बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

बाढीले पाइप बगाएपछि खानेपानीको हाहाकार

बिहीबार, १२ साउन २०७९, १० : २९
बिहीबार, १२ साउन २०७९

म्याग्दीको दुधे खोलामा यही साउन पहिलो साता आएको बाढीले मुहान पुरेर पाइप बगाएपछि बेनी नगरपालिका–२ बगर फाँटमा खानेपानीको हाहाकार भएको छ ।

यसअघि गत असार ९ गते पनि मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा बाढी तथा पहिराले मुहान र पाइप बगाएको थियो । स्थानीयले मुहान मर्मत गरेर नयाँ पाइप बिछ्याएर सञ्चालन गरेको खानेपानी यही साउन ३ गते दुधे खोलामा आएको बाढीले क्षति पुर्याएको हो ।  बगर फाँटमा पुनः खानेपानीको हाहाकार भएको छ । दुई सय आठ परिवार अहिले खानेपानीको जोहो गर्न समस्या भएको छ । यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी पिउन बाध्य भएको स्थानीय ओमकुमारी शर्माले बताए ।  

दुई सय १४ घरधुरी रहेको बगर फाँटमा नौ दिनदेखि खानेपानीको समस्या भएको छ । विसं २०६९ मा बेनी नगरपालिका–३ भकिम्ली र बेनपा–२ ज्यामरुककोटको सिमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगर फाँटका २८ धारामा वितरण गरिएको थियो । रु ५४ लाखको लागतमा बगर फाँट खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएको हो । यस वर्ष पाइप लाइन र मुहानलगायत सात ठाउँमा ठूलो पहिरो गएकाले सामान्य मर्मतले मात्र सम्भव नहुने र निरन्तर वर्षा भइरहेकाले मर्मत कार्य गर्न नसकिएको बगर फाँट खानेपानी तथा सरसफाइ आयोजनाका हेरालु हरि कार्कीले बताए । वर्षा रोकिएपछि मात्र मर्मत कार्य अघि बढाइने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप