शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

रुपन्देही २ : गुरुङको उम्मेदवारी खारेजपछि नयाँ रणनीति बनाउँदै सत्ता गठबन्धन

बुधबार, २६ असोज २०७९, १४ : ४९
बुधबार, २६ असोज २०७९

मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका सत्तारुढ गठबन्धनका नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि रुपन्देहीको राजनीतिमा नयाँ तरंग सृजना भएको छ । 

एमालेबाट विद्रोह गरेर समाजवादीमा आएका युवा नेता गुरुङ एमाले उपाध्यक्ष विष्णु पौडेलसँग भिड्दै थिए । तर उम्मेदवारी खारेज भएपछि उनी कानुनी उपचार खोज्न बुधवार बिहानै काठमाडौं पुगेका छन् । बैंकिङ कसुर देखाएर गुरुङको उम्मेदवारी खारेज गरिएको भएपनि कसुर देखाइएको कम्पनी राजु गुरुङको मात्र नभएर शेयर सदस्य मात्र भएको समाजवादीका रुपन्देही अध्यक्ष अविराम विकले बताए । गुरुङ शेयर सदस्य रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिको मुद्दा उच्च अदालत पाटनमा विचाराधीन रहेको अदालतले जानकारी गराएको छ । विचाराधीन मुद्दामा राजनीतिक प्रतिशोध राखेर उम्मेदवारी खारेज गरिएको भन्दै विकले यसको कानुनी उपचार खोजिने बताए ।  

उक्त कम्पनीले गौतमबुद्ध विमानस्थल निर्माणको ठेक्कामा सामान आपूर्ति गरेको बेस्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रालिलाई तिर्नुपर्ने २ करोड ५० लाख बराबरको रकमका लागि विभिन्न मितिमा काटिएका ८ वटा चेक बाउन्स भएपछि गुरुङसहितको कम्पनीलाई सिद्धार्थ बैंकले कालोसूचीमा राखेर मुद्दा चलाएको बताइएको छ ।

यसैबीच गुरुङको उम्मेदवारी खारेज भएपछि सत्तारुढ पाँच दलीय गठबन्धनका रुपन्देहीका नेताहरूले अब के गर्ने भन्ने रणनीति बनाउने तयारी गरेका छन् । नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले विचाराधीन मुद्दाको विषयमा निर्वाचन कार्यालयका कर्मचारीलाई दुरुपयोग गरेर प्रतिस्पर्धी नेताहरूले गठबन्धनका उम्मेदवारलाई पाखा लगाउन खोजेको दाबी गरे । मुद्दा फैसला नहुँदै कसैलाई दोषी बनाउन नसकिने भन्दै उनले गुरुङको उम्मेदवारी खारेजीबारे पहिलो चरणमा कानुनी उपचार खोजिने, नभए नयाँ रणनीति तयार गरी निर्वाचनमा जाने उल्लेख गरे । 

नेकपा (माओवादी केन्द्र) का रुपन्देही संयोजक नारायण जीसी (निर्मल) ले गुरुङको उम्मेदवारी कायम हुन विश्वास व्यक्त गरे । यदि कायम हुन नसके पनि चुनावी मैदान खाली नराख्ने गरी नयाँ रणनीति बनाएर चुनावमा जाने प्रतिक्रिया दिए । उनले भने, ‘पहिलो चरणमा हामी कानुनी उपचार खोज्छौं, यदि नभए चुनावी मैदान खालि नराख्ने गरी नयाँ रणनीति र नयाँ योजनासहित निर्वाचनमा होमिन्छौं ।’ उनका अनुसार अरु कुनै उम्मेदवारसँग सहकार्य गरेर भएपनि निर्वाचनमा जाने अवस्था सृजना हुन सक्छ । त्यसका लागि आवश्यक तयारी पनि भइरहेको उनले बताए । पार्टीका नेताहरुबीच छलफल भइरहेको उनको भनाई छ ।​


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप