शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा ३७ गैँडासहित २०४ वन्यजन्तु मरे

शुक्रबार, ०६ साउन २०७९, ०८ : ५५
शुक्रबार, ०६ साउन २०७९

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षको अवधिमा दुर्लभ एकसिंगे गैँडासहित २०४ वन्यजन्तु मरेका छन् । निकुञ्जका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा २९ प्रजातिका २०४ वन्यजन्तु विभिन्न कारणले मरेका हुन् । 

तीमध्ये प्राकृतिक कारणले मात्रै १०४ वन्यजन्तु मरेका छन् । कुकुरको आक्रमणबाट ५९, तार जालीमा परेर १६, सडक दुर्घटनाबाट ११, चोरी सिकारीबाट दुई र मानवीय लापरबाहीबाट एक वन्यजन्तुको मृत्यु भएको हो । १२ वन्यजन्तु मर्नुको कारण नखुलेको निकुञ्जले बताएको छ । सबैभन्दा धेरै चित्तल मरेका छन् । 

निकुञ्जका अनुसार ८६ वटा चित्तल मरेका हुन् । तीमध्ये कुकुरको आक्रमणबाट मात्रै ५२, प्राकृतिक कारणले १५, तार जालीमा परेर १४ र सडक दुर्घटनाबाट चार चित्तलको मृत्यु भएको निकुञ्जको तथ्यांकमा उल्लेख छ । एउटाको भने कारण खुलेको छैन ।

संरक्षित वन्यजन्तुको सूचीमा सुचीकृत दुर्लभ एकसिंगे गैँडा ३७ वटा मरेका छन् । तीमध्ये ३३ गैँडा प्राकृतिक कारणले मरेका हुन् भने दुई गैँडा चोरी सिकारीले मारेका हुन् । एउटाको कारण खुलेको छैन । एउटा गैँडा भने मानवीय लापरबाहीका कारण खाडलमा परेर मरेको हो ।

त्यस्तै, छ वटा बाघ प्राकृतिक कारण (उमेर पुगेर, विरामी भएर आदि)ले मरेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । छ वटै बाघ उपचारको क्रममा मरेको उनले बताए । १० वटा अर्ना पनि प्राकृतिक कारणले मरेका छन् । इन्क्लोजरमा राखिएका अर्ना बाघको आक्रमणबाट मर्ने गरेका छन् ।

जरायो र बँदेल १०-१० र सरकारी घरपालुवा दुई हात्ती मरेका छन् भने भालु, चितुवा, गौरीगाई, निलगाई, गिद्ध लगायतका वन्यजन्तु एकरएक वटा मरेका छन् । घडीयाल गोही चार, लगुना पाँच, मगर गोही तीन, रतुवा पाँच, अजिङ्गर दुई लगायत साना प्रजातिका जनावर पनि मरेका छन् ।

निकुञ्जले गत आवमा तीन गैँडासहित १९ प्रजातिका २२२ वन्यजन्तुको उद्धार गरेको छ । सात बाघ, १५४ अजिङ्गर, १४ चित्तल, नौ मगर गोही र आठ कछुवाको उद्धार गरिएको तिवारीले जानकारी दिए । एक किंग कोब्रासहित सात सर्पको उद्धार गरिएको छ ।

त्यस्तै, चितुवा, जरायो, उल्लु, गिद्ध, भुडीफोर गरुड, मयुर, बँदेल एकरएक वटा उद्धार गरिएको उनले बताए । चार लगुना, तीन निर बिरालो, दुई निल गाई, दुई चिल र दुई रतुवाको पनि उद्धार गरिएको छ । 

निकुञ्जले वन्यजन्तुको चोरी सिकारीको मुद्धामा गत आवमा ५४९ जनालाई पक्राउ गरेको छ । सात जना व्यक्ति संरक्षित वन्यजन्तुको चोरी सिकारीमा संलग्न थिए । गैँडा, बाघ, हात्ती लगायत २७ प्रजातिका वन्यजन्तुलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप