आईएमई लुटपाट प्रकरण : तीन लुटेरा पक्राउ, एक अझै फरार
ताप्लेजुङको फुङलिङमा रहेको आइएमई लुटपाटमा संलग्नमध्ये थप दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी कैलाश राईका अनुसार असोज १९ गते नै थप दुई लुटेरालाई पक्राउ गरिएको छ ।
लुटपाटमा संलग्न रहेका एकजना भने अझै फरार रहेको प्रहरीले जनाएको छ । गत असोज १७ गते सोमबार ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा रहेको कञ्चन मनी ट्रान्सफर नामक आइएमई सेन्टरमा लुटपाट भएको थियो । सुनको कारोबार गर्ने अनुमति समेत लिएको उक्त मनी ट्रान्सफरबाट लुटेराले कर्मचारीलाई नियन्त्रणमा लिई ११ लाख ५० हजार नगद र सुन गरी करिब ९ करोडको लुटपाट भएको दाबी गरिएको थियो ।
बिहान ९ः३० बजे भएको लुटपाटको तीन घण्टापछि प्रहरीले एक लुटेरालाई नजिकैको जङ्गलबाट नियन्त्रणमा लिएको थियो । उक्त लुटेराले बोकेको झोलाबाट ६ लाख १४ हजार १२० रुपैयाँ नगद र १३० थान सुनका गरगहना बरामद गरिएको थियो । १३० थान सुनको गरगहनाको तौल १ किलो ६८५ ग्राम रहेको समेत प्रहरीले जनाएको छ ।
आईएमईका कर्मचारीका अनुसार जाकटीका रूपमा ३९१ थान सुन राखिएको थियो । तीनसय जनाभन्दा बढी व्यक्तिको ३९१ थान सुनका गहना जाकटी (सुन धरौटी राखी ब्याजमा पैसा लैजाने) राखिएको थियो । जाकटी राखिएका ३९१ थान सुनमध्ये लुटपाट नभएको एक भल्टबाट १२८ थान सुन एउटा भल्टमा सुरक्षित पाइएको थियो । १३० थान सुन पक्राउ परेका एक लुटेराको झोलाबाट बरामद भएको छ भने रेकर्डमा देखिए अनुसार अझै १३३ थान सुनका गहना फेला परेका छैनन् ।
लुटपाट लगत्तै लुटेराहरू जङ्गल छिरेको सूचना पाएपछि ताप्लेजुङ र इलाम प्रहरीले लुटेराहरूको लुकेको सम्भावित स्थानमा स्वीप अपरेशन चलाएको थियो । घटनाको दिन प्रहरीले रातभर फुङलिङ नजिकका तीन जङ्गलमा स्वीप एण्ड सर्च अपरेशन चलाएको थियो । पहिलो दिन एक लुटेरा र लुटेराको साथबाट एउटा झोलासमेत बरामद गरिएको थियो । त्यसपछि लुटेराहरू इलाम पुगेको सूचनाका आधारमा प्रहरीले इलामका विभिन्न स्थानमा सर्च अपरेशन चलाएको थियो । तर लुटेरामध्ये एक इलामबाट झापा प्रवेश गरेपछि झापा प्रहरीले ती लुटेरालाई पक्राउ गरेको थियो । अर्का लुटेरा भने ताप्लेजुङमै लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
लुटपाट घटनाको सिसिटिभी फुटेज अनुसार चारजनाको समूहका आएका लुटेरामध्ये सुरुमा दुई लुटेरा आईएमई पुगेर कर्मचारीसँग केही कुरा गरेको देखिन्छ । त्यसपछि अन्य दुईजना लुटेरा सोझै कर्मचारी भएको स्थानमा पुगेर कर्मचारीलाई नियन्त्रणमा लिएका छन् । लुटपाटमा संलग्न लुटेरामध्ये एकजना लुटेराले मात्रै झोला बोकेको सिसिटिभी फुटेजमा देखिएको छ । प्रहरीले उक्त झोलासहित लुटपाटमा संलग्न लुटेरालाई पहिलो दिन नै पक्राउ गरेको थियो । यद्यपि आइएमईले दाबी गरेअनुसारको नगद र सुन पक्राउ परेका व्यक्तिबाट बरामद हुन सकेको छैन ।
लुटेरा लागूऔषधका दुर्व्यसनी !
प्रहरीका अनुसार पक्राउ परेका लुटेराहरू लागूऔषध दुर्व्यसनीसमेत रहेका छन् । प्रहरीले पक्राउ गरेका व्यक्तिहरुको विवरण सार्वजनिक गरिसकेको छैन । यद्यपि लुटपाटमा संलग्न अधिकांश व्यक्तिहरु लागूऔषध दुर्व्यसनी रहेको खुलेको छ । प्रहरीका अनुसार पहिलो दिन पक्राउ परेका लुटेरा पनि लागूऔषधको दुर्व्यसनी रहेको प्रहरीले बताएको छ । असोज १९ गते पक्राउ परेका परेका अर्का लुटेरा पनि लागूऔषध दुर्व्यसनी नै रहेको र फरार रहेका एक लुटेरा पनि लागूऔषधकै दुर्व्यसनी रहेको प्रहरीको दाबी छ ।
घटना शंकास्पद र रहस्यमय रहेकोसमेत प्रहरीले जनाएको छ । अबको एक दुई दिनमै अर्का फरार लुटेरा पनि पक्राउ पर्ने दावी गर्दै सबै लुटेरा पक्राउ परेपछि घटनाको सम्बन्धमा विस्तृत विवरण दिइने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण