बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुक्तिनाथको अबको ध्यान कृषितर्फ, बनायो ७० करोडको पब्लिक कम्पनी

शुक्रबार, ११ कात्तिक २०७९, १२ : १६
शुक्रबार, ११ कात्तिक २०७९

मुक्तिनाथ विकास बैंकले वित्तीय कारोबारसँगै पछिल्लो समय ठूलै पहलकदमीसहित कृषिमा लगानी बढाएको छ । बैंकले आफ्नो छुट्टै भगिनी कम्पनी ‘मुक्तिनाथ कृषि कम्पनी’ स्थापना गर्दै कृषि कार्यमा लागेको हो । 

सन् २०१८ मा स्थापित कम्पनीले मुलुकका सातै प्रदेशलाई केन्द्रित गर्दै कृषि उत्पादन तथा अनुसन्धान कार्यलाई तीब्रता दिएको हो । कम्पनी सातै प्रदेशका सात प्रमुख सहरमा क्षेत्रीय कार्यालय स्थापना गरेर अघि बढिरहेको छ । 

कम्पनीका अनुसार पूर्वको प्रदेश–१ मा इटहरी, मधेस प्रदेशको राउतघाट, बागमती प्रदेशमा काठमाडौँ र चितवन, गण्डकी प्रदेशमा स्याङ्जा, लुम्बिनी प्रदेशमा बुटवल, कर्णाली प्रदेशमा सुर्खेत र सुदूरपश्चिम प्रदेशमा धनगढीमा कम्पनीले प्रादेशिक तथा क्षेत्रीय कार्यालय स्थापना गरेको छ । यी कार्यालयहरूबाट कृषि उत्पादन तथा अनुसन्धानका गतिविधि सञ्चालन गरिएको छ । हालै मात्र गण्डकी प्रदेशको स्याङ्जामा अनुसन्धान फार्म स्थापना गरी कम्पनीले कृषि अनुसन्धानको काम गरिरहेको छ । 

कम्पनीले आफ्नो उद्देश्य अनुसार कृषकलाई आवश्यक गुणस्तरीय उत्पादनका साधनहरू जस्तै मल, बिउ, रोग किरा नियन्त्रक, कृषि औजार, उपकरणसहित कृषि परामर्श सेवा, अनुसन्धान, विकास र प्रविधि प्रसारको काम गरिरहेको छ । उत्पादन र बजारीकरणमा आफूलाई केन्द्रित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको खोजीसमेत कम्पनीले गरिरहेको छ । 

कृषिमा विशिष्टीकृत वस्तु तथा सेवाहरू प्रदान गर्नको लागि बिउ, मल, नर्सरी, पशुपन्छी, जडीबुटी, खाद्यान्न, मेशिनरी उपकरण र कृषि उपजहरूको वितरणको लागि सहायक कम्पनीहरूको स्थापना समेत कम्पनीले गरेको छ । कृषिलाई मर्यादित र प्रतिस्पर्धी पेसाको रूपमा विकास गरी लाखौँ युवाहरूलाई प्रत्यक्ष रोजगारी दिने र स्वरोजगार बनाउने उद्देश्य कम्पनीको रहेको छ ।   

‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ’ भन्ने बैंकको मूल नारा जस्तै ‘कृषकसँग मुक्तिनाथ’ र ‘उपभोक्तासँग मुक्तिनाथ’ भन्ने अभियानको मुल सारसहित कम्पनीले कृषकलाई कृषि उत्पादन र बजारीकरणमा समेत सघाइरहेको छ । 

‘कृषिको क्षेत्रमा केही गर्न चाहने वा यस्तै क्षेत्रमा तालिम, शिक्षा, परामर्श वा योजना लिएर आउनेहरूका लागि कम्पनी विश्वविद्यालय बन्न चाहन्छ, दिन सक्ने र सहयोग गर्न सकिने सबै खाले सहयोग कृषकलाई दिइरहेका छौँ, अझ दिनेछौँ’ मुक्तिनाथ विकास बैंकका समेत अध्यक्ष रहेका मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले रातोपाटीसँग भने ।

खासगरी कम्पनीले मुलुकको कृषि उत्पादन, बजारीकरण र मूल्य शृङ्खलाको सन्तुलनको विकासमा काम गर्न चाहेको उनले बताए ।

समस्या तथा चुनौती

नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा झण्डै एकतिहाई हिस्सा कृषिले ओगटेको छ । कुल जनसङ्ख्याको ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या यसै क्षेत्रमा आबद्ध छन् । भौगोलिक, वातावरणीय र बजारको अनुकूलताको हिसाबले समेत बाह्रै महिना कृषि उपजहरूको उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पठाउन सकिने पर्याप्त सम्भावनाहरू छन् । तर पनि नेपालको कृषि क्षेत्रले सोचेजस्तो उपलब्धि हासिल गर्न सकिरहेको छैन । यसो हुनुमा मुख्या ५ मुख्य कारणहरू रहेको अध्यक्ष ढकालको भनाइ छ ।

ती ५ मुख्य कारणहरूमा नीतिगत अस्पष्टता, बजारको माग र आपूर्तिबीचको असन्तुलन, कृषिमा युवाको विकर्षण, स्थानीय सम्भाव्यताका परियोजनाहरूको विकासमा समस्या र.कृषि क्षेत्रमा काम गर्ने संस्थागत कम्पनीहरूको अभाव रहेका छन् । 

धेरै कुराहरूमा राज्य चुके पनि अब कृषि क्रान्ति निजी क्षेत्र जाग्नुपर्ने ढकालको भनाइ छ । उसो त व्यावसायिक कृषिका मूल्य र मान्यताभित्र रही समग्र कृषि मूल्य शृङ्खला (भ्यालु चेन) लाई नै व्यवस्थापन गर्दै कृषि क्रान्तिमार्फत मुलुकको समग्र अर्थतन्त्रलाई सबल बनाउने उद्देश्यसहित विभिन्न पेसा व्यवसायका आबद्ध व्यक्तिहरूको लगानीमा पब्लिक कम्पनीको रूपमा कम्पनी स्थापन गरिएको अध्यक्ष ढकालको भनाइ छ । 

‘अन्य क्षेत्रमा काम गर्ने यस्ता धेरै संघ संस्थाहरु निजी कम्पनीहरू छन् तर, कृषि क्षेत्रलाई नै मुख्य आधार बनाएर लाग्ने कम्पनीहरू भेट्नै मुस्किल छ, भए पनि केही औलामा गन्ने मात्र छन्’ अध्यक्ष ढकालले भने, ‘त्यहीँ अभावलाई चिर्दै मुलुकको कृषि क्रान्ति गर्न निजी क्षेत्रबाटै मुक्तिनाथ कृषि कम्पनी जस्तो वृहत् कम्पनी आएको हो । म दाबाका साथ भन्छु, कृषि क्षेत्रमा नै केन्द्रित हुँदै यति ठुलो लगानीसहित आउने पहिलो कम्पनी मुक्तिनाथ नै हो’ ढकालले भने ।

हाल कम्पनीको चुक्ता पुँजी ३६ करोड रुपैयाँ रहेको छ । यसै वर्ष कम्पनीको पुँजी ७० करोड रुपैयाँ पुर्‍याउने लक्ष्य राखिएको छ । 

‘अहिलेको कम्पनीको चुक्ता पुँजी ३६ करोड हो । तर अब छिट्टै कम्पनीको पुँजी बढेर ७० करोड पुग्दैछ । हालै सम्पन्न वार्षिक साधारण सभाले कुल पुँजीको ५५.५५ हकप्रद सेयर जारी गर्ने निर्णय गरिसकेको छ । यसपछि कम्पनीको चुक्ता पुँजी ५६ करोड पुग्नेछ र थप २० प्रतिशत सेयर सर्वसाधारणमा जारी गरेपछि ७० करोड पुग्नेछ’ अध्यक्ष ढकालले भने, ‘म फेरि दावाका साथ भन्छु, यति ठुलो पुँजीसहित कृषि क्षेत्रमा काम गर्ने अन्य कुनै कम्पनी छैन ।’

उसो त ७० करोड चुक्ता पुँजीसहित पब्लिकमा जान लागेको कम्पनीले साधारण सेयर (आईपीओ) जारी गर्न धितोपत्र बोर्डमा समेत अनुमति माग गरिसकेको छ ।

स्वायत्त कम्पनी

मुक्तिनाथ कृषि कम्पनीको मातृ कम्पनी मुक्तिनाथ विकास बैंक हो । अर्थात मुक्तिनाथ कृषि कम्पनी पनि मुक्तिनाथ विकास बैंकको भगिनी कम्पनी हो । तर, काम भने स्वायत्त संस्थाको रूपमा हुने अध्यक्ष ढकालको भनाइ छ । बैंकको आफ्नै कारोबार हुने र कृषि कम्पनीको आफ्नै कार्य क्षेत्र तथा अधिकार हुनेहुँदा छुट्टाछुट्टै कम्पनीको गतिविधि हुने ढकालले बताए ।

‘धेरैलाई लाग्न सक्छ मुक्तिनाथ कृषि कम्पनी भनेकै मुक्तिनाथ बैंक हो, कतिपयले मुक्तिनाथ कृषि बैंक पनि भनेको सुनियो तर यस्तो होइन, मुक्तिनाथ कृषि कम्पनीले स्वतन्त्र कम्पनीको रूपमा काम गर्छ,’ ढकालले थपे ।

यद्यपि, बैंककै एसोसिएट कम्पनी भएकाले मुक्तिनाथ कृषि कम्पनीमा बैंकको कुल ३६ करोड चुक्ता पुँजीको २५ प्रतिशत अर्थात् १० करोड रुपैयाँ लगानी रहेको छ । 

‘बैंक आफ्नो नियम अनुसार चल्ने हो अनि कृषि कम्पनी आफ्नै नीतिमा । यसमा बैंकले अनुचित लाभ लियो वा कम्पनीले लियो कि भन्ने शंका गर्नुपर्दैन । बरु बैंकले लगानी गरेको कृषि क्षेत्रमा, कृषकहरूलाई चाहिने कृषि सेवा सुविधा भने कम्पनीले गरिरहेको छ’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप