लागि उत्कृष्ट प्रदर्शन गरेकी अस्मिनाले पाँच विकेट लिएकी थिइन् । टमाटाका अनुसार सेमिफाइनलअघि दुई दिन यूएईलाई कसरी हराउने भन्ने विषयमा नै होमवर्क गरिएको थियो । सबै कुरा आफूहरूले बनाएको प्लान अनुसार गएको तर यूएईलाई नतिजाले साथ दियो ।

‘सेमिफाइनलअघि दुई दिन रेष्ट थियो । त्यो समयमा हामीले सेमिफाइनलमा कसरी प्रस्तुत गर्ने विषयमा छलफल अघि चालेका थियौँ । हामीले यूएईलाई ८०–८५ रनमा रोक्ने योजना बनाएका थियौँ, त्यो पनि सफल भयो । सबै कुराले हामीलाई साथ दियो तर, अन्तिम नतिजाले दिएन,’ टमाटाले भने । 

यूएईले नेपाललाई ८२ रनको लक्ष्य दिएको थियो । यूएई १९ ओभर ५ बलमा ८१ रनमा समेटिएको थियो । तर, लगातार वर्षा हुँदा नेपालले ब्याटिङ गर्ने मौका पाएन । पछि यूएई समूहको शीर्ष स्थानमा रहेका कारण फाइनलमा गयो । समूह ‘बी’ मा रहेको नेपाल उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको थियो ।

प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुने प्रावधान थियो । प्रतियोगिताबाट बाहिरिई सकेपछि पनि आगामी प्रतियोगिताका लागि टिमलाई अहिलेदेखि तयार पार्न तयारी थाल्नुपर्ने टमाटाको ठम्याइ छ । उनले नेपाली महिला टोली प्रतियोगिता अघि मात्र तयारी गर्ने परिपाटी भएकाले महिला क्रिकेटमा पनि लगानी बढाउनुपर्ने समय आएको धारणा राख्छन् । 

‘यो प्रतियोगिता हाम्रो पक्षमा रहेनछ । एसियाका ठूला राष्ट्रसँग खेल्न टिमलाई तयार पार्न आवश्यक छ । त्यसको लागि आजैदेखि तयारी थाल्नुपर्छ । महिला क्रिकेटमा क्यान र राज्यले पनि लगानी बढाउनु पर्छ,’ टमाटाले भने । 

यता राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्रीले वर्षाका कारण युएइसँगको खेल रद्द हुँदा धेरै घाटा लागेको बताइन् । युएइजस्तो बलियो टिमलाई ८० रनमै अलआउट गरेपछि खेल आफूहरूले जित्ने अपेक्षा गरेको बताउँदै उनले भनिन्, ‘बलियो टोलीलाई सेमिफाइनलमा हराएर जाँदा नेपाली महिला क्रिकेटको स्तर नै माथि हुने थियो । तर वर्षाले हामीलाई धेरै घाटा गर्‍यो । ’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप