सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

झुटो विवरण दिएर नागरिकता बनाउनेको छानबिनमा ढिलाइ

सोमबार, ०३ असोज २०७९, १० : १९
सोमबार, ०३ असोज २०७९

झुटो विवरण दिएर पाल्पाबाट नागरिकता बनाउन सफल भएका बागलुङका एक युवाको छानबिनमा ढिलाइ भएको छ । बागलुङका २३ वर्षीय धनबहादुर कँडेल २०७२ पुस २० गते पाल्पाबाट नागरिकता बनाएका थिए । झुटो विवरण दिएर नागरिकताको बनाएको यो घटना नागरिकता लिएको ६ वर्षपछि गत वर्ष सार्वजनिक भएको थियो । त्यसपछि पाल्पा जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान थालेका थिए । 

कँडेललाई ०७८ चैतमा पाल्पा प्रहरीले पक्राउ गरी अदालत पेस गरेको थियो । अदालतमा मुद्दा चलेको करिब ५ महिनापछि कँडेल १ लाख रुपैयाँ धरौटीमा हालै छुटेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।  

रामपुर–१४, पाल्पा निवासी ४९ वर्षीय पीताम्बर अधिकारीको छोरा बनेर कँडेलले पाल्पा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बनाएका थिए । बागलुङको गलकोट नगरपालिका—८ पचुवा निवासी स्वर्गीय मानबहादुर कँडेलको राईलो (ठूलो कान्छो) छोरा धनबहादुरले नयाँ नाम (विजय अधिकारी) कायम गरी रामपुरबाट नागरिकता बनाएका थिए ।

भारतको मेघालयमा छिमेकीको रूपमा चिनजान भएर रामपुर पीताम्बरसँग आउने जाने क्रममा पीताम्बरका भाइ कृष्णप्रसाद अधिकारीले धनबहादुरलाई नागरिकता बनाइदिएका थिए । 

रामपुरमा अधिकारी परिवारमा आउने जाने क्रममा पीताम्बर अधिकारीले आफ्नो छोरो भनी चिनाएकाले आफूले सनाखत गरेर नागरिकता बनाइदिएको कृष्ण अधिकारीले स्वीकारेका छन् । तर पीताम्बरले भने भाइ कृष्णले आफ्नो सम्पत्ति हडप्ने प्रयासस्वरुप नागरिकता बनाइदिएको र अंश मुद्दा हालेपछि वास्तविकता बाहिरिएको बताए ।

आफै सनाखत गरेर नागरिकता बनाइदिने कृष्ण अधिकारीको राजनीतिक पहुँचको कारण यो घटनाको अनुसन्धानमा ढिलाइ भएको अधिकारीकै आफन्तले बताएका छन् । अधिकारीका ती आफन्तले भने, ‘राजनीतिक दलका केही पहुँचवाला नेताहरूको दबाबको कारणले प्रहरी अनुसन्धानमा ढिलाइ भइरहेको थियो, अब के हुन्छ हेर्न बाँकी छ ।’ यसअघिका जिल्ला प्रशासन प्रमुख र प्रहरी प्रमुखले दबाब झेल्न नसकेर अनुसन्धानमा ढिलाइ गरेका आफन्तले आरोप लगाएका छन् । 

जिल्ला प्रहरी कार्यालय पाल्पामा प्रमुख (प्रहरी उपरीक्षक) जनकबहादुर शाही आएपछि यो घटनाको अनुसन्धान अघि बढेको हो । त्यसअघि पाल्पा आएका दुई प्रहरी प्रमुखले कँडेललाई पक्राउ समेत गर्न सकेका थिएनन् । 

प्रहरी प्रमुख शाहीले गत चैतमा कँडेललाई अदालत पेस गरेपछि उनी पुर्पक्षका लागि थुनामा थिए । अहिले धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थले प्रहरीले अनुसन्धान सकेर अदालत पेस गरेको बताए । उनले भने, ‘ती व्यक्तिले झुटो विवरण पेस गरेर नागरिकता बनाएको निष्कर्षसहित प्रहरीले अदालत पेस गरेको हो ।’ 

कँडेलका बुवा मानबहादुरको १० वर्षअघि भारतमै मृत्यु भएको भए पनि आमा भने सकुशल छन् । ०७२ सालमा झुटो विवरण दिएर कागजात तयारी गरी नागरिकता बनाइदिने कृष्ण अधिकारीमाथि भने अझैसम्म कुनै अनुसन्धान भएको छैन । उनै कृष्णले विभिन्न बहाना बनाएर आफूविरुद्ध पनि अदालतमा मुद्दा हालेको उनका दाजु पीताम्बर अधिकारीले बताएका छन् । 

झुटो विवरण दिन सहयोग गरेका तत्कालीन गाविस सचिवको मृत्यु भइसकेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाका तत्कालीन प्रशासकीय अधिकृत ताराप्रसाद घिमिरेले नागरिकता जारी गरेका थिए । 

झुटो विवरण बनाएर नागरिकता बनाएको ७ वर्ष र घटना बाहिरिएको २ वर्ष पुग्न लाग्दा समेत यो घटनाको टुंगो लाग्न सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप