शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

४६ मुद्दा हेर्न नभ्याइनेमा राखेर राजु गुरुङको मुद्दा प्राथमिकतामा

शुक्रबार, ०४ कात्तिक २०७९, १६ : ५१
शुक्रबार, ०४ कात्तिक २०७९

रुपन्देही २ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको सम्बन्धी मुद्दाको सुनुवाइलाई शुक्रबार सर्वोच्च अदालतले प्राथमिकतामा राखेको छ । सो मुद्दा सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा परेकामा प्राथमिकताका साथ सुनुवाइ भइरहेको छ । 

न्यायाधीशद्वयको इजलासमा ५० वटा मुद्दाको पेशी रहेकामा ४६ वटा हेर्न नभ्याइने र ३ वटा हेर्न मिल्ने भएको सर्वोच्च अदालतले जनाएको छ । बाँकी गुरुङको मुद्दामा मात्रै दिनभर सुनुवाइ भइरहेको हो ।  यसअघि कात्तिक २ मा उक्त रिट निवेदन न्यायाधीशद्वय सुष्मालता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा परेको थियो । तर, अन्तरिम आदेशको सम्बन्धमा सुनुवाइका लागि पेसी तोकिए पनि सो रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । 

नेकपा एकीकृत समाजवादी पार्टीका गुरुङले सत्तारुढ गठबन्धनको तर्फबाट सो क्षेत्रमा उम्मेदवार दर्ता गराए पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको थियो ।

निर्वाचन अधिकृतको कार्यालयको सो निर्णयविरुद्ध गुरुङ असोज २७ गते रिट निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका थिए । उनले रिट निवेदनमा कर्जा सूचना केन्द्रको कालोसूचीमा आफू नभई आफू आवद्ध रहेको संस्था ‘नर्थ वेष्ट नेपाल इन्फ्रा प्रालि’ मात्र रहेको भन्दै आफ्नो उम्मेदवारी कायम हुनुपर्ने जिकिर गरेका छन् ।

सो रिट निवेदनमाथि असोज ३० गते प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले कार्तिक २ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उम्मेदवारी खारेजीको निर्णय कार्यान्वयन नगर्न र नगराउन भनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप