शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सिट बाँडफाँटमा शीर्षमै सकस, एउटै क्षेत्रमा त्रिपक्षीय लफडा

सोमबार, २७ भदौ २०७९, १८ : ४६
सोमबार, २७ भदौ २०७९

सत्ता गठबन्धनको शीर्ष तहमा भइरहेको घनिभूत छलफलबाट पनि सिट बाँडफाँट टुङ्गो लाग्न सकेको छैन । पछिल्ला दिनमा नेपाली कांग्रेस माओवादी केन्द्र, एकीकृत समाजवादी जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सिट बाँडफाँटको छलफलमा व्यस्त छन् ।

शीर्ष नेतृत्वलाई कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलले पनि सहयोग गरिरहेको छ । सिट बाँडफाँटबारे प्रतिवेदन बुझाएको कार्यदलका सदस्यलाई साथमा राखेर गरिएको छलफलले पनि सार्थकता पाउन सकेको छैन । तर असोज २ गते अगाडि कुनै हालतमा सिट सङ्ख्या टुङ्ग्याउने गठबन्धनको तयारी छ । समानुपातिक उम्मेदवारको सूची बुझाउन दिन नजिकिए पनि गठबन्धनभित्र प्रतिनिधिसभाको सिट सङ्ख्यामै सहमति जुटेको छैन । तर निर्वाचन आयोगले आइतबार समानुपातिकतर्फको चुनावमा भाग लिन चाहने दलहरूलाई असोज २ र ३ गते भित्र बन्द सूची पेस गर्न भनेको छ। बन्द सूची सच्याउने म्याद भने आगामी असोज १६ गतेसम्म तोकेको छ ।​

प्रत्यक्षतर्फका सिटमा भागबन्डा नटुङ्गिँदा समानुपातिक उम्मेदवार छनोट गर्न गठबन्धनमा अन्योल छ । प्रत्यक्षमा वञ्चित हुने नेतालाई समानुपातिकमा राखेर व्यवस्थापन गर्नुपर्ने हुँदा अबको एक–दुई दिनभित्रै सिट बाँडफाँट टुङ्ग्याउनुपर्ने बाध्यता पाँच दलीय गठबन्धनका दलहरूमाथि छ । दलहरू आ आफ्नो दाबी दलहरू ओर्लिन तयार नभएको अवस्था छ । कांग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी राखेको छ ।

पाँच दलको प्रारम्भिक दाबी जोड्दा २३४ पुगे पनि १६५ सिटमा कांग्रेसको ८५–९०, माओवादीको ४०–४५, एकीकृत समाजवादी र जसपाको १२–१५ को वरिपरि सिट बाँडफाँट हुने देखिन्छ । तर माओवादी केन्द्रले ०७४ को आम निर्वाचनमा जितेको सिट सोही दलले पाउने गरी एमालेले जितेका सिटमा ६०/४० को भागबण्डा मिलाउन प्रस्ताव राखेको छ ।

०७४ मा प्रत्यक्षतर्फ कांग्रेसका २३, माओवादीका ३६, एकीकृत समाजवादीका १३, जसपाका १० र जनमोर्चाका एक गरी ८३ सिट छ । गठबन्धन बाहिरका ८२ सिटमा ६० प्रतिशतले गर्दा ७२ सिटमात्रै कांग्रेसले पाउने देखिन्छ ।
माओवादीको प्रस्ताव अनुसार मोडालिटीले अन्तिमरुप पाउँदा बाँकी ९३ सिट चार दलको भागमा पर्ने अवस्था हुन्छ । यसमा माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चा एकमत जस्तै छन् । तर कांग्रेसले माओवादीको प्रस्तावभन्दा ठिक उल्टो अडान राखेको छ ।

९० सिटको वरिपरि आफूले उम्मेदवारी दिएर बाँकी चार दललाई ७५ आसपासमा सीमित राख्ने कांग्रेसको दाउ छ । दलहरूका आ आफ्नै दाउपेचका बीच ७० प्रतिशत सिट सङ्ख्यामा सहमति भएको जुटिसकेको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले  दाबी गरे ।

उनले रातोपाटीसँग भने , ‘प्रतिनिधिसभाको १६५ सिटमा करिब ७० प्रतिशत कुरा मिलेको छ । बाँकी ३० प्रतिशतमा भोलि टुङ्ग्याउने सहमति भएको छ ।’

खनालका अनुसार त्रिपक्षीय दाबी भएका केही ठाउँहरूमा पनि सहमति जुटेको छ । बाँकी ठाउँमा सहमति जुटाउन भोलि बिहान पुनः बैठक बस्ने खनालको भनाइ छ  । तर जसपाका अध्यक्ष उपेन्द्र यादवले भने कुनै पनि सहमति नभएको बताए । ‘८ घण्टा छलफल भयो । केही भएन । कुनै सहमति जुट्न सकेन । अवस्था जस्ताको त्यस्तै छ,’ उनले रातोपाटीसँग भने । यता सञ्चारमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्र कार्कीले गठबन्धनमा सिट बाँडफाँटमा सबै दल लचिलो हुनुको विकल्प नभएको बताए । शीर्ष नेतासहित कार्यदलका सदस्य सम्मिलित छलफल सकारात्मक भए पनि ठोस सहमति नजुटेको कार्कीको भनाइ छ । ‘छलफल सकारात्मक छ । सबै लचिलो हुनुको विकल्प छैन,’ कार्यदलका सदस्य समेत रहेका कार्की भने ।

छलफलमा पाँच दलबाट आएको अडानमाथि सूक्ष्म ढंगले विश्लेषण भइरहेको उनले बताए । ‘दलहरुको आ-आफ्नो अडान छ । ती अडानमा हामी सूक्ष्म ढंगले विश्लेषण गर्दै अगाडि बढिरहेका छौँ । एकै सिटमा एकभन्दा बढी दलले दाबी गरेको अवस्था छ। तर एक क्षेत्रमा गठबन्धनबाट एक जना मात्रै उम्मेदवार बनाउन जरुरी छ,’ उनले भने।

त्रिपक्षीय दाबी भएका सिट गठबन्धनबाट एउटा उम्मेदवार बनाउने दुई पक्षीय र त्रिपक्षीय वार्ता भइरहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप