बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

आयोगले रवि लामिछानेको पार्टीकी डा.तोसिमा कार्कीको उम्मेदवारी किन गर्‍यो खारेज ? (भिडियो)

आइतबार, १३ कात्तिक २०७९, १७ : ३८
आइतबार, १३ कात्तिक २०७९

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको छ । ललितपुर क्षेत्र नम्वर ३ बाट उम्मेदवार बनेकी  कार्कीमाथि लाभको पदमा बसेको भनेर आयोगमा परेको उजुरीमाथि छानविनका क्रममा उजुरी पुष्टि भएकोले उम्मेदवारी खारेज गरेको आयोगले जनाएको छ । 

कार्की नेपाल मेडिकल काउन्सिलको बोर्ड सदस्य रही लाभको पदमा कायम भएको देखिएकोले उम्मेदवारी खारेज गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।  कार्कीले २०७८ पुस २ गतेदेखि ४ वर्षका लागि नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यको रुपमा बहाल रहेको, नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यको हैसियतमा निजको कुनै मासिक तलब नहुने तर उपस्थित भएको बैठकको भत्ता र अनुगमन गर्दाको भ्रमण भत्ता उपलब्ध गराइने व्यवस्था अनुसार उनी लाभको पदमा रहेको आयोगले ठहर गरेको छ ।

उनले  मिति २०७९ वैशाख ९ गतेदेखि २०७९ भाद्र २ गतेसम्म भत्ता बुझेको पाइएको आयोगको भनाई छ । आयोगले मेडिकल काउन्सिलमा पत्राचार गरेर उनले त्यहाँबाट लाभ हासिल गरेको वा नगरेको भनेर बुझ्ने काम समेत गरेको आयोगका प्रवक्ता पौड्यालले जानकारी दिए । 

आइतबार आयोग पुगेर उम्मेदवार कार्कीले उम्मेदवारी खारेज गरेको पत्र बुझेकी छिन् भने सो निर्णय विरुद्ध अदालतमा जाने तयारी गरेकी छिन् । उनले उम्मेदवारी दिने बेला नै आफू मेडिकल काउन्सिलको सदस्य रहेको र सो पद लाभको पद हो कि हैन भन्दै आयोगमा निवेदन समेत दिएकी थिइन् । आयोगले अहिलेसम्म त्यसको जवाफ नदिई एक्कासि कारवाही गर्नु अन्याय भएको र अदालतले न्याय दिने डा.कार्कीले बताएकी छिन् ।

यता आयोगले प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा १२ को (ङ) मा भएको कानुनी व्यवस्था अनुसार उनी उम्मेदवार हुन अयोग्य देखिएकोले प्रतिनिधिसभा सदस्य ऐन २०७४ को दफा १५ को उपदफा ५ अनुसार ललितपुर क्षेत्र नम्बर ३ को उम्मेदवार हुन अयोग्य हुने निर्णय गरेको थियो । 

डा.कार्कीको उम्मेदवारी दर्ता भइसकेपछि उनको बारेमा ललितपुर ३ को निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको र सो कार्यालयले निर्णय गर्ने समय सकिएकोले उजुरी केन्द्रीय कार्यालयमा आएको प्रवक्ता पौड्यालले बताए । निजले लाभको पद धारण गरेको देखिएकोले कानुनी व्यवस्थाअनुसार आयोगले यसबारे निर्णय गरेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप