शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भूमिहीन सुकुमवासीलाई वर्षौंदेखि बाढी र डुबानको पिर

बिहीबार, २६ साउन २०७९, १४ : ३०
बिहीबार, २६ साउन २०७९

बनहरा नदी छेउमा बस्दै आएका भूमिहीन सुकुमवासीलाई बाढी र डुबानको समस्याले पिरोलेको छ । कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–११ स्थित बनहरा सिगास टोलमा बस्दै आएका २७ घरका भूमिहीन सुकुमवासीलाई हरेक वर्ष बर्खामा बनहरा नदीमा आउने बाढी र डुबानले सताउने गर्दछ । ‘पानी पर्न थालेपछि नदीतिर हेरेर बस्नुपर्छ,’ सुकुमवासी टोलका दलबहादुर बोहोराले भने, ‘बाढी कतिखेर बस्तीमा आइपुग्छ, थाहा हुँदैन ।’

२०६२ सालदेखि डडेल्धुरा, अछाम बझाङ, बाजुरा, दार्चुला, बैतडी लगायतका क्षेत्रबाट विभिन्न कारणले बिस्थापित भूमिहीन सुकुमवासी सो क्षेत्रमा बस्दै आएका छन् । हरेक वर्ष नदीमा आएको बाढी र डुबानले घर छोडेर उँचो भागमा गएर ज्यान जोगाउनु पर्ने अवस्था आउने बोहोराले जानकारी दिए । ‘बर्खामा निकै सास्ती हुन्छ, छानाबाट पानी चुहिन्छ, सर्पकिराको डर त्यत्तिकै हुन्छ,’ उनले भने, ‘रोजगारी छैन, खानबस्नको दुःख छ ।’

रेडक्रस लगायत केही गैरसरकारी संस्थाले खान र लगाउन सहयोग गर्नाले बाँच्ने आधार भएको उनको भनाइ छ । २०७१ सालमा सुकुमवासीको आवास, शिक्षा, खाद्य अधिकार सुनिश्चित गर्न तथा सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्न माग राख्दै सरकारलाई ध्यानाकर्षण पत्र दिए पनि सुनुवाइ नभएको उनले बताए ।

‘वर्षैपिच्छे नदीले कटान गर्र्दै लगेको छ, कतिखेर धार परिवर्तन गरी घर बगाएर लग्ने हो !’ उनले भने, ‘तत्काल नदी तटबन्धको आवश्यकता छ ।’

यस क्षेत्रमा जंगली जनावरले पनि उत्तिकै दुःख दिँदै आएको उनले बताए । ‘हात्ती आउँछ, बाघको डर उस्तै छ,’ बोहोराले भने, ‘बाघ र हात्तीका कारण धेरै दिन घर छोडेर भागेका पनि छौँ ।’

६९ वर्षीय मथुरादेवी सार्कीले जग्गा नहुँदा खान लगाउन समस्या हुँदै आएको बताइन् । ‘कमाउने कोही छैन, पैसा नहुँदा किनेर खाने अवस्था पनि छैन,’ उनले भनिन्, ‘जग्गा भए जसोतसो खेती गरेर खान सकिन्थ्यो कि !’

यस क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीनका लागि गाँस, बास र कपासको दुःख रहेको उनको भनाइ छ । ‘अरु बेला त ठिकै छ, बर्खामा गाह्रो हुन्छ,’ उनले भनिन्, ‘न घर सुरक्षित हुन्छ, न पेट भर्ने मेलो हुन्छ ।’

सरकारले नदी तटबन्धको व्यवस्थापन गरिदिए मात्र पनि बाढी र डुबानको चिन्ताबाट मुक्त हुन सकिने उनको भनाइ छ ।

४० वर्षीय पार्वती बोहोराले आयआर्जन र सुरक्षित बसोबासको व्यवस्था नभएको बताइन् । ‘छोराछोरीलाई राम्रोसँग पढाउने पैसा छैन,’ उनले भनिन्, ‘जसोतसो गरी स्कुल पठाउने गरेकी छु । घर पनि दिगो र सुरक्षित छैन । बर्खामा त बाढीले लैजाने डर हुन्छ ।’

शुक्लाफाटा नगरपालिकाका प्रमुख रणबहादुर महराले सुकुमवासीको गाँस, बास र कपासको व्यवस्था  संघ सरकारले गर्नुपर्ने बताए ।  नगरपालिकाले उनीहरुको जीविकोपार्जनका लागि दालचामलको सहयोग गरिरहेको उनको भनाइ छ ।

‘कुनै परिवारले सामान्य मजदुरी गरी जीवनयापन गरिहेका छन्,’ नगरप्रमुख महराले भने, ‘रोजगारी नभएकालाई नगरपालिकाले सहयोग गरिरहेको छ ।’

यस अतिरिक्त स्थानीय तहले थप केही गर्न नसक्ने उनको भनाइ छ । ‘उनीहरुको दुःख, सुखका साथी बन्न सक्छौं तर उनीहरुको व्यवस्थापनको जिम्मा संघीय सरकारकै हो,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप