शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इरानको प्रदर्शनमा सेप्टेम्बरमा मात्र कम्तीमा २३ बालबालिका मारिएको एम्नेष्टीको दाबी

शुक्रबार, २८ असोज २०७९, १८ : ०३
शुक्रबार, २८ असोज २०७९

इरानको विरोध प्रदर्शनका क्रममा सेप्टेम्बर महिनामा मात्रै झण्डै दुई दर्जन बालबालिकाको मृत्यु भएको मानवअधिकार पर्यवेक्षकको एक नयाँ प्रतिवेदनले देखाएको छ । रिपोर्टमा इरानी सुरक्षाबलले युवाहरूमाथि ‘पूर्ण दण्डहीनताका साथ’ निशाना बनाइरहेको आरोप लगाइएको छ । 

एमनेस्टी इन्टरनेसनलले बिहीबार जारी गरेको १९ पृष्ठको प्रतिवेदन अनुसार मारिएका कम्तिमा २३ बालबालिका सेप्टेम्बरको अन्तिम १० दिनमा मात्रै मारिएको बताए । इरानमा दशकौंदेखि शासन गरेको इस्लामिक शासनविरुद्ध उठेको पछिल्लो प्रदर्शन २२ वर्षीया महसा अमिनीको मृत्युपछि सुरु भएको थियो । अमिनीले हिजाब राम्रोसँग नलगाएको भन्दै धार्मिक प्रहरीले हिरासतमा लिएपछि मृत्यु भएको थियो । 

उनको मृत्युपछि महिलाहरु आफूहरुमाथि राज्यले थोपरेका कट्टर कानुनको विरोधमा सडकमा उत्रिए र तिनलाई सघाउन पुरुषहरु पनि सडकमा आएका पाइएका छन् । प्रदर्शनकारी विरुद्ध सरकारी दमनका बीच कयौं स्थानमा प्रदर्शन हिंसात्मक बनेको थियो ।  

एम्नेष्टिका अनुसार मारिएका २३ बालबालिकाहरु मध्ये २० जना ११ देखि १७ वर्षका किशोर र तीन किशोरी रहेको उल्लेख छ ।   एमनेस्टीका अनुसार ‘रेकर्ड भएका पीडित बालबालिकाहरु मध्ये झण्डै आधा’ अल्पसंख्यक समूदायका रहेको र ती सरकारी धरपकडको सबैभन्दा ‘हिंसात्मक दिन’ सेप्टेम्बर ३० मा भएको बताएको छ । 

एमनेस्टीको विज्ञप्तिमा अगाडि भनिएको छ– ‘इरानी सुरक्षा बलले देशका युवाहरूमा रहेको प्रतिरोधको भावनालाई कुल्चन र सत्तामाथिको पकड कायम राख्ने प्रयासमा पूर्ण दण्डहीनताको साथ मानिस तथा बालबालिका मार्यो ।’ एम्नेष्टीले इरानको सुरक्षा बलहरुबाट आफूले गणना गरेभन्दा बढि बालबालिका मारेको हुनसक्ने अनुमान गर्दै त्यसबारे अनुसन्धान जारी रहने बताएको छ । 

एमनेस्टीको रिपोर्टमा उल्लेख २३ मृतक बालबालिकाको संख्या सेप्टेम्बर मात्रको हो, त्यसमा अक्टोबरको प्रदर्शनका क्रममा मारिएका कुनै पनि बालबालिका समावेश छैनन् ।  एमनेस्टीका अनुसार अक्टोबर ३ मा प्रदर्शन सुरु भएदेखि इरानी सुरक्षाकर्मीहरूबाट मारिएका कुल १४४ महिला, पुरुष तथा बालबालिकाको नाम र विवरण जम्मा गरेको बताएको छ ।

इरानका सर्वोच्च नेता आयातोल्ला अली खामेनीले पछिल्लो प्रदर्शनमा उत्रिएकाहरु ‘पश्चिमका एजेन्ट’ भएको आरोप लगाउँदै उनीहरूलाई कारबाही गर्न आह्वान गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप