बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय जनमुक्ति पार्टी गठबन्धनमा मिसिएपछि रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमा कस्तो प्रभाव पर्ला ?

आइतबार, १३ कात्तिक २०७९, १३ : ४०
आइतबार, १३ कात्तिक २०७९

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा सत्तारुढ गठबन्धनमा राष्ट्रिय जनमुक्ति पार्टी मिसिएको छ । रुपन्देही क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि नयाँ समीकरण बनेको हो ।

सो क्षेत्रमा सत्तारुढ गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशव बहादुर थापालाई समर्थन गर्ने र जिल्लाका बाँकी निर्वाचन क्षेत्रमा राष्ट्रिय जनमुक्ति पार्टीले सत्तारुढ गठबन्धनलाई सघाउने सहमति भएको हो ।

रुपन्देहीका लागि बनेको यो नयाँ समीकरणले जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा कस्तो प्रभाव पार्छ भन्नेबारे चासो देखिन्छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लाभरि राष्ट्रिय जनमुक्ति पार्टीका वडा अध्यक्ष पदका उम्मेदवारले ७ हजार ४७१ मत प्राप्त गरेका छन् ।

क्षेत्रगत रूपमा रुपन्देही–१ अन्तर्गतका वडामा सो पार्टीले २ हजार ६९६, क्षेत्र नम्बर २ अन्तर्गतका वडामा २ हजार ७०, क्षेत्र नम्बर ३ मा एक हजार ७३६, क्षेत्र नम्बर ४ मा २५१ र क्षेत्र नम्बर ५ मा ७१८ मत देखिन्छ ।   

राष्ट्रिय जनमुक्तिको साथले कुन क्षेत्रमा कस्तो प्रभाव ?

रुपन्देहीको क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल मैदानमा छन् । उनको प्रतिस्पर्धीका रूपमा नेकपा एमालेका छविलाल विश्वकर्मा उम्मेदवार छन् ।

स्थानीय तहको निर्वाचन अनुसार यो क्षेत्रमा नेपाली कांग्रेसको ३२ हजार ९९९ मत छ । सत्ता गठबन्धनकै घटक नेकपा माओवादी केन्द्रको ४ हजार २०२ र नेकपा एकीकृत समाजवादीको एक हजार २४३ र लोसपाको ३२५ मत छ । यहाँ राष्ट्रिय जनमुक्ति पार्टीको २ हजार ६९६ मत छ । यस आधारमा यो क्षेत्रमा सत्तारुढ गठबन्धनको पक्षमा ४१ हजार ४६५ मत हुन्छ ।

यस्तै नेकपा एमालेको ३० हजार ३९४, राप्रपाको १४ हजार ५५२ र जसपाको ६ हजार ६९५ मत छ । यस क्षेत्रमा राप्रपा र जसपाले एमालेलाई सघाउने भएका छन् । त्यसैले एमाले नेतृत्वको गठबन्धनको पक्षमा ५१ हजार ६४१ मत देखिन्छ । यहाँ एमाले नेतृत्वको गठबन्धन १० हजार १७६ मतले अगाडि देखिए पनि सत्तारुढ गठबन्धनका उम्मेदवार घनश्याम भुसाल लामो समय एमालेको राजनीतिमा रहेको र उनको प्रभाव क्षेत्र भएका कारण पनि यहाँ एमालेको मत उनले केही काट्ने सम्भावनालाई नकार्न सकिँदैन । त्यो अवस्थामा यहाँ रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

रुपन्देही–१ मा देवदह नगरपालिका, तिलोत्तमा नगरपालिकाको ७, ८, ९, १०, ११, १२, १५, १६ र १७ वडा, ओमसतिया गाउँपालिकाको १, ३, ४, ५ र ६ वडा, रोहिणी गाउँपालिका पर्दछ ।

रुपन्देही–२ मा सत्तारुढ गठबन्धनबाट राष्ट्रिय जनमुक्ति पार्टीका केशबहादुर थापा उम्मेदवार छन् भने एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उम्मेदवार बनाएको छ ।

स्थानीय तह निर्वाचनमा यो क्षेत्र अन्तर्गतका वडामा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा यहाँ नेकपा एमालेको ३३ हजार १८७, राप्रपाको ३ हजार ९२० र जसपाको १८३ मत देखिन्छ ।

यस्तै सत्तारुढ गठबन्धनमा रहेका दल नेपाली कांग्रेसको ३४ हजार ९५९, नेकपा माओवादी केन्द्रको ३ हजार १८८, नेकपा एकीकृत समाजवादीको एक हजार ३८२ मत देखिन्छ । यहाँ राष्ट्रिय जनमुक्ति पार्टीको दुई हजार ७० मत छ । यस आधारमा सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूको मत ४१ हजार ५९९ मत हुन्छ । जबकि एमाले–राप्रपा–जसपा गठबन्धनसँग ३७ हजार २९० मतमात्र देखिन्छ ।

यो क्षेत्र अन्तर्गत बुटवल उपमहानगरपालिकाका १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ वडा पर्दछन् । यस्तै, सैनामैना नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ तथा तिलोत्तमा नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ नम्बर वडा पनि यसै क्षेत्र अन्तर्गत पर्दछन् ।

रुपन्देही–३ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका बालकृष्ण खाँण र एमाले–राप्रपा–जसपा गठबन्धनबाट राप्रपाका दीपक बोहोरा उम्मेदवार छन् ।

स्थानीय तहको मत परिणाम अनुसार यो क्षेत्रमा कांग्रेसको ३४ हजार १५३, माओवादीको २ हजार ८८१, लोसपाको २ हजार १७४, नेकपा एकीकृत समाजवादीको ९७७ र राष्ट्रिय जनमुक्ति पार्टीको एक हजार ७३६ मत छ । यस्तै, एमालेको २९ हजार ४८, राप्रपाको १३ हजार ३९७ र जसपाको ६ हजार १८३ मत छ । यस आधारमा सत्तारुढ गठबन्धन ६ हजार ७०७ मतले पछाडि देखिन्छ ।

यो क्षेत्र अन्तर्गत बुटवल उपमहानगरपालिकाको १४, १५, १६, १७, १८ र १९ वडा, मायादेवी गाउँपालिकाको ७ र ८ नम्बर वडा, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिकाको वडा नम्बर १, २, ३, ६ र ७ नम्बर वडा, शुद्धोधन गाउँपालिका, तिलोत्तमा नगरपालिकाको वडा नम्बर १३ र १४ पर्दछन् ।

रुपन्देही–४ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका प्रमोदकुमार यादव उम्मेदवार छन् । यहाँ जसपाका उम्मेदवार ओमप्रकाश यादवलाई एमाले र राप्रपाले समर्थन जनाएका छन् ।

यो क्षेत्रमा स्थानीय तहको निर्वाचन अनुसार नेपाली कांग्रेसको १५ हजार ६२७, माओवादीको ३ हजार ८०२ र नेकपा एकीकृत समाजवादीको एक हजार १९८ मत छ । यहाँ सत्तारुढ गठबन्धनकै दल लोसपा नेपालले पनि उम्मेदवारी दिएको छ । यद्यपि गठबन्धनका अन्य घटकले कांग्रेसलाई नै समर्थन जनाएका छन् । यो क्षेत्रमा राष्ट्रिय जनमुक्ति पार्टीको २५१ मत मात्र देखिन्छ ।

अर्कोतिर लोसपा नेपालको १६ हजार २२६ मत छ भने एमालेको ७ हजार ६०५ र जसपाको ७ हजार ४९७ मत छ ।

यस आधारमा यो क्षेत्रमा सत्तारुढ गठबन्धनको मत २० हजार ८७८ देखिन्छ । एमाले, जसपा र राप्रपाको कुल मत २० हजार ८०१ छ ।

यो क्षेत्र अन्तर्गत कोटहीमाई गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नम्बर २, १२ र १३, मर्चवारी गाउँपालिका, मायादेवी गाउँपालिकाको २, ३, ४, ५ र ६ नम्बर वडा, सम्मरीमाई गाउँपालिका र सियारी गाउँपालिकाको वडा नम्बर ४ र ५ पर्दछन् ।

रुपन्देही–५ नम्बर क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका भरतकुमार शाह र एमालेका वासुदेव घिमिरे उम्मेदवार छन् । यस क्षेत्रमा जसपा र राप्रपाले उम्मेदवारी नदिएका कारण ती पार्टीको मत एमालेलाई जाने देखिन्छ ।

यो क्षेत्रमा नेपाली कांग्रेसको २६ हजार ८८८, माओवादीको ४ हजार ६२५, नेकपा एकीकृत समाजवादीको एक हजार १६३ र राष्ट्रिय जनमुक्ति पार्टीको ७१८ मत छ ।

यस्तै, एमालेको २७ हजार १४५, जसपाको ९ हजार ३३७ र राप्रपाको २ हजार ८१३ मत छ । यस आधारमा यो क्षेत्रमा सत्तारुढ गठबन्धन ५ हजार ९०१ मतले पछाडि देखिन्छ ।

यो क्षेत्र अन्तर्गत सैनामैना नगरपालिकाको वडा नम्बर ५, ६, ७, ८, ९, १०, ११ वडा, कञ्चन गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नम्बर १, ३, ४, ५, ६, ७, ८, ९, १० र ११, मायादेवी गाउँपालिकाको वडा नम्बर १ र गैडहवा गाउँपालिका पर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप