शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रक्षकबाटै जानी-बुझी संविधान मिच्ने काम भयो : प्रचण्ड

शुक्रबार, ०७ असोज २०७९, १४ : ३८
शुक्रबार, ०७ असोज २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको संरक्षकबाट नै जानी बुझी मिच्ने काम भएको टिप्पणी गरेका छन् । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) काे तेस्रो राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको पालक र संरक्षकबाटै संविधान मिच्ने काम भएको बताए ।

‘मैले मूर्तरूपमा भन्दै छु । अहिले संविधान खुलेयाम मिच्ने काम भयो । संविधानको पालक र  रक्षकबाट नै  जानी बुझी मिचियो । नजानेर वा झुक्किएर होइन ।   जानी बुझी संविधान मिच्ने काम भएको छ ’ प्रचण्डले भने, ‘यो सामान्य होइन । यो हजारौंको बलिदानबाट प्राप्त उपलब्धि, लाखौँ लाख किसानहरू उत्पीडित समुदायको आन्दोलनबाट प्राप्त उपलब्धि खोस्ने, अपहरण गर्ने षडयन्त्रकै एउटै कडी हो ।’ संविधान मिच्ने प्रवृत्तिलाई जनता र परिवर्तनकारी शक्तिको एकताले मात्रै परास्त गर्न सकिने प्रचण्डले जिकिर गरे । 

संविधान र व्यवस्थामाथि गत सालदेखि नै सुरु भएको प्रतिगमन अझै नरोकिएको प्रचण्डले दाबी गरे । ‘जुन प्रतिगमन गत सालदेखि सुरु भएको थियो । त्यो रोकिएको छैन । त्यसलाई नयाँ नयाँ स्वरूपमा ल्याउने जमर्को भई राखेको छ’, प्रचण्डले भने, ‘हामीले आफ्नो सतर्कता गुमायौं भने हामीले आफूभित्रको एकतालाई कमजोर हुन दियौं । हामीले आम किसान मजदुर, सम्पूर्ण उत्पीडित वर्ग समुदायलाई आन्दोलित गरी राख्ने जागरुक गरी राख्ने संगठित गरी राख्ने अभियान राक्यौं भने जुनसुकै बेला प्रतिगमन हुने खतरा छ ।’ 

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै प्रचण्डले गत सालको प्रतिगमन सडकबाट लाखौं जनता उतारेर परास्त गरेको बताए । ‘अहिले खुलेयाम संविधान मिच्ने काम भएको छ । त्यसलाई आमजनताको बीचमा गएर कसरी प्रतिगमन फेरी आउँदै छ ? कसरी प्रतिक्रान्तितिर लैजाने षड्यन्त्र भएको छ ? हामीले आमजनतालाई प्रशिक्षित गराउने, जागरूक तुल्याउने र आन्दोलित गरेर मात्रै यी प्रतिक्रान्तिकारी षडयन्त्रहरूलाई परास्त गर्न सकिन्छ,’ प्रचण्डले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप