आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बौद्ध धर्मावलम्बीको वर्षावास सुरु

बुधबार, २९ असार २०७९, १५ : ०६
बुधबार, २९ असार २०७९

बौद्ध धर्मावलम्बीको पर्व वर्षावास आजदेखि सुरु भएको छ । प्रत्येक असार महिनाको पूर्णिमादेखि असोज पूर्णिमा तीन महिनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्पराअनुसार लुम्बिनीको राजकीय बुद्ध विहारमा यसको शुभारम्भ गरिएको छ । 

तीन महिने वर्षावास तथा धार्मिक अनुष्ठान कार्यक्रमको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बुद्ध धर्म र दर्शनको प्रचारका लागि वर्षावास उपयुक्त समय भएको बताए । बौद्ध भिक्षु तथा उपासक उपासिका एकै ठाउँमा भेला हुने र धार्मिक कार्यक्रम गरेर बुद्धको शिक्षा फैलाउन यो समयको सदुपयोग गर्नुपर्ने उनको भनाइ छ ।

विश्वशान्ति, मेलमिलाप र भाइचाराका लागि बुद्धको सन्देश महत्वपूर्ण रहेको जनाउँदै उनले आफ्नो सुख सयल त्यागेर विश्वका लागि शान्ति खोज्न हिँड्नु महान् काम भएको धारणा राखे । “आज विभिन्न देशमा आणविक हतियारबाट एकले अर्कोलाई निस्तेज गर्ने परिपाटी छ, यस्तो अवस्थामा बुद्धको शान्तिको सन्देशको महत्व धेरै छ, यसलाई सबैले आत्मसात् गर्नुपर्छ”, प्रमुख शेरचनले भने ।

सारा जनता एक भएर बुद्धको शिक्षालाई व्यवहारमा उतार्न सके देशमात्र नभई विश्वमा नै सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ । “हामीले बुद्धलाई बुझ्न भिक्षु बन्नैपर्छ भन्ने होइन, तर एकले अर्कोलाई सहयोग गरौँ, अर्काको राम्रो सोचौँ यो नै बुद्धको शिक्षाको हो”, प्रमुख शेरचनले भने ।

लुम्बिनीको राजकीय बुद्ध विहार लुम्बिनी विकास कोषको गुरुयोजना बाहिर रहेको सुन्दा आफूलाई अचम्म लागेको जनाउँदै प्रमुख शेरचनले यसलाई सच्याएर अघि बढ्नुपर्ने र यसका लागि प्रदेश सरकारसँग छलफल गर्ने वचन दिए । “लुम्बिनी क्षेत्रकै पुरानो विहार गुरुयोजना नपर्नु दुःखद कुरा हो, यसबारे प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्रीसँग कुरा गरेर भए पनि सच्याउन पहल  गर्छु”, उनले भने ।

पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरीले अहिले संसारले शान्ति चाहेकाले बुद्धको दर्शन अझै अपरिहार्य भएको बताए । “द्वन्द्वबाट सबै देश टाढा रहन चाहन्छन्, त्यसैले बुद्धको शिक्षा र सन्देश आज पनि सान्दर्भिक छ”, मन्त्री चौधरीले भने । बुद्ध जन्मभूमिमा बस्न पाउनु र यही क्षेत्रको विकासका लागि पर्यटन मन्त्रालयको जिम्मेवारी पाउनु आफ्ना लागि गर्वको विषय भएको बताउँदै उनले यो क्षेत्रको विकासका लागि प्रतिबद्ध भएर लाग्ने बताए ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले मानिसले भित्रबाट इच्छा गरेको कुरा शान्ति भएकाले बुद्धको शिक्षालाई आत्मसात् नगर्दासम्म यसको प्राप्ति नहुने बताए । उनले कोरोनाका कारण पछिल्लो समय धार्मिक गतिविधि सुस्ताएकाले अब सबै विहारले यस्ता धार्मिक क्रियाकलाप बढाउनुपर्ने बताए ।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन सञ्जीव हुमागाइँले लुम्बिनीमा हुने कायक्रममा स्थानीयको सहभागिता बढाउन आवश्यक रहेको बताए । लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले २०१३ सालमा स्थापित राजकीय बुद्ध विहारको स्थानीयले नै संरक्षण गर्दै आएको बताउँदै अब नगरपालिकाले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप