शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘सेलिब्रेटी उम्मेदवार आइसकेपछि पूर्वाधारका योजना सबै ठप्पै भए’

उदय शमशेर राणा, उम्मेदवार, ललितपुर–१, नेपाली कांग्रेस
शनिबार, १९ कात्तिक २०७९, १७ : ०१
शनिबार, १९ कात्तिक २०७९

ललितपुर क्षेत्र नम्बर १ मा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा जस्तै आसन्न निर्वाचनमा पनि मुख्य दुई प्रतिस्पर्धी नवराज सिलवाल र उदय शमशेर राणा आमने–सामने भएका छन् ।

अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा राणालाई पराजित गर्दै विजय हासिल गरेका सिलवाल पुनः उनलाई पराजित गर्ने ध्याउन्नमा छन् भने राणा सिलवालसँग बदला लिने रणनीतिमा छन् । राणा यतिबेला घरदैलोमा व्यस्त छन् । घरदैलोकै क्रममा राणासँग गरिएको संक्षिप्त कुराकानी :

अहिले चुनावी मैदानमा कुन कुन मुद्दा लिएर लिएर जनतामा जानु भएको छ

मैले उठाएको विशेष गरी पूर्वाधारको मुद्दा हो । यो बाटोमा हिँड्दै छौ । जब म २०७० सालमा निर्वाचित भए । त्यति बेला निर्माण भएको हो । पहिला यो बाटो कच्ची भएकाले धुलैधुलो थियो । मैले पिच गर्छु भनेको थिए पिच गरे । अहिले मेन्टेन हुन नसकेपछि बिग्री सकेको छ । गोदावरी नगरपालिकाका साथीहरूलाई बाटो होइन राम्रो बाटो चाहिएको छ । हालका एमाले सांसदले केही गर्न सकेनन् । नयाँ सडक बनाउने परेको कुरा पुरानो बाटो समेत पिच भएको छैन । यस क्षेत्रमा खानेपानीको पनि उस्तै अभाव थियो । स्थानीय बजेट र केन्द्रको बजेटबाट खानेपानीको समस्या टर्‍यो । 

मैले २०७० सालको चुनावमा बाटो र खानेपानीको एजेण्डा उठाएको थिए पुरा पनि गरे । बीचमा सेलिब्रेटी उम्मेदवार आइसकेपछि जुन पूर्वाधारको योजना थियो । ती सबै योजना ठप्पै भए । त्यस कारणले पनि गठबन्धनको माहौल राम्रो बन्दै गएको छ ।

यो क्षेत्र भूगोलको हिसाबले ठुलो पनि छ । यस क्षेत्रका मुख्य समस्याहरू के के छन् ?

मैले अघि पनि भनिसके । यहाँ सबैभन्दा खाँचो पूर्वाधारको छ । जसमा शिक्षा र स्वास्थ्यको गुणस्तरीय सेवा, बाटो र खानेपानीको सुविधा सबै गाउँ र टोलमा पुर्‍याउनु छ । बेरोजगारी अर्को सबैभन्दा ठुलो समस्या छ । बेरोजगारीको समस्या हल गर्न यो क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना छ । त्यसका लागि आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न सकियौ भने रोजगारी सृजना हुने परिस्थिति देखेका छौ । गोदावरी क्षेत्र अत्यन्तै सुन्दर ठाउँ हो । कृषि र फलफूलको राम्रो सम्भावना छ । त्यसलाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकता छ । बजार पनि नजिकै भएकाले त्यसबाट किसानले अत्यन्तै लाभ लिन सक्ने अवस्था छ । तर बिचौलियाका कारण जुन भाउ किसान र उपभोक्ताले पनि सस्तोमा पाउन सकेका छैनन् । त्यसका लागि सहकारीलाई परिचालन गरेर बिचौलियाहरूको मार्जिन घटाउने योजना बनाएको छु ।

तपाईंले चुनाव जित्ने आधारहरू के के हुन् ?   

मलाई जनताले २०७० मा निर्वाचित गरेपछि कति काम गरे ? उहाँ २०७४ सालमा निर्वाचित भई सकेपछि कति काम गर्नुभयो ? कामको मूल्याङ्कन गरेर मलाई यो क्षेत्रका जनताले मत दिनुहुने छ भन्ने विश्वास छ । मलाई मात्रै होइन गठबन्धनका सबै उम्मेदवारलाई समेत भोट हाल्नु हुने छ । यहाँका जनताले सेलिब्रेटीलाई होइन । झुटा नारा लगाउनेलाई होइन । इतिहास पल्टाएर दुई जनामध्येबाट मलाई जनताले चयन गर्ने छन् भन्ने विश्वास लिएको छु ।

एमाले उम्मेदवारले सर्वोच्च अदालतको परमादेश सरकार बनेपछि महँगी र भ्रष्टाचार भयो भन्नु भएको छ । यस्तो उम्मेदवारलाई जनताले कसरी भोट हालेर जिताउँछन् त ?  

उहाँहरूले भ्रष्टाचारको कुरा गर्दा हास्यास्पद हुन्छ । म चुनौती दिन्छु । एमालेका उम्मेदवारले राजनीति गरेको ५ वर्ष भयो । मैले राजनीति गरेको यो क्षेत्रमा २५ वर्ष भयो । सम्पत्ति शुद्धीकरण मार्फत २५ वर्ष अघि उहाँको सम्पत्ति कति थियो ? मेरो सम्पत्ति कति थियो ? २५ वर्षपछि त्यो सम्पत्तिलाई दाजौँ । सबै केलाएर हेरौँ कसको सम्पत्ति बढेको छ कसेको बढेको छ । त्यसबाटै सबै छर्लङ्ग हुन्छ । मैले एमालेका उम्मेदवार मात्रै होइन जो जो राजनीति गरेर सांसद र मन्त्री पदमा पुग्नु भएको छ ।   सबैलाई सम्पत्ति विवरण सार्वजनिक गर्नुस् चुनौती भयो ।

हामी राजनीति गर्ने राजनीतिककर्मीहरु सबै नेताहरू फटाहा भए भन्ने अवधारणा छ । म सबैलाई आग्रह गर्न चाहन्छु । मैले यो क्षेत्रमा राजनीति गरेको २५ वर्ष भयो । मलाई अहिलेसम्म एक जनाले पनि औला उठाएर अनियमितताको आरोप लगाउन सकेको छैन । यस्तै मिडियाका साथीहरू र विपक्ष दलका नेताहरूले समेत उदय शमशेरले भ्रष्टाचार गर्‍यो भन्न सक्दैनन् । मलाई विश्वास छ । यो क्षेत्रका मतदाताहरूले स्वच्छ छवि भएका व्यक्तिलाई निर्वाचित गर्ने छन् । हाम्रो हरि दाहालको पनि इमेज स्वच्छ छवि छ । अहिले पढे लेखेको युवाको स्वच्छ छवि भएको भ्रष्टाचार नगर्ने व्यक्तिको माग छ । त्यो मापदण्डमा हामी परेकाले गठबन्धनका हामी उम्मेदवारले भोट पाउने छौ ।

तपाईं कहिलेसम्म शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार जस्ता आधारभूत मुद्दा लिएर कहिलेसम्म जनताको बीचमा जानुहुन्छ ? 

जब आधारभूत पूर्वाधारहरू बन्दैन तबसम्म ध्यान दिनुपर्ने हुन्छ । विकास गर्ने क्रममा जति हुनुपर्ने हो त्यति हुन सकेन । निर्वाचित प्रधानमन्त्री, मन्त्री र सांसदहरू र पार्टीहरू सजग भएको भए यस्तो हुने थिएन । देशमा धेरै ठुलो राजनीतिक र सामाजिक परिवर्तन भए । तर, आर्थिक परिवर्तन र उन्नति भएको छैन । त्यसका लागि गठबन्धनका उम्मेदवारलाई भोट हालेर जनताले जिताउनै पर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप