बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालमै निर्मित नेपाली भाषाका चलचित्रलाई पहिलो प्राथमिकता: केसी

शनिबार, १८ भदौ २०७९, २० : ३४
शनिबार, १८ भदौ २०७९

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रमा रहेका सम्भावनाका ढोकालाई खोल्न आवश्यक रहेको बताएका छन् । उनले नेपाली कलाकार र प्राविधिकहरूमा दक्षताको कुनै कमी नरहेको दाबी गर्दै नेपाली सिनेमा क्षेत्र पनि संसारका सिने उद्योगसँग प्रतिस्पर्धा गर्न योग्य बनाउन पहल गर्ने बताएका हुन् । 

शनिवार काठमाडौँमा भएको नेपाल चलचित्र निर्माता संघको १६ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले चलचित्र विकास बोर्डले नेपालमै निर्मित नेपाली भाषाका चलचित्रलाई पहिलो प्राथमिकतामा राख्ने स्पष्ट पारे । उहाँले चलचित्र क्षेत्रको विकास हुन नसक्नुको कारण पहिचान गरी एक/दुई दिन भित्र नै मन्त्रालयलाई जानकारी गराउने प्रतिबद्धता जनाए । 

उनले भने, ‘चलचित्र क्षेत्रमा दुःख मात्रै छैनन् । सम्भावनाको ढोकाहरू धेरै छन् । सम्भावनाका ढोकाहरू पनि खुलिरहेका छैनन्, बन्द भएका सम्भावनाका ढोका हामी खोल्न सक्छौँ । नेपाली सिनेमा क्षेत्र पनि संसारका सिनेमा इन्डस्ट्रीसँग प्रतिस्पर्धा गर्न सक्छ । नेपाली कलाकार र नेपाली प्राविधिकहरूमा ट्यालेन्टको कुनै कमी छैन । नेपालले बनाएको चलचित्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । म आएको एक महिना भएको छ । चलचित्र क्षेत्र अघि नबढ्नुको कारण के हो ? त्यसमा सल्लाह गरेर कारण हामी मन्त्रालयमा बुझाउने छौँ । चलचित्र उद्योगलाई बुझेर काम गर्ने हो भने विश्वमा सबैभन्दा ठुलो आयस्रोत यसबाट नै गर्न सक्छौँ । चलचित्र उद्योग आज सायद प्राथमिकतामा छैन तर चलचित्र क्षेत्र आयस्रोतको पहिलो माध्यम हो । हामी एकजुट भएर अघि बढौँ, खुट्टा तान्ने काम नगरौँ ।’

अध्यक्ष केसीले चलचित्र उद्योगलाई बुझेर काम गर्ने हो भने विश्वमा सबैभन्दा ठुलो आयस्रोत चलचित्र उद्योग बन्ने दाबी गरे । उनले चलचित्र उद्योग आज प्राथमिकतामा नपरे पनि प्राथमिकतामा पार्न लायक बनाउन आफ्नो पहल रहने बताए । उनले चलचित्र क्षेत्रलाई विकास गर्न कसैले कसैको खुट्टा तान्ने नभई एकजुट हुन जरुरी रहेको पनि जिकिर गरे । 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्न सरकार तयार रहेको बताए । उनले चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्न छलफलका कार्यक्रम अघि बढाउनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप