शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्डका प्रतिस्पर्धी २९ वर्षका युवादेखि ९९ वर्षका वृद्धसम्म

बुधबार, २६ असोज २०७९, १५ : ५८
बुधबार, २६ असोज २०७९

चितवन–३ छोडेर  गोरखा क्षेत्र नम्बर २ मा चुनाव लड्न पुगेका  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ का प्रतिस्पर्धी २९ वर्षका युवादेखि ९९ वर्षसम्मका वृद्ध उम्मेदवार बनेका छन् । उमेरले ६६ वर्ष पुगेका प्रचण्डका  प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अब्दुस सलाम मियाँ (२९ वर्ष) छोरा पुस्ता र नेपाली काँग्रेस(विपी)का टिकादत्त पोखरेल(९९ वर्ष) बाबु पुस्ताका छन् । निर्वाचन आयोगले पोखरेललाई प्रतिनिधि सभाको ज्येष्ठ उम्मेदवार घोषणा गरिसकेको छ । प्रचण्डले १३ जना उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छन् । युवादेखि वृद्धसम्मका उम्मेदवार प्रचण्डको क्षेत्रमा भएकाले चुनावी माहौललाई थप रोचक बनाएको छ ।

माओवादीको गढ मानिने गोरखामा प्रचण्डलाई पाँच दलीय गठबन्धनको पनि साथ छ । त्यसैले यो क्षेत्रमा प्रचण्डलाई चुनावमा सहज हुने देखिन्छ । उता एमालेका उम्मेदवार मियाँ सर्वेन्द्र खनाल एमाले प्रवेश क्रममा गत असोज ६ गते मात्रै एमाले प्रवेश गरेका थिए । तत्कालीन विवेकशील साझा पार्टीमा छोटो समय राजनीति गरेका मियाँ पछिल्लो समय पार्टी छोडेर बसेका थिए । उनले काठमाडौँ–६ बाट स्वतन्त्र उम्मेदवारी दिनेसमेत गरेका थिए । तर एमाले प्रवेश गरेपछि उनले गोरखाबाट टिकट पाएका हुन् ।

यस्तै विपी कांग्रेसबाट उठेका पोखरेल लामो समय कांग्रेसमा सक्रिय भई काम गरेका व्यक्ति हुन् । नेपाली कांग्रेसका गोरखा जिल्ला सभापति नन्दप्रसाद न्यौपाने भन्छन्, ‘टिकादत्त पोखरेल कांग्रेसमा हुँदा लामो समय सक्रिय सदस्य भई योगदान गर्नुभयो । पार्टीको इमान्दार कार्यकर्ता रुपमा भूमिका निभाउनुभयो । विपि कांग्रेस गठन भए पनि उहाँ(टिकादत्त पोखरेल) उतै जानुभयो । पार्टीको माथिल्लो तहमा रहेर काम गर्ने अवसर पाउनु भएन ।’ विपि कांग्रेसबाट टिकट लिएर उनी पहिलो पटक चुनावमा उठेको न्यौपानेको भनाई छ ।

पहिले कांग्रेस अहिले माओवादी पकड

गोरखाको यो क्षेत्र माओवादीको उदय हुनुभन्दा अघि कांग्रेको पकड क्षेत्रको रुपमा लिइन्थ्यो । २०४८ सालको संसदीय चुनावमा तत्कालीन संयुक्त जनमोर्चाबाट सुरेश वाग्ले उम्मेदवार थिए । कांग्रेसले चितवनकी मैयादेवी श्रेष्ठलाई उम्मेदवार बनाएर जितायो । वाग्ले पछि तत्कालीन जनयुद्धमा सहिद भए । त्यसपछिका चुनावमा तत्कालीन माओवादीले बहिस्कार गर्‍यो । २०५१ र २०५६ सालको चुनावमा कमला पन्त लगातार निर्वाचित भइन् । माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ सालदेखि यो क्षेत्रमा डा बाबुराम भट्टराईले लगातार चुनाव जित्दै आएका थिए । भट्टराई लगातार तीन पटक निर्वाचित भए । यो चुनावमा उनी उम्मेदवार नहुने घोषणा गरेपछि प्रचण्ड उम्मेदवार बन्न पुगेका हुन् ।

२०७४ को चुनावमा तत्कालीन नयाँ शक्तिबाट बाबुराम र माओवादीबाट नारायणकाजीसँगै प्रतिस्पर्धा गरेका थिए । नारायणकाजीलाई एमाले–माओवादी सहितको गठबन्धनले सहयोग थियो भने बाबुरामलाई कांग्रेसको सहयोग थियो । त्यतिबेला भट्टराईले ३१ हजार ८०७ मत ल्याएका थिए भने नारायणकाजीले २४ हजार ९३३ मत ल्याएर पराजित भए । बाबुराम र नारायणकाजी बीचको मत अन्तर ६ हजार ८७४ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप