शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सत्ता पक्षमा ‘भागबण्डा’को लफडा हुँदा के गर्दैछ एमाले ?

मङ्गलबार, २८ भदौ २०७९, १५ : १२
मङ्गलबार, २८ भदौ २०७९

मंसिर ४ को निर्वाचन मिति नजिकिएसँगै सबैजसो राजनीतिक दल चुनावी अभियानमा केन्द्रित हुन थालेका छन् । निर्वाचन मिति घोषणा भएसँगै सभा, सम्मेलन, पार्टी प्रवेशदेखि मतदाता रिझाउने कामलाई तीव्रता दिएका दलहरुले घोषणापत्र बनाउने र उम्मेदवार छनोटको कामलाई समेत सँगसँगै अघि बढाएका छन् ।

प्रतिस्पर्धीको रुपमा रहेको एमालेलाई परास्त गर्न सत्तारुढ ५ दलले सिट भागबण्डा मिलाउन साउन २० पछि कार्यदल नै बनाएर काम थाले पनि पार लाग्न सकेको छैन । झण्डै एक महिनासम्म कार्यदलस्तरमा भएका छलफलले निकास नदिएपछि सो विषयमा फेरि शीर्ष नेताहरुबीच छलफल भइरहेको छ ।

सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषय पेचिलो बन्दा एमालेलाई भने थोरै भए पनि राहत मिलेको छ । गठबन्धन फुटोस् भन्ने चाहना पूरा नहुने भएपछि एमालेले आफ्नो रणनीति पनि सोही अनुसार परिवर्तन गर्ने भएको छ ।

पाँच दलीय गठबन्धनका नेताहरुले जसरी पनि गठबन्धन जोगाउने अभिव्यक्ति दिँदै आएका छन् । जसका कारण एमाले त्यसै पनि दबाबमा परेको छ । सोही कारण उसले राष्ट्रिय रुपमा गठबन्धन नगर्ने तर स्थानीयस्तरमा चुनावी तालमेल गरेर अघि जाने नीति अख्तियार गरेको छ । यो नीति अनुसार एमालेले महन्थ ठाकुर नेतृत्वको लोसपा हुँदै कमल थापा नेतृत्वको राप्रपा नेपाल र राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा तथा सीके राउत नेतृत्वको जनमत पार्टी लगायतका सानातिना पार्टीहरुसँग चुनावी तालमेल गर्ने भित्री तयारी गरेको छ । यो तयारी अनुसार एमाले नेताहरुले भेटवार्ता र कुराकानी गरिरहेका छन् ।

आवश्यकताका आधारमा तालमेल

एमालेले राष्ट्रियस्तरमा कसैसँग पनि चुनावी गठबन्धन नगर्ने बताइरहेको छ । तर उसले स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल भने हुने भन्दै ढोका खुलै राखेको छ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनभन्दा बाहिरका दलहरूसँग तालमेल हुनसक्ने बताए ।

‘एमालेले स्थानीय आवश्यकताको आधारमा तालमेल गर्नसक्छ । तर वर्तमान गठबन्धनको जस्तो केन्द्रीय तहको गठबन्धन गर्दैन’, पोखरेलले भने, ‘स्थानीय आवश्यकता अनुसार हुने तालमेल गठबन्धन नभएर प्रगतिशील विचार र राष्ट्रवादी विचार मिल्ने पार्टीहरूसँग राजनीतिक सहकार्य हो ।’

प्रदेशस्तरमा पनि घोषणापत्र

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टीले गर्नुपर्ने चुनावको तयारी अन्तिम अवस्थामा पुगेको बताए । उनले सातै प्रदेशमा प्रदेशस्तरका समीक्षा बैठक, भेला, प्रशिक्षण जनसंगठनहरुको पूर्णता दिनेदेखि देशभरका कार्यकर्ता परिचालन हुनेगरी स्थानीयस्तरबाटै उम्मेदवारको नाम सिफारिस गर्ने काम भएको बताए । उनले घोषणापत्र लेखनको काम अन्तिम चरणमा पुगेको पनि बताए । एमालेले केन्द्र र प्रदेशस्तरीय छुट्टाछुट्टै घोषणापत्र बनाउने भएको छ ।

‘घोषणापत्र, प्रतिवद्धतापत्र जे भने पनि पार्टी केन्द्र र सातै प्रदेशले गरेका काम र गर्नसक्ने कामबारे जनतालाई बुझाउने गरी दस्तावेज बन्छ’, केन्द्रीय सदस्यसमेत रहेका रिजालले भने, ‘केन्द्रबाट बनाइने चुनावी घोषणापत्र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने छ भने सातै प्रदेशका निर्वाचन कमिटीले आआफ्नै घोषणापत्र बनाउने छन् ।’

सचिवालयमार्फत उम्मेदवार टुङ्गो लगाउने

क्षेत्र र जिल्ला हुँदै प्रदेशमार्फत सिफारिस भएर आएका उम्मेदवारका नामहरुबारे एमालेले केन्द्रीय सचिवालय बैठकमा सघन छलफल गर्ने तयारी गरेको छ । त्यसका लागि उपत्यका बाहिर रहेका शीर्ष नेताहरु मंगलबार बेलुकासम्म काठमाडौं आइपुग्ने र बुधबार वा बिहीबार बैठक बस्ने तयारी रहेको प्रचार विभाग उपप्रमुख रिजालले जानकारी दिए । रिजालले उम्मेदवार छनोट सचिवालयमार्फत हुने भने पनि यसअघि नै एमाले बैठकले त्यसको अन्तिम अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई नै दिएकाले सचिवालय बैठकको निर्णय औपचारिकता निभाउनेमात्रै हुनेछ ।

‘सचिवालय बैठकले उम्मेदवार छनोट गर्ने भनिए पनि त्यो औपचारिकतामात्रै हो । यसअघिको बैठकले नै अध्यक्षलाई अधिकार दिएको छ । कसको नाम राख्ने, कसको नाम काट्ने भन्ने उहाँको विवेकमा भर पर्छ’, एमालेका एक पदाधिकारीले भने, ‘अध्यक्षलाई मन नपर्ने व्यक्ति भए उसले यो पटक टिकट पाउन वा समानुपातिकमा पर्न मुस्किल नै छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप