आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

डोलेश्वरलगायत प्रसिद्ध शिवालयमा दर्शनार्थीको भीड

सोमबार, ०२ साउन २०७९, १२ : ५७
सोमबार, ०२ साउन २०७९

यहाँका प्रसिद्ध शिवालयमा एक महिने साउने मेला सुरु भएको छ । साउनको पहिलो सोमबार आज बिहानैदेखि यहाँका प्रसिद्ध शिवालयमा दर्शनार्थीको घुइँचो लागको छ ।  सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा आइतबारदेखि नै एक महिने साउने मेला सुरु भएको डोलेश्वर महादेव मन्दिर संरक्षण एवं विकास समितिका पूर्वउपाध्यक्ष तथा पूर्व वडाध्यक्ष किरण थापाले बताए ।

आज सोमबार भने मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको जानकारी दिँदै उनले भक्तपुरको जगातिबाट डोलेश्वर महदेव मन्दिर जाने दुई सडकलाई एकतर्फी यातायात सञ्चालन गरिएको, मन्दिरमा लाइन व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गरिएको जानकारी दिए । 

बिहानैदेखि दर्शनार्थीको भीड लागेको जनाउँदै उनले एक महिने मेलामा दिनभरि नै मेला भर्न सकिने भए पनि सोमबार र शनिबार भने निकै भीड लाग्ने बताए । मेलाको सुरुआतमै आइतबार स्थानीयले कलश यात्रा गरी चतुरर्भजाचार्य चुरामणि महाराजबाट मेलाको उद्घाटन गरिएको थियो भने सूर्यविनायक नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।

सूर्यविनायकका नगर प्रमुख वासुदेव थापाले नगरपालिकाले धार्मिक क्षेत्रको विकास र प्रवद्र्धनमा ठूलो टेवा पुर्याएको जनाउँदै डोलेश्वर मन्दिरको भौतिक संरचना र विकासमा नगरपालिकाले सहयोग गर्दै आएको बताए । उनले नगरपालिका क्षेत्रलाई शिव सर्किटको निर्माण गरी धार्मिक पर्यटनको विकास गर्ने बताए ।

त्यसैगरी सिपाडोलको अर्को प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ । मनको आशा पूरा गर्ने महादेवका रुपमा परिचित रहँदै आएको यो मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो । डोलेश्वर हुँदै आशापुरी जान र नंखेल काँक्राबारी हुँदै आशापुरी जान दुईतर्फी सडक सञ्चालनमा आएपछि यो मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको हो । 

त्यसैगरी सूर्यविनायक नंखेलस्थित नन्दीकेश्वर महादेव मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ भने सूर्यविनायक नपास्थित सिरुटारको गुप्तेश्वर, सोमलिङ्गेश्वर, चरखण्डीश्वर, अनन्तलिङ्गेश्वर, सुवर्णेश्वर, लटरम्बेश्वर र अग्लो महादेवका रुपमा चिनिएको कैलाश महादेवमा पनि दर्शनार्थीको बिहानैदेखि भीड लागेको छ । 

भक्तपुर नगरपालिकास्थित प्रसिद्ध दत्तात्रय मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । भीड व्यवस्थित गर्न स्वयंसेवक परिचालन गर्नाका साथै लाइनमा बस्नेका लागि टोकनको व्यवस्था गरिएको छ । भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोकदेखिका दर्शनार्थीको आगमनले यहाँका महादेव मन्दिर भरिभराउ भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप