शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रेशम चौधरीको क्षेत्रमा ठुला दलले कसलाई बनाउँदैछन् उम्मेदवार ?

शनिबार, २८ साउन २०७९, १३ : ५०
शनिबार, २८ साउन २०७९

कैलाली । आसन्न निर्वाचन अन्तर्गत प्रतिनिधिसभातर्फ कैलाली क्षेत्र नम्बर १ को अवस्थाबारे सर्वत्र चासो बढेको छ । २०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित रेशम चौधरी जेलमै रहेका कारण यो क्षेत्र जनप्रतिनिधिविहीन जस्तै रहँदै आयो ।

आसन्न निर्वाचनमा यस क्षेत्रबाट चौधरीकै पत्नी तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रंजिता श्रेष्ठ चौधरीले उम्मेदवारी दिने चर्चा छ । त्यसैले पनि यो क्षेत्र अहिले सर्वत्र चासोको विषय बनेको छ ।

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम अनुसार यो क्षेत्रमा रेशम चौधरीकै दल नागरिक उन्मुक्ति पार्टीको बलियो प्रभाव देखिन्छ । त्यसैले प्रतिनिधिसभा निर्वाचनमा चौधरीकी धर्मपत्नी रंजिता श्रेष्ठ चौधरीको उम्मेदवारी सत्तारुढ गठबन्धन तथा नेकपा एमालेका लागि पनि चुनौतीको विषय बन्न सक्छ ।

स्थानीय तह निर्वाचनमा जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, टीकापुर नगरपालिकाको प्रमुख, जोशीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, भजनी नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा जित हासिल गरेको नागरिक उन्मुक्ति पार्टीले कैलाली जिल्लामा जबर्जस्त उपस्थिति जनाइसकेको छ । स्थानीय तह निर्वाचनमा यो पार्टीले जितेकामध्ये अधिकांश वडा कैलालीको क्षेत्र नम्बर १ मै पर्दछन् । त्यसैले पनि प्रमुख राजनीतिक दलहरुलाई नागरिक उन्मुक्ति पार्टीले आसन्न निर्वाचनमा ठुलो चुनौती दिनसक्ने जानकारहरु बताउँछन् ।

२०७४ सालको प्रतिनिधिसभा चुनावमा तत्कालीन राजपा पार्टीबाट उम्मेदवार बनेका रेशम चौधरीले ३४ हजार ३४१ मत ल्यायर विजयी भएका थिए ।

​सो निर्वाचनमा एमाले–माओवादी गठबन्धनबाट मदनकुमारी शाह गरिमाले १३ हजार ४०६ मत ल्याएर दोस्रो र काँग्रेसका ईश्वरी न्यौपानेले ११ हजार २०३ मत ल्याएर तेस्रो स्थान हासिल गरेका थिए ।

आसन्न निर्वाचनमा सो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका बुद्धिसागर चौधरी उम्मेदवार बन्न सक्ने चर्चा छ । चौधरी दोस्रो संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसबाट समानुपातिक कोटामा निर्वाचित भएका थिए ।

पार्टीले आफूलाई टिकट दिए यस पटक सहज रुपमा जित हासिल गर्ने उनले बताए । लोकतान्त्रिक आन्दोलन होस् या जनताको अधिकारका लागि गरिएका सबै आन्दोलनमा सक्रिय भएर लागेको व्यक्ति भएका कारण आफूलाई जित हासिल गर्न सहज हुने उनको भनाइ छ ।

‘अखण्ड सुदूरपश्चिम आन्दोलन होस् या थारुहरुको हक अधिकारका लागि भएको आन्दोलनमा संविधानसभा सदस्यको हैसियतले दुवै समुदायको भावनाको कदर गर्दै हिँडेकाले मलाई यहाँ चुनाव जित्न गाह्रो छैन,’ उनले भने ।

त्यस्तै नेकपा एमालेबाट सोम थापाको नाम चर्चामा छ । उनी पार्टीले उम्मेदवार बनाएमा आफू प्रतिस्पर्धामा उत्रन तयार रहेको बताउँछन् ।

उनका अनुसार नागरिक उन्मुक्ति पार्टीसँग चुनावी तालमेलका लागि छलफलसमेत भइरहेको बताए । उनले भने, ‘सकभर तालमेल हुन्छ, यदि तालमेल भएन भने पनि पनि एमाले एक्लै चुनाव लड्न सक्षम छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप