शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अंशु सदा हत्या प्रकरण : साथीको परिवारले १ लाख फिरौती नदिएपछि गेष्ट हाउसमा हत्या

१० हजार निकाल्न खोज्दा पक्राउ
मङ्गलबार, ०१ कात्तिक २०७९, ०८ : २८
मङ्गलबार, ०१ कात्तिक २०७९

मोरङको विराटनगर महानगरपालिका–११ स्थित न्यू अप्सरा गेस्ट हाउसमा असोज २८ मा १७ वर्षीय अंशु सदाको शव भेटियो । सिरहा गोलबजार घर भएका अंशु आफ्ना दुईजना साथीहरुसँग विराटनगर गएका थिए । असोज २६ मा उनीसँगै धनुषाको कमल नगरपालिका–६ घर भएका १८ वर्षीय राकेश ठाकुर र १८ वर्षका प्रशान्त मण्डल उर्फ बिसु विराटनगर गएका हुन् ।

मृतक अंशु र अरु दुईजना साथी हुन् । विराटनगरबाट उनीहरुले अंशुको परिवारलाई फोन गरेर ‘छोरा अपहरण गरेका छौ, जिवित चाहिए १ लाख पठाउनु’ भनेका थिए । सो रकम नपठाएपछि दुईजना मिलेर उनको हत्या गरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले रातोपाटीलाई बताए ।

अप्सरा गेस्ट हाउसको कोठामा हत्या गरेर आरोपीहरुले अंशुको शव बक्स पलङमुनि लुकाएका थिए । फोनबाट फिरौती मागेपछि पीडित परिवारले ईलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन दिए । कमजोर आर्थिक अवस्था भएका परिवारले छोरा फिर्ता आउने आशमा १० हजार नगद पनि पठाए । सो रकम निकाल्न जाँदा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । १० हजार रकम रिसिभ गर्नुअघि नै उनीहरुले अंशुको हत्या गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा अंशुका दुईजना साथीहरु धनुषाको कमल नगरपालिका–६ घर भएका १८ वर्षीय राकेश ठाकुर र १८ वर्षका प्रशान्त मण्डल उर्फ बिसु छन् । मोरङको रतुवामाई नगरपालिका–५ घर भएका २६ वर्षीय मनोज कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पीडित परिवारले पठाएको १० हजार रकम निकाल्ने बेलामा मनोजको पनि उपस्थिति देखिएको हुनाले उनलाई पनि पक्राउ गरिएको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । पैसा निकाल्न उनले ‘सिटि सफारी’ चढाएर आरोपीहरुलाई आइएमई सेन्टरसम्म लगेको थाहा भएको छ ।

प्रहरी स्रोतका अनुसार आरोपीहरु र मृतक लागुऔषध प्रयोगकर्ता हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप