शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

त्रिविमा नेविसंघको एउटा समूहले ताला खोल्यो, अर्को समूहले फेरि लगायो

मङ्गलबार, ०१ कात्तिक २०७९, १६ : ०३
मङ्गलबार, ०१ कात्तिक २०७९

त्रिभुवन विश्वविद्यालयमा गत बिहीबार खोलिएको ताला नेपाल विद्यार्थी संघले पुनः लगाएको छ । गत बिहीबार त्रिविको उपकुलपति (भिसी) को कार्यालयमा लगाइएको ताला नेविसंघको एउटा समूहले खोलेको थियो । 

त्यसपछि शुक्रबार त्रिविका पदाधिकारीहरूले काम गर्न पाए । तर, शनिवारदेखि पुनः ताला लगाइएको त्रिवि सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले बताए । नेविसंघको लेटरप्याडमा सूचना टाँस गरेर ताला लगाइएको उनले बताए । ‘बिहीबार खोलिएको थियो । शनिवारदेखि पुनः लगाइएको छ । लेटर प्याड नेविसंघको छ नाम कोहीको छैन् । नाम उल्लेख नभएकाले कुन समूहले लगाएको हो थाहा भएन,’ प्रमुख दाहालले भने । 

नेविसंघले गत असार २७ गतेदेखि त्रिविका भिसी कार्यालय, रेक्टर कार्यालय लगायतका निकायमा ताला लगाएको थियो । लामो समयदेखि तालाबन्दी हुँदा त्रिविले आफ्नो कृयाकलाप अगाडि बढाउन नसकेको भन्दै गत बिहीबार नेविसंघकै एक समूहले खोलेको थियो । तर, ताला खोलेको दुई दिनमै पुनः ताला लगाइएको हो । त्रिवि लेखा महाशाखा र कर्मचारी महाशाखामा यसअघि नै ताला खोलिएको थियो । ‘भिसी कार्यालय र रेक्टर कार्यालयमा बिहीबार एक समूह आएर खोलेको थियो । खोलेपछि शुक्रबार काम भयो । शनिवार आएर फेरि लगाएर गयो,’ उनले भने । 

नेविसंघ त्रिविका विद्यार्थी नेता विष्णु बडैलाले गत विहीबार नेविसंघको आधिकारिक निकायले नखोलेको बताए । ‘बिहीबार बाग्लुङको कालिगण्डकी भन्ने कलेजले नाम परिवर्तन गरेर ट्रान्सफर गर्ने कुरालाई लिएर भिसी कार्यालयमा लगाइएको ताला खोलियो भन्ने कुरा थियो । त्यो नेविसंघको आधिकारिक निकायबाट खोलिएको होइन,’ बडैलाले भने ।  

विभिन्न माग राखेर गरिएको तालाबन्दी कुनै अमुक व्यक्तिले खोलेका भन्ने थाहा पाएपछि आफूहरूले पुनः ताला लगाएको उनको भनाइ छ । ‘नेविसंघले गरेको यत्रो आन्दोलन, कतिको टाउको फुट्यो, कति घाइते भए, यो कुराको मध्यनजर नगरेर कुनै एउटा अमुक व्यक्ति आएर ताला खुल्यो भन्ने कुरा सुनेपछि हामीहरू गएर ताला लगाएका हौं,’ उनले भने । नेविसंघले गत असारदेखि परीक्षा प्रणालीमा देखिएको कमजोरी, बिबिएको परीक्षाको प्रश्नपत्र लिक भएको विषय, मानविकी संकायमा अघिल्लो वर्षको प्रश्नपत्र रिपिट भएको लगायतका विषयलाई लिएर त्रिविमा तालाबन्दी गर्दै आएको छ । आफ्ना मागहरू पुरा नहुँदासम्म तालाबन्दी नखुल्ने उनको भनाई छ । त्रिविको वार्ता समिति यतिबेला आन्दोलनरत पक्षसँग वार्ता गरिरहेको छ । 

‘अहिले हामी वार्तामा बसिरहेका छौं । हामी ताला खुल्नुपर्छ भन्ने पक्षमा नै छौं ।  त्रिविको वार्ता समितिसँग वार्ता भइरहेको छ । माग सुनुवाई भयो भने १/२ दिनमा तालाबन्दी खुल्छ । नत्र चुनावपछि मात्रै हुन्छ,’ उनले भने । 

राजनीतिक चपेटामा त्रिवि 
त्रिवि लामो समयदेखि विद्यार्थी संगठनहरुको राजनीतिक चपेटामा पर्दै आएको छ । नेविसंघले विभिन्न माग राख्दै लामो समयदेखि तालाबन्दी गर्दै आएको छ । त्रिविमा नेविसंघको आधिकारिक रूपमा कुनै पनि कार्य समिति छैन । जसले गर्दा विभिन्न गुट र उपगुट सक्रिय छन् । 

नेविसंघभित्रको आन्तरिक द्वन्द्वका कारण त्रिवि अनिर्णयको बन्धकमा परेको छ ।  अधिवेशन नहुँदा त्रिविमा थुप्रै समूह सक्रिय भएपछि नेविसंघ केन्द्रीय कार्यालयले ति सबै समितिहरु विघटन गरेको थियो । २७ भदौंमा अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ती जारी गर्दै त्रिवि समितिका हिसावले कुनै पनि कार्य नगर्न नगराउन उनीहरूलाई निर्देशन दिएका थिए । र अधिवेशन नहुँदासम्म केन्द्रीय कार्यालयबाटै काम अघि बढ्ने बताएको थियो । 

केन्द्रीय कार्यालयले हस्तक्षेप गरेपनि ति समूह आ–आफ्नो स्वार्थमा अघि बढिरहेका छन् । बिहीबार लगाएको लगाएको ताला शनिवार खोल्ने समूहले बिना छलफल ताला खोलिएको भन्दै आपत्ति जनाएको छ । 

लामो समयदेखि तालाबन्दी भएपछि त्रिविका १३ वटा महाशाखा प्रमुखले तालाबन्दी खोलिदिन अपिल गरेका थिए । २७ भदौमा विज्ञप्ती जारी गर्दै चाडपर्वका बेला कर्मचारीहरूलाई तलब खुवाउन समस्या भएको भन्दै ताला खोल्न अनुरोध गरिएको थियो । महाशाखा प्रमुखहरुले विज्ञप्ती जारी गरेपछि नेविसंघले २ असोजबाट आर्थिक प्रशासन र कर्मचारी प्रशासन महाशाखामा लगाएको ताला खोलेको थियो । 

दुई महाशाखामा लगाएको ताला खोलेपनि भिसी कार्यालय र रेक्टर कार्यालयमा लगाइएको ताला खोलिएको थिएन । तर, गत बिहीबार नेविसंघको एक समूहले दुवै कार्यालयमा लगाइएको ताला समेत खोलेको थियो । ताला खोल्ने निर्णयप्रति असन्तुष्ट बनेको अर्को समूहले दुई दिनमै पुनः ताला लगाएको हो । त्रिविको तालाबन्दी यतिबेला विद्यार्थी संगठनहरुको प्रतिष्ठाको विषय बनिरहेको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयु र नेविसंघबीचको प्रतिष्ठाको लडाइले त्रिविको तालाबन्दी खुल्न सकेको छैन् । 

अनेरास्ववियुले बेला बेला ताला खोल्ने प्रयास गर्दै आएको छ । त्रिविमा नेविसंघले ताला लगाउने र अनेरास्ववियुले खोल्ने काम गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप