आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं–५ मा त्रिपक्षीय भिडन्त : ईश्वर, प्रदीप र रञ्जुमध्ये कसले मार्लान् बाजी ?

मङ्गलबार, ०८ कात्तिक २०७९, २० : २३
मङ्गलबार, ०८ कात्तिक २०७९

आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ मा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा हुने भएको छ । यो क्षेत्रमा एमालेबाट ईश्वर पोखरेल, सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका प्रदीप पौडेल र स्वतन्त्र उम्मेदवार रञ्जु दर्शना न्यौपाने यो क्षेत्रका मुख्य प्रतिस्पर्धी उम्मेदवारका रुपमा देखिएका छन् ।

एमालेको वरिष्ट उपाध्यक्ष समेत रहेका पोखरेल अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए भने पौडेल यो क्षेत्रका लागि नयाँ उम्मेदवार हुन् । यस्तै रञ्जु दर्शना २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर प्रमुख पदमा प्रतिस्पर्धा गरेर तेश्रो स्थान पाएकी थिइन् ।

२०७४ को संघीय निर्वाचनमा काठमाडौं–५ मा तत्कालीन विवेकशील नेपाली दलका उज्ज्वल थापाले प्रतिस्पर्धा गरेर तेश्रो स्थान बनाएका थिए । सोही दलबाट राजनीति सुरु गरेकी न्यौपानेले यो पटक स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । उनले प्रतिनिधिसभा निर्वाचनको मिति तय नहुँदै काठमाडौं–५ का लागि उम्मेदवारी घोषणा गरेकी थिइन् ।

स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ का लागि आफू परिचित ब्यक्ति रहेको, त्यहाँका मतदाताले पनि आफूलाई परिचय दिएको बताइन् । उनी अहिले आफ्ना एजेण्डाहरु लिएर जनताको घरघरमा पुगिरहेकी छन् । आफू निर्वाचित भएमा आफूले गर्ने कामहरुको बारेमा मतदातालाई बुझाउँदै घरदैलो कार्यक्रम अघि बढाइरहेको उनले बताइन् ।

उनले भनिन्, ‘घर टोलमा गएर भेटघाट कार्यक्रम र अन्तरक्रियात्मक कार्यक्रम चलिरहेको छ । मेरो उम्मेदवारीलाई लिएर यस क्षेत्रका मतदाताले उत्साहजनक प्रतिक्रिया दिनुभएको छ । ५ वर्ष अघिको रञ्जु र अहिलेको रञ्जुमा धेरै फरक पाएका छौँ भन्नुभएको छ । मेरो एजेण्डाबाट पनि प्रभावित भएको बताउनुभएको छ । यसपटक मौका दिन्छौँ भन्नुभएको छ ।’

उनले मतदाता नै सबैभन्दा शक्तिशाली रहेको उल्लेख गर्दै मतदाताले चाहे अनुसारको काम गर्ने ‘आइडिया’ र एजेण्डा लिएर आफू अघि बढिरहेको बताइन् । उनले आफ्ना बिचार र एजेण्डालाई मतदाताले मन पराएकाले यो पटक निर्वाचित हुनेमा विश्वस्त रहेको बताइन् ।

रञ्जुका साथै नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल र एमाले नेता ईश्वर पोखरेल पनि घरदैलो कार्यक्रममा व्यस्त छन् । पौडेलले मंगलबार गोल्फुटार हाइट लगायतका क्षेत्रमा घरदैलो कार्यक्रम गरेका छन् । पोखरेल पनि घरदैलो कार्यक्रममा व्यस्त छन् ।

यस्तो थियो अघिल्लो चुनावको परिणाम

गत स्थानीय तह निर्वाचनमा यो क्षेत्र अन्तर्गतका स्थानीय तहका वडाहरूमा पाएको मतका आधारमा एमाले अग्रपंक्तिमा छ । स्थानीय तह निर्वाचनमा एमालेले १९ हजार ७०३ मत, कांग्रेसले १४ हजार ८५३ मत, माओवादी केन्द्रले १ हजार १६८ मत, एकीकृत समाजवादीले १ हजार ८२७ मत र राप्रपाले २ हजार ६२२ मत पाएको थियो । यो मतका आधारमा यहाँ सत्ता गठबन्धन दलको १७ हजार ८४८ मत छ । जसअनुसार एमाले १ हजार ८५५ मतले अगाडि देखिन्छ ।

यता अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट तत्कालीन वाम गठबन्धनका उम्मेदवार ईश्वर पोखरेलले २३ हजार २९ मत ल्याएका थिए । पोखरेलका प्रतिस्पर्धी कांग्रेसका डा.प्रकाशशरण महतले १३ हजार १६९ मत पाएका थिए । तेश्रो स्थानमा विवेकशील साझाका उम्मेदवार स्व.उज्वल थापाले ६ हजार ८५३ मत पाएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप