बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ब्राजिलको ध्रुवीकृत निर्वाचनमा विश्वको नजर किन ?

शनिबार, १२ कात्तिक २०७९, २० : ५२
शनिबार, १२ कात्तिक २०७९

ब्राजिलमा भोलि(अक्टोबर ३०) हुने दोस्रो चरणको राष्ट्रपतीय  निर्वाचनबाट वामपन्थी उमेदवार लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी राष्ट्रपति जैर बोल्सोनारोमध्ये एक चुनिँदैछन् ।  अक्टोबर २ मा भएको पहिलो चरणको मतदानमा ११ उम्मेदवारमध्ये कसैले पनि स्पष्ट बहुमत नल्याएपछि दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।

पहिलो चरणमा धेरै मत ल्याउने शिर्ष दुई उमेदवार लुला र बोल्सोनारोले ((जसले क्रमशः ४८ र ४३ प्रतिशत ल्याएका थिए ) दोस्रो चरणमा भिड्दैछन् । देशको इतिहासको सबैभन्दा ध्रुवीकृत चुनावी अभियानपछि हुन लागेको चुनावमा मत सर्वेक्षणले लूलाले जित्ने सम्भावना उच्च देखाएको छ । तथापि पहिलो चरणमा बोल्सोनारोले मत सर्वेक्षणले देखाएभन्दा उच्च मत ल्याएबाट केही भन्न सकिने स्थिति छैन । 

राष्ट्रपतिका उम्मेदवारका वाचा
सन् २००३ देखि २०१० सम्म राष्ट्रपति रहेका लुलाले बोल्सोनारोको नेतृत्वमा चार वर्ष भएका खराबी सुधार्न र देशलाई ‘पुनर्निर्माण र रूपान्तरण’ गर्न आफूलाई मत दिन आह्वान गरेका छन् । उनले न्यून आय भएका विपन्न नागरिकहरू सघाउने समाजिक न्यायका कार्यक्रम ल्याउने र वातावरणीय कार्यक्रम पुनःस्थापित गर्ने वाचा पनि गरेका छन् । बोल्सोनारोको शासनमा अमेजन क्षेत्रमा ठूलो वन फँडानी र त्यहाँका आदिवासीविरुद्ध आक्रमण बढेको छ । 

बोल्सोनारोको नारा भने ‘भगवान, परिवार, देश’ छ । उनी आर्थिक विकासलाई प्रवद्र्धन गर्दै अपराध र भ्रष्टाचारलाई घटाउने वाचा गरिरहेका छन् । पछिल्लो समय लुलासँगको प्रतिस्पर्धालाई मध्यनजर गर्दै उनले गरिब ब्राजिलियनहरूका सघाउने नयाँ कार्यक्रमहरू घोषणा गरेका छन् । पुरातनपन्थी विचारधारा बोक्ने बोल्सोनारो गर्भपतनलाई कठिन बनाउने कानुनका पक्षधर हुन् । उनले लुला राष्ट्रपति बने भने चर्चहरुविरुद्ध कारबाहीको झूटो चेतावनी दिएका छन् । विगतदेखि लुला र उनको वर्कर्स पार्टीको जनाधार देशको श्रमिक वर्ग र ग्रामीण क्षेत्र रहदै आएका छ । बोल्सोनारोलाई रूढिवादी, कट्टर क्रिश्चियन समुदाय र व्यापारिक समूहको बलियो समर्थन छ ।

पछिल्लो निर्वाचनमा फेक न्युज निक्कै प्रसार प्रचार भएको देखिएको छ । बोल्सोनारोको टिमले ब्राजिलको निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाउने गलत सूचनालाई व्यापकता दिएको छ । यसले राजनीतिक हिंसालाई उत्प्रेरित गर्ने डर व्यक्त गरिँदैछ । ब्राजिलको निर्वाचन प्रणालीमा जालझेल हुने बोल्सोनारोको दावीमा पर्यवेक्षकहरूले ट्रम्पको झल्को देखेका छन् । ट्रम्पका कट्टर समर्थक रहेको बोल्सोनारोले हारेमा चुनावी नतिजा नमान्ने तयारी गरिरहेको आरोप छ । 

ब्राजिल सन् १९६४ देखि १९८५ सम्म सैन्य तानाशाही शासनमा थियो । आफै पूर्व सैन्य क्याप्टेन बोल्सोनारोले विभिन्न अवसरमा पूर्व सैन्य तानाशाही अवधिको प्रशंसा गर्ने गरेका छन् । अधिकारकर्मी समुहहरुले ब्राजिलको सैन्य शासनलाई ‘क्रुर’ भएको बताउँछन् । बोल्सोनारोको सैन्य तानाशाहीप्रतिको सकारात्मक बोली र चुनावी प्रक्रियाप्रतिको आशंकाले सैन्य कूको लागि उनले प्रेरित गर्ने हुन की भन्ने डर पनि छ ।
यसै परिपेक्षमा युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन, युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेल र अन्य दर्जनौं विधायकले लेखेको पत्रमा ब्राजिलको सैन्य नेतृत्वलाई ‘कू’विरुद्ध निरुत्साहित गर्नु ‘महत्वपूर्ण’ भएको उल्लेख छ । 

किन विश्वले नजरमा छ निर्वाचन ? 

पहिलो चरणको निर्वाचन अघिदेखि नै धेरै विश्लेषकहरुले यस चुनावलाई ‘ब्राजिलको लोकतन्त्रको भविष्यको लागि एक महत्वपूर्ण लडाइको रूपमा’ व्याख्या गरेका थिए । पछिल्लो समय ह्युमन राईट्स वाचका अनुसन्धानदाता डेबोरा ब्राउन र मारिया लौरा क्यानिनुले यही चासोलाई प्रतिध्वनित गर्दै ‘अहिलेको चुनाव ब्राजिलको लोकतन्त्रको र कानुनी शासनको लागि महत्वपूर्ण परीक्षा’ भएको बताए । ब्राजिलको विशाल आकार र प्रभावका कारण यस चुनावको असर त्यस देशको सीमाना बाहिर पनि हुने तिनको भनाई थियो । 

त्यस अतिरिक्त ब्राजिलको अहिलेको चुनावलाई जलवायु परिवर्तनसँगको लडाइका परिपेक्षमा पनि महत्वपूर्ण बताइएको छ । बोल्सोनारोको शासनमा विश्वको सबैभन्दा ठूलो यस रेन फरेस्ट(वर्षा वन)मा वन फँडानीमा बृद्धि हुँदा पर्यावरणमा नकारात्मक असर पर्ने देखिन्छ । बोल्सोनारोले सो क्षेत्रको संरक्षणसम्बन्धी कयौं कानुन खारेज गरिदिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप