सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयकमाथि छलफल गर्न विधायन व्यवस्थापन समितिको बैठक बस्दै

सोमबार, १३ भदौ २०७९, ०९ : २४
सोमबार, १३ भदौ २०७९

‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्न आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक मध्यान्ह १२ बजे समितिको बैठक कक्षमा बस्नेछ । 

राष्ट्रपति विद्या भण्डारीले संशोधन विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएको सन्देश आइतबार राष्ट्रियसभाको बैठकमा प्रस्तुत गरिएको थियो ।  बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको विधेयक संसदीय समितिमा छलफलका लागि पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको थियो ।

संघीय संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष विधेयक पठाइएकोमा गत साउन २९ गते प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले सो विधेयक फिर्ता पठाएकी थिइन् ।

राष्ट्रियसभामा नेपाली कांग्रेसकी सचेतक अनिता देवकोटाले विधायन समितिमा राष्ट्रपतिले पठाएको सन्देशमाथि मात्रै छलफल हुने बताइन् । विधेयकमाथि संशोधन प्रस्ताव दर्ता नहुने र राष्ट्रपतिको सन्देशमाथि मात्रै छलफल हुने भएकाले भदौ १६ गते बस्ने राष्ट्रियसभाको बैठकबाट विधेयक पारित गरेर जाने हिसावले छलफल गरिने उनको भनाइ छ । उनले राष्ट्रपतिको सन्देशमाथि मात्रै छलफल हुने भएकाले त्यसका लागि धेरै समय पनि नलाग्ने बताइन् ।

संसदीय समितिमा विधेयक पुग्नुको यस्तो छ भित्री कारण

आइतबारको राष्ट्रियसभा बैठकमा राष्ट्रपति भण्डारीले फिर्ता पठाएको विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सरकारको तयारी थियो । तर त्यसअघि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटघाट गरेका थिए ।

स्रोतका अनुसार सो भेटमा अध्यक्ष तिमिल्सिनाले सो विधेयकलाई संसदीय समितिमा छलफलका लागि पठाउन आफूलाई दबाब आएको भन्दै गृहमन्त्रीलाई सहयोग गर्न आग्रह गरेका थिए । उनले समितिमा विधेयक गए पनि सत्ता गठबन्धनकै बहुमत रहेकाले त्यहाँबाट हुबहु पास हुन कुनै कठिनाइ नहुने भन्दै औपचारिकताका लागि मात्रै भए पनि यो प्रक्रिया पूरा गरिदिन आग्रह गरेका थिए ।

विधायन समितिमा लगेर विधेयकमाथि छलफलको वातावरण सिर्जना गर्न राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले गरेको आग्रह गृहमन्त्रीले नकार्न नसकेको स्रोतले बतायो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप