शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा–लोसपालाई बागी उम्मेदवारको चुनौती

के भन्छन् जसपा–लोसपाका विद्रोहीहरू ?
शनिबार, २९ असोज २०७९, १९ : ०३
शनिबार, २९ असोज २०७९

मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि मुख्य दुईटा गठबन्धन मैदानमा उत्रेका छन् । लोसपासहित चार दलको सत्ता गठबन्धन र एमाले–जनता समाजवादी पार्टीलगायतको अर्को गठबन्धन चुनावी मैदानमा छन् । 

यसरी गठबन्धन बनाएर नै चुनावमा गएपछि विभिन्न दलबाट विद्रोही उम्मेदवारहरू पनि देखिएका छन् । टिकट नपाएकाहरू स्वतन्त्र उम्मेदवारी दिएर आफ्नै पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध प्रतिस्पर्धा गर्ने तयारीमा छन् । यस्ता उम्मेदवारहरू सबै पार्टीमा देखिए पनि मधेसमा यो सङ्ख्या सबैभन्दा बढी रहेको छ । 

मधेस केन्द्रित दल जसपा र लोसपामा पनि थुप्रै बागी उम्मेदवारहरू छन् । यी बागी उम्मेदवारका कारण जसपा र लोसपा दुवैलाई अप्ठ्यारो पारेको छ । पार्टीले फिर्ता लिन निर्देशन दिए पनि उनीहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन् । 

मधेस प्रदेशका आठवटै जिल्लामा दुवै दलका बागी उम्मेदवार छन् । सप्तरीमा जसपाका दुई जनाले आफ्नै पार्टीका उम्मेदवार विरुद्धमा उम्मेदवारी दिएका छन् । जसपाका रोहित पोखरेलले सप्तरी १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नवलकिशोर साहका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै सप्तरी ४ (ख) मा जसपाको तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार अभिषेक यादवविरुद्धमा जसपाकै नेता अनिरुद्ध सिंह यादवले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । अनिरुद्ध जसपाका कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादवका भाइ हुन् ।

नेपाल समाजवादी पार्टीका नेता राजदेव राम (राजेश विद्रोही) ले सप्तरी ४ (क) मा प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेपाल समाजवादी पार्टी नेपाल सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव लडेको छ । सो क्षेत्रमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट गोविन्द बहादुर न्यौपानेले आधिकारिक रूपमा उम्मेदवारी दिएका छन् । 

सिरहामा पनि जसपाको आधिकारिक उम्मेदवारको विरुद्ध पार्टीका नेताहरूले उम्मेदवारी दिएका छन् । सिरहा–२ (क) का प्रदेश सभा सदस्यका आधिकारिक उम्मेदवार विजय यादव हुन् तर पार्टीबाट नै उनको विरुद्धमा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसपाका नेता राजलाल यादव र रामपृत यादव (बुदली) ले विजय यादवको विरुद्धमा उम्मेदवारी दर्ता गराएका छन् । 

नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य रामरिझन यादवले सिरहा २ (क) मा प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । सो क्षेत्रमा माओवादीको आधिकारिक उम्मेदवार जीवछ यादवलाई बनाएको छ । स्वतन्त्र उम्मेदवार रामरिझन यादवले भने, ‘म नेपाल समाजवादी पार्टीमा छैन, सो पार्टीको केन्द्रीय समितिमा मेरो नाम जबर्जस्ती राखेको छ । म पूर्ण स्वतन्त्र छु ।’

सिरहा–४ मा प्रतिनिधिसभा सदस्यका लागि काशिन्द्र यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । काशिन्द्र यादव जसपाका कार्यकारिणी सदस्य राजकिशोर यादवका भाइ हुन् । राजकिशोर यादव सिरहा–२ मा चुनाव लडेपछि सिरहा–४ मा आफ्नो भाइलाई स्वतन्त्र उठाएको आरोप छ । 

राजकिशोर यादव यसअघि सिरहा–४ बाट नै चुनाव जितेका थिए । तर यसपटक जसपाले राजकिशोर यादवलाई सिरहा २ मा पठाएर सिरहा–४ मा वीरेन्द्र महतोलाई उम्मेदवार बनाएको छ । वीरेन्द्र महतोको विरुद्ध काशिन्द्र यादवले उम्मेदवारी दिएका छन् । काशिन्द्र यादवलाई राजकिशोर यादवले उम्मेदवारी फिर्ता लिन भने पनि उनले मानेनन् । 

काशिन्द्र यादवले आफू कुनै पार्टीमा आबद्ध नरहेको बताउँदै आएका छन् । स्वतन्त्र भएको कारण स्वतन्त्र उम्मेदवारी दिएको उनी बताउँछन् ।

धनुषा–१ मा प्रतिनिधिसभा सदस्यका लागि जसपाले दीपक कार्कीलाई आधिकारिक उम्मेदवार बनाएको छ । तर त्यसको विरुद्धमा जसपाका नेता साधु यादवले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । 

महोत्तरी–२ (ख) लोसपाले सत्ता गठबन्धनको तर्फबाट काँग्रेसका नागेश्वर यादवलाई आधिकारी उम्मेदवार बनाएको छ । तर त्यहाँबाट लोसपाका कार्यकारिणी सदस्य सुरिता साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् । पार्टीले उनलाई उम्मेदवारी फिर्ता लिन भने पनि उनले फिर्ता लिइनन् । 

रातोपाटीसँग कुरा गर्दै सुरिता साहले भनिन्, ‘गठबन्धनको नाममा पार्टीलाई समाप्त गर्ने काम गरेको कारणले मैले उम्मेदवारी दिएको हुँ । गठबन्धनका कारण जसलाई मन लाग्यो त्यसैलाई उम्मेदवार बनाएर हुँदैन त्यसलाई मतदाताले पनि स्वीकार गर्नुपर्छ ।’ उनले आफूलाई मतदाताले नै दबाब दिएको कारण उम्मेदवारी दिएको दाबी गरिन् । 

‘स्वतन्त्र उम्मेदवारी दिएपछि म लोसपाको छैन भनी बुझ्नु पर्छ, तर पार्टीले के गर्छ त्यो थाह छैन, अहिलेसम्म पार्टीले कारबाही गरेको छैन,’ उनले भनिन्, ‘म लोसपामा छ कि छैन त्यो पार्टीले निर्णय गर्ने कुरा हो ।’ 

सर्लाही–४ (क) मा जसपा–एमाले गठबन्धनका आधिकारिक उम्मेदवार एमालेबाट रामबाबु राय बनेका छन् तर त्यसको विरुद्ध जसपाका कार्यकारिणी सदस्य रामनरेश राय यादवले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । 

रामनरेश राय यादव भन्छन्, ‘जीवनभर मधेस केन्द्रित राजनीति गरेर आएको मान्छ हुँ म, एमालेलाई कुनै पनि हालतमा मत हाल्न सक्दिनँ । मेरो सिद्धान्त र विचार तथा नैतिकताले पनि एमालेलाई मतदान गर्न इजाजत दिँदैन ।’ जुन पार्टीले दुई दुई पटक संसद् विघटन गर्‍यो, नागरिकता विधेयक पास हुन दिएन, मधेसी जनतालाई जहिले होच्याउने काम गर्‍यो, त्यो पार्टीलाई कसरी मतदान गर्ने भन्दै उनले एमालेलाई मत हाल्न नपरोस् भनेर नै आफू स्वतन्त्र उम्मेदवारी दिएको बताए । 

आफूलाई माओवादी र एमालेले पनि आफ्नो दलबाट चुनाव लड्न आग्रह गरेको तर आफूले नमानेको दाबी गरे । ‘एक समय त्यही जसपाले एमालेका अध्यक्ष केपी शर्मा ओलीको पुत्ला जलाउन लगाएको थियो आज त्यही ओलीलाई मत दिन भनिरहेको छ यो कस्तो गठबन्धन हो आफूले बुझ्न सकिनँ,’ उनले प्रश्न गरे ।

बारा–१ (ख) मा प्रदेश सभा सदस्यका लागि लोसपाबाट दुईजना बागी छन् । लोसपाका नेता कर्मुला अन्सारी र सञ्जय यादवले सो क्षेत्रमा प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । जब कि लोसपाको तर्फबाट गठबन्धन दलका काँग्रेसका नागेन्द्रप्रसाद कानु आधिकारिक उम्मेदवार हुन् । 

लोसपाका नेता सञ्जय यादव भन्छन्, ‘गठबन्धनको नाममा पार्टीलाई समाप्त गर्न खोजियो । त्यसका विरुद्धमा मैले उम्मेदवारी दिएको हुँ ।’ राजनीति गर्ने नेताले चुनाव नलडेसम्म उसको कुनै महत्त्व नरहने बताउँदै उनले नेताका लागि चुनाव एउटा महाउत्सव भएको र त्यो उत्सवमा नेताहरूले भाग लिन पाउनुपर्ने बताए । तर पार्टीका शीर्ष नेताहरूले आफ्नो स्वार्थका लागि गठबन्धन गरेको र अरू नेताको राजनीतिक जीवनलाई हत्या गरेको उनले गुनासो गरे ।

‘गठबन्धन गर्दा कुनै शीर्ष नेताले किन आफ्नो क्षेत्र छाड्नु भएन त ? आफ्नो क्षेत्रमा कुरा नमिलेपछि अरू क्षेत्रबाट पनि चुनाव लड्नुभएको छ । तर तल्लो तहका नेताहरूको जेसुकै होस् भनेर उहाँहरूले छाड्नु भएको छ,’ उनले भने, ‘आफ्नो राजनीतिक जीवन जोगाउनका लागि भए पनि स्वतन्त्र उम्मेदवारी दिएको हुँ ।’

पर्सा–१ मा पनि लोसपाका दुई जना नेता बागी उम्मेदवार बनेका छन् । सो क्षेत्रमा लोसपाको तर्फबाट गठबन्धन दलका काँग्रेसका रामनारायण प्रसाद कुर्मी आधिकारिक उम्मेदवार हुन् । उनको विरुद्धमा लोसपाका नेता ओमप्रकाश सर्राफ र शशी कपुर मियाँले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप