बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगार तालिममा लगानी गर्नुपर्ने ५ अर्ब ३५ करोड रकम बैंकमा थन्कियो

आइतबार, २२ साउन २०७९, १२ : ००
आइतबार, २२ साउन २०७९

वैदेशिक रोजगार ऐनमा वैदेशिक रोजगारीमा जानेहरूलाई सीपमूलक तालिम उपलब्ध गर्नुपर्ने व्यवस्था गरेको छ । विना तालिम गएकाहरुले खाडी राष्ट्र र मलेसिया पुगेपछि धेरै दुःख पाएपछि यस्तो तालिमको व्यवस्था गरिएको हो । 

आवश्यक सीपमूलक तालिम नपाउँदा केहीले त वैदेशिक रोजगारीको सिलसिलामा ज्यानै समेत गुमाउने गरेका छन् । सीपमूलक तालिम नलिई वैदेशिक रोजगारीमा जानहरुले गन्तव्य मुलुकमा पुगेपछि अलपत्र परेको घटना दिनदिनै बाहिर आउने गर्छन् । यस्तै समस्याहरु सम्बोधन गर्न सरकारले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३३(१) मा वैदेशिक रोजगारमा जाने कामदारलाई सीपमूलक तालिम प्रदान गर्ने र त्यसको लागि वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग गर्ने व्यवस्था गरेको थियो । 

तर, उक्त ऐनको कार्यान्वयन राम्रोसँग हुन सकेको छैन । कामदारहरुलाई विना सीपमूलक तालिम वैदेशिक रोजगारीमा पठाउने गरिएको छ । वैदेशिक रोजगारीमा जानुअघि तालिम दिनलाई समेत छुट्टयाइएको ५ अर्ब ३५ करोड रुपैयाँ लामो सयमदेखि बैंक खातामा थन्किएर बसेको छ । महालेखापरीक्षकको कार्यालयले केही दिनअघि सार्वजनिक गरेको आफ्नो ५९ औं वार्षिक प्रतिवेदनमा समेत वैदेशिक रोजगारमा जाने कामदारलाई सीपमूलक तालिम नदिइएको कुरालाई गम्भीरताका साथ उठाइएको छ । 

‘वैदेशिक रोजगारमा जाने कामदारमध्ये ०.४३ प्रतिशतले मात्र सीपमूलक तालिम लिएका छन् । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जाने कामदारको तालिम समेतमा उपयोग गर्नुपर्ने ५ अर्ब ३५ करोड रुपैयाँ मुद्दती खातामा निस्क्रिय राखेको छ,’ महालेखाले प्रतिवेदनमा भनेको छ । 

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ सम्मको तीन वर्षको अवधिमा १० लाख ४४ हजार नेपाली कामदार वैदेशिक रोजगारको सिलसिलामा विभिन्न देश पुगेका छन् । यीमध्ये ४ हजार ८१८ जनालाई मात्र सीपमूलक तालिम प्रदान गरिएको थियो । अर्थात ०.४३ प्रतिशतले मात्र उक्त तालिम लिएको देखिन्छ । 

विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ५ लाख ९ हजार वैदेशिक रोजगारीमा जाँदा ११० जना, २०७६/७७ मा ३ लाख ६८ हजार वैदेशिक रोजगारीमा जाँदा १ हजार ११८ र २०७७/७८ मा १ लाख ६७ हजार वैदेशिक रोजगारीमा जाँदा ३ हजार २९० जनाले मात्र सीपमूलक तालिम प्राप्त गरेका थिए । 

‘सीपमूलक तालिम लिई दक्ष जनशक्ति वैदेशिक रोजगारीमा पठाई विप्रेषण लगायत अन्य लाभ अभिवृद्धिका लागि कोषको रकम परिचालन गर्नु उपयुक्त हुने देखिन्छ,’ महालेखापरीक्षकको  कार्यालयले भनेको छ । वैदेशिक रोजगारीमा जानेहरू दक्ष भएका कारण सीपमूलक तालिम नदिइएको होइन । यसलाई कार्यन्वयन गर्ने निकाय वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र वैदेशिक रोजगार विभागको उदासीनताको कारण यस्तो भएको हो । 

विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीमा जानेमध्ये २ लाख ८५ हजार ४४५ जना कामदार अदक्ष रहेका थिए । अर्थात उनीहरुसँग कुनै सीप थिएन । आर्थिक वर्ष २०७७/७८ मा यस्तो संख्या १ लाख ६६ हजार ६९८ रहेको छ । प्रत्येक वर्ष वैदेशिक रोजगारीमा जानेमध्ये आधाभन्दा बढी अदक्ष कामदार हुने गरेका छन्, जसलाई जानुअघि सीपमूलक तालिमको आवश्यकता सबैभन्दा बढी हुनेगर्दछ । 

वैदेशिक रोजगारीमा जानेहरुको लागि सीपमूलक तालिम दिन वैदेशिक रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ ल्याइएको थियो । कार्यविधिमा एक महिना, एक महिनाभन्दा बढी, तीन महिनाभन्दा कम र तीन महिनाभन्दा बढीको गरी चाल प्रकारको सीपमूलक तालिमको व्यवस्था गरिएको छ ।

सीपमूलक तालिम लिनेहरूलाई मात्र वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति दिने कुरा कार्यविधिमा उल्लेख छ । तर वैदेशिक रोजगारीमा जानेहरू अधिकांश यस्तो तालिम नलिनेहरु छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप