शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देही–२ मा राजु गुरुङको उम्मेदवारी कहिले होला फाइनल ? यसरी हुँदैछ चुनाव प्रचार

बिहीबार, ०३ कात्तिक २०७९, १३ : ५७
बिहीबार, ०३ कात्तिक २०७९

रुपन्देही–२ मा प्रतिनिधिसभा सदस्य पदका लागि सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराएका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको बारेमा सर्वोच्च अदालतले फैसला गर्न बाँकी नै छ । उम्मेदवारी खारेजविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका गुरुङलाई अन्तरकालीन अन्तरिम आदेशमार्फत केही राहत त मिलेको छ, तर मुद्दा किनारा नलागेसम्म उनको उम्मेदवारी सुनिश्चित भन्न मिल्दैन ।

निर्वाचन कार्यालयले उनको उम्मेदवारी खारेज गरेको थियो । तर सर्वोच्चको आदेशअनुसार तत्कालका लागि राहत पाए पनि उम्मेदवारी ‘फाइनल’ नभएसम्म ढुक्क भएर चुनाव प्रचारमा खटिन नसकिएको उनका समर्थक बताउँछन् ।

निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत उदवीर नेपालीले असोज २५ गते उम्मेदवार गुरुङको कम्पनी कालो सूचीमा परेको उजुरीको आधारमा उनको उम्मेदवारी खारेज गरेका थिए । त्यसविरुद्ध न्यायालयको ढोका ढक्ढक्याउन पुगेका गुरुङ एक हप्तादेखि काठमाडौंमै छन् । जसले गर्दा उनको निर्वाचन प्रचारप्रसारले गति लिन सकेको छैन ।

पछिल्लो समय गठबन्धनको आन्तरिक बैठक तथा निर्वाचनका लागि विभिन्न समिति, उपसमिति गठन भए पनि खुलेर काम गर्न नपाएको एकीकृत समाजवादी पार्टीका रुपन्देही अध्यक्ष अभिराम विश्वकर्माले रातोपाटीलाई बताए । उनले भने, ‘हामी धेरै अगाडि बढ्ने अवस्था थियो तर उम्मेदवारी फाइनल नभएका कारण खुलेर काम गर्न सकिएको छैन ।’

उनले अहिलेसम्म वडाहरूमा पार्टी निर्वाचन सम्पर्क कार्यालय खोल्नेदेखि अन्य प्रचारप्रसारका काम सामान्य रुपमा अघि बढाइएको बताए । एकीकृत समाजवादी पार्टीका लुम्बिनी प्रदेश सदस्य महेश पन्थीले निर्वाचन कार्यालयको निर्णयसँगै अदालतको प्रक्रियाले कार्यकर्ता एक हप्तासम्म अन्योलमै रहेको र अदालतबाट अन्तरकालीन अन्तरिम आदेश आएपछि भने केही राहत मिलेको बताए । यो मुद्दालाई सर्वोच्च अदालतले चाँडै टुङ्ग्याउने उनको विश्वास छ ।

निर्वाचन कार्यालयले असोज २५ गते राजु गुरुङसँगै स्वतन्त्र उम्मेदवार डा. कमल भुसालको उम्मेदवारी पनि खारेज गरेको थियो । राजुको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश जारी भए पनि  डा भुसालको मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

यहाँ नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल मैदानमा छन् । उनी सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको मुख्य प्रतिस्पर्धी मानिएका छन् ।

गुरुङ बुटवल आउँदै

उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णयविरुद्ध रिट निवेदन दर्ता र आवश्यक कानुनी प्रक्रियाका लागि काठमाडौं पुगेका राजु गुरुङ शुक्रबार बुटवलमा हुने चुनावी कार्यक्रमका लागि बुटवल आउँदैछन् । गठबन्धनका शीर्ष नेताहरु सहभागी कार्यक्रम आयोजना हुने भएकाले त्यसमा सामेल हुन उनी बुटवल आउन लागेका हुन् । सर्वोच्च अदालतमा विचाराधीन रहेको उनको रिट निवेदनमाथि पनि शुक्रबार नै सुनुवाइ हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप