बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

टरिगाउँ विमानस्थलको स्तरोन्नति होला ?

सोमबार, ०२ साउन २०७९, ११ : ०९
सोमबार, ०२ साउन २०७९

२०११ साल मंसिरमा पहिलो पटक दाङको टरिगाउँ विमानस्थल प्रयोगमा आएको थियो । राजदरवारसँग नजिक रहेका दाङका स्व. झग्गुप्रसाद शर्मा र कालुुराम चौधरीले तत्कालीन राजा त्रिभुवन र प्रधानमन्त्री मातृका प्रसाद कोइरालाको सहयोगमा टरिगाउँ विमानस्थलमा उडान–अवतरण सुरु गराएका थिए । खुला चौरका रुपमा रहेको विमानस्थलमा चिसो परालमा आगो बालेर धुवाँको मुस्लोलाई संकेत बनाई विमान अवतरण गराइएको थियो । सो विमानस्थलमा पहिलो यात्रु बनेर तत्कालीन शाही नेपाली सेनाका क्याप्टेन दिलमान सिंह विमानस्थलमा ओर्लिएका थिए ।

पहिलो पटक दाङमा आएको विमान हेर्नेको भिड उत्तिकै थियो । तत्कालीन समयमा गाडी मोटरसम्म कहिलेकाहीँ मात्र देख्न पाएका स्थानीयवासीले पहिलो पटक विमान हेर्न पाउँदा भिड नलाग्ने कुरै भएन । ०११ सालपछि तत्कालीन सरकारले शाही नेपाली वायु सेवा निगमको सानो जहाजमार्फत यो विमानस्थलमा २०४२ सालसम्म सेवा सञ्चालन गरिरह्यो । मुलुकमा यति पुरानो विमानस्थल अहिले पनि स्थानपनाकालको तुलनामा खासै भिन्न छैन । यसबीचमा आसपासका कयौं ठाउँमा नयाँ विमानस्थल बने तर टरिगाउँ विमानस्थलको स्तरोन्नति हुन सकेन ।

०४३ सालदेखि टरिगाउँ विमानस्थलमा विमान बस्नै छोड्यो । झण्डै ३१ वर्ष नियमित उडान गरिरहेको तत्कालीन शाही वायु सेवा निगमको विमान आउन एकाएक बन्द भयो । विमान सेवा किन बन्द भयो भन्ने प्रश्नको खोजी कसैले गर्न सकेनन् । ०४३ सालमा बन्द भएको विमानस्थलमा ०६० सालदेखि फेरि सेवा सुरु भयो । निजी क्षेत्रको पहलमा ०६० देखि ०६६ सालसम्म नियमित हवाई सेवा सञ्चालनमा आयो । ०६६ सालमा विमानस्थलको धावनमार्ग निर्माणका लागि सरकारले नै उडान बन्द ग¥यो । तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र बहादुर विष्टको पहलमा ३० मिटर चौडाइ र ७५० मिटर लम्बाइ कालोपत्रे धावनमार्ग निर्माण गरिएको थियो । धावनमार्ग निर्माणमा झण्डै दुुई वर्ष लाग्यो । धावनमार्ग निर्माणपछि ०६८ देखि ०६९ मंसिरसम्म नेपाल वायुसेवा निगमको सानो जहाजले यो विमानस्थलमा सेवा सञ्चालन ग¥यो । ०७१ सालमा निजी क्षेत्रका विमान सेवा कम्पनीले पनि परीक्षण उडान गरे ।


०६९ देखि हालसम्म नेपाल वायु सेवा निगमले यो विमानस्थलमा नियमित उडान भर्दै आइरहेको छ । तर विमानस्थलको अवस्थामा भने सुधार आउन सकेको छैन । सानो धावनमार्गका कारण यहाँ साना विमानले मात्र सेवा सञ्चालन गरेका छन् । दाङबाट ठूलो संख्यामा विमान सेवाका लागि नेपालगञ्ज तथा भैरहवा जाने गरे पनि जिल्लामै रहेको विमानस्थल स्तरोन्नति गरी ठुला विमान सञ्चालनयोग्य बनाउन सरोकारवाला निकायले पहल गरेको छैन ।

नेपाल वायु सेवा निगम दाङका स्टेशन मेनेजर महेन्द्र कुमार शर्माले उपयुक्त धावन मार्ग नभएका कारण एटीआर विमान दाङमा बस्न नसक्दा दाङ तथा साविक राप्तीवासीहरु विमान सेवाका लागि नेपालगञ्ज र भैरहवा धाउनुपर्ने बाध्यता रहेको बताए । उनले भने, ‘सानो जहाज चल्छ, थोरै यात्रुमा भाडा महँगो हुन्छ । त्यसैले पनि यहाँका यात्रु नेपालगञ्ज र भैरहवातिर जानुपर्ने अवस्था छ ।’ 

बन्न सक्छ धावनमार्ग ?

दाङ प्रादेशिक राजधानी पनि हो । यो जिल्ला पश्चिम नेपालको प्रवेशद्वारका रुपमा पनि चिनिन्छ । तर यहाँको हवाई सेवा स्तरोन्नतिमा कसैले चासो दिएको छैन । दाङ विमानस्थल प्रमुख गणेश अर्यालले धावन मार्ग विस्तारको सम्भावना रहे पनि लगानी आवश्यक रहेको बताए ।

७५० मिटर धावनमार्गलाई न्युनतम १३ सय मिटर विस्तार गर्न सके विमान सेवाकै लागि यात्रीहरू दाङबाट भैरहवा र नेपालगञ्ज धाउनुपर्ने बाध्यता टर्ने उनी बताउँछन् । विमान सेवाका लागि विमानस्थल हाताभित्र ३० हजार लिटर क्षमताको इन्धन डिपोसहित आवश्यक उपकरण व्यवस्थापन गरिसकेको उनले बताए । 

‘धावनमार्ग विस्तार’ चुनावी नारामात्र

टरिगाँउ विमानस्थल स्तरोन्नतीको विषय चुनावी नारामात्र बन्ने गरेको छ । चुनावको समयमा सबैजसो दलले टरिगाउँ विमानस्थलको धावनमार्ग स्तरोन्नति गरी ठुला विमानको सेवा सञ्चालनयोग्य बनाउने प्रतिबद्धता जनाउँछन् । चुनावी सकिएपछि ती दल र नेताहरुले विमानस्थल स्तरोन्नतिको बाचा पनि बिर्सिन्छन् ।

तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले भने, ‘विमान सेवा छैन भनौं भने सञ्चालन त भइरहेकै छ, विमान सेवा छ भनौं भने सानो विमान, भाडा महँगो, हवाई सुरक्षाका हिसावले उस्तै जोखिम, नेताहरुले धावनमार्ग बनाउँदैनन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप