बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं–२ को ब्याटल ग्राउण्डमा राप्रपा : काँधमा हलो, कुन्तीको होला त भलो ? (फोटो/भिडियो)

बहुमतका साथ विजय गराउने संकेत जनताले दिनुभएको छ : पोखरेल
आइतबार, २० कात्तिक २०७९, ११ : २३
आइतबार, २० कात्तिक २०७९

शुक्रबार काठमाडौं क्षेत्र नम्बर २ मा राप्रपा उम्मेदवार कुन्तीदेवी पोखरेलले गोठाटार क्षेत्रमा घरदैलो गरिन् ।  कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ अन्तर्गत रहेको सो स्थानका घरघरमा गएर उनले मत मागिन् । उनीसँगै काँधमा हलो बोकेर सोही क्षेत्रको प्रदेशसभा ‘ख’का उम्मेदवार राजु विष्ट पनि भोट मागिरहेका थिए ।

तेजविनायक चोकबाट बिहान ८ बजेदेखि साढे १२ बजेसम्म भएको घरदैलो कार्यक्रममा पोखरेलले स्थानीय जनताका कुरा सुनिन् भने आफू निर्वाचित भएमा गर्ने कामहरुको बारेमा जानकारी गराइन् । उनले स्थानीयस्तरमा देखिएका सामान्य समस्याहरु समाधानका लागि पहल गर्नेदेखि नेपाललाई भ्रष्टाचारमुक्त बनाउन नीति बनाउने, नेपाललाई हिन्दूराष्ट्र बनाउन आवाज उठाउने पनि बताइन् ।

गोठाटार तेजबिनायक चोककी कान्छी चापागाँईले जितेर सबैको भलो गर्नु भनेर उनलाई आशीर्वाद दिइन् । ज्येष्ठ नागरिकसँग राप्रपाका कार्यकर्ताहरु हिन्दु धर्म रक्षाका लागि यसपटको भोट राप्रपालाई दिन आग्रह गरिरहेका थिए । उनीहरु राप्रपालाई भोट दिनु भनेको सप्ताह लगाए सरह हुने भन्दै मतदातालाई फकाइरहेका थिए ।

कतिपय स्थानीयले टीका, माला लगाएर उम्मेदवार पोखरेल र विष्टलाई शुभकामनासमेत दिएका थिए ।

प्रदेशसभा (ख) का उम्मेदवार रहेका राजु विष्ट साँखुका स्थानीयसमेत हुन् । नेवार भाषामा पोख्त रहेका उनी नेवार समुदायको घरमा पुग्दा नेवारी भाषामा चुनाव जिताउन आग्रह गर्दै जितेर गएपछि अरु नेताहरुले जस्तो बेइमान नगर्ने बताइरहेका हुन्थे । मतदाताको नजर आफूतर्फ केन्द्रित गर्न काँधमा हलो बोकेर भोट माग्दै विष्टले जितेपछि जनताका सुखदुःखमा साथ दिने बताइरहेका थिए ।

घरदैलोका क्रममा गोठाटारकी चण्डिका श्रेष्ठले पोखरेल युवा र महिला उम्मेदवार भएकाले केही गर्नुहुन्छ कि भन्ने आशा लागेको बताउँदै जितेपछि जनतालाई नबिर्सन आग्रह गरिन् ।

स्थानीवासी बद्री गौतमले चुनाव जितेर गएपछि के गर्नुहुन्छ भन्दै उम्मेदवार पोखरेल र विष्टलाई प्रश्न गरे । गौतमले भने, ‘हामीलाई सबै दलको घोषणापत्र चाहिन्छ, उम्मेदवारको प्रतिवद्धतापत्र पनि चाहिन्छ । हामीले भोट हाल्ने कुरा त छँदैछ । तर यहाँ के गर्छु भनेर भोट माग्न आउनुभएको हो ? तपाईको व्यक्तिगत भिजन के छ ?’

जवाफमा उम्मेदवार पोखरेलले नेपाललाई हिन्दुराष्ट्र बनाउन पहल गर्ने, भ्रष्टाचार रोक्ने नीति बनाउन संसदमा गएर आवाज उठाउने बताइन् । उनले भनिन्, ‘यहाँहरुले बहुमत दिएर राप्रपालाई संसदमा पठाउनुभयो भने हामी संविधान संशोधन गरेर नेपाललाई धर्म निरपेक्ष मुलुकबाट धर्म सापेक्ष मुलुक बनाउन, भ्रष्टाचार निर्मूल गर्ने कानुन बनाउन पहल गर्नेछौँ । स्थानीयस्तरमा जनताले भोगेका समस्या समाधान गर्ने, जनताका सुख–दुःखमा साथ दिनेछु ।’

काठमाडौं क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट मणिराम फुँयाल, सत्तागठबन्धन दलबाट माओवादीकी ओनसरी घर्तीमगर, राप्रपाबाट कुन्तीदेवी पोखरेल मुख्य प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगले चुनाव प्रचार प्रसारका लागि तोकेको समय सुरु भएसँगै उम्मेदवारहरुले व्यापक रुपमा घरदैलो अभियान अगाडि बढाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्यसमेत रहेकी पोखरेल समाजसेवा र उद्यमका क्षेत्रमा क्रियाशील रहँदै आएकी छन् । काठमाडौंं क्षेत्र नम्बर २ की स्थानीय बासिन्दासमेत रहेकी उनले महानगरका २ वटा वडासँगै कागेश्वरी मनोहरानगर पालिकामा घरदैलो कार्यक्रम सुरु गरेकी छन् । घरदैलोका अवसरमा पोखरेलसँग गरिएको संक्षिप्त कुराकानी :  

तपाईले भोट मागिरहँदा यहाँका स्थानीयले के कस्तो अपेक्षा गर्नुभएको छ ?

उहाँहरुले यहाँको विकास पनि हेरिदिनुस् भन्नुभएको छ । हाम्रो सुख–दुःखमा पनि साथ दिनुस् भन्नुभएको छ । स्थानीय समस्या समाधानका लागि पहल गर्नेदेखि संसदमा गएपछि पनि गलत नीति नियम फेर्नका लागि आवाज उठाउनुस् भन्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी बहुमतका साथ आएर हिन्दुराष्ट्र पनि कायम गरिदिनुस् भन्नुभएको छ । स्थानीयवासी यो पटक राप्रपासँग एकदम उत्साहित हुनुभएको छ । माथि कौसीमा बस्नुभएका स्थानीयवासी तल गेटसम्म आएर हामीलाई आशीर्वाद दिइरहनुभएको छ । अहिले माहौल नै फेरिएको अवस्था छ । 

चुनाव प्रचार सुरु गरिसक्नुभएको छ, अब कुन–कुन क्षेत्रमा घरदैलो गर्दै हुनुहुन्छ ?

हामीले रुट नै बनाएर घरदैलो कार्यक्रम गरिरहेका छौँ । यो क्षेत्रमा काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ र ३२ कोटेश्वर, बानेश्वर क्षेत्र पर्छ । जुन यो क्षेत्रको प्रदेशसभा (क) अन्तर्गत पर्छ । कागेश्वरी मनोहराको ६ वटा वडा पर्छ भने शंखरापुर नगरपालिका पूरै पर्छ । दुई दिन बिराएर घरदैलो गर्ने कार्यक्रम बनाएका छौँ । 

तपाईसँगको प्रतिस्पर्धामा अन्य दलका उम्मेदवारहरु पनि छन् । उनीहरु भन्दा कुन्ती पोखरेल के कुरामा फरक हुनुहुन्छ ?

म राजनीतिक व्यक्तिका साथै युवा समाजसेवी पनि हो, उद्यमी पनि हो । समाजसेवा र उद्यम गर्दा गर्र्दै नीति बनाउने ठाउँमा पनि पुग्नुपर्ने रैछ, नत्र परिवर्तन आउने रहेनछ भन्ने मलाई अनुभूति भयो । हो, मसँग प्रतिस्पर्धामा  अन्य दलका उम्मेदवार पनि हुनुहुन्छ तर उहाँहरु पटकपटक सत्तामा पुगिसक्नुभएको छ । नीति निर्माण गर्ने ठाउँमा पुगिसक्नुभएको छ तर उहाँहरुले परिवर्तन ल्याउन सक्नुभएन । गलत नीति निर्माण गर्नुभयो । विकास केही पनि हेर्नुभएन । चुनाव जितेर गएपछि यो क्षेत्रका स्थानीयको सम्पर्कमा आउनै सक्नुभएन । त्यसकारण अन्य उम्मेदवारभन्दा म धेरै कुरामा फरक छु ।

युवाहरुको भावना बुझ्ने म युवा प्रतिनिधि हुँ । बेरोजगारी समस्यालाई मैले राम्रोसँग बुझेको छु । म आफै उद्यमी पनि हुँ । उद्यमहरु किन बन्द भइरहेका छन्, त्यो पनि मैले बुझेको छु । 

तपाई निर्वाचित हुनुभयो भने के गर्नुहुन्छ ? आफू निर्वाचित भएमा के गर्ने एजेण्डा बनाउनुभएको छ ?

म सांसद भएमा मेरो मुख्य काम नीति निर्माण गर्नेमै जान्छ । नीति निर्माण सँगै काठमाडौँ क्षेत्र नम्बर २ को विकासको काम पनि हेर्छु । किनभने यो क्षेत्रमा चुनाव जितेर जाने सांसदहरु कहिल्यै पनि फर्किएर आएनन् । जस्तै यो कागेश्वरी मनोहरा क्षेत्रमा खानेपानी, ढल निकास लगायतको समस्या कायमै छ । हामी सांसद भइसकेपछि यहाँका सानातिना समस्या समाधान गर्न पहल गर्नुपर्छ । यहाँको म नेता भइसकेपछि त्यस्ता समस्या समाधानका लागि हेरिदिनु पनि पर्छ ।

यस्तै शंखरापुरको माथिल्लो भागको बाटोको अवस्था हेर्दा घरघरमा बाटो पनि गएको छैन । यस्ता कुरा पनि म राम्रोसँग हेर्नेछु । काठमाडौं क्षेत्र नम्बर २ मा युवा बेरोजगारी हटाउनका लागि म राम्रोसँग ध्यान दिनेछु । यसअघि नेपालका ४० जिल्लामा युवा सशक्तिकरण गर्ने काममा म लागेको थिएँ । जिते वा हारे मलाई मतलव छैन तर विशेषतः यो ५ वर्षमा यो क्षेत्रलाई निरन्तर हेर्नेछु । यहाँका जनताले राप्रपाप्रति जुन भरोसा गर्नुभएको छ, त्यसले मैले चुनाव जित्नेछु । यो क्षेत्रका कोही पनि युवा बेरोजगार बस्नु नपरोस्, मेरो मुख्य एजेण्डा त्यो हुन्छ । दुई छाक खान, आफ्ना बालबच्चा पढाउन कोही पनि दुबई, कतार जानु नपर्ने अभियानमा छु ।

मेरो एजेण्डाको एक नम्बर बुँदामै मैले भ्रष्टाचार उन्मुलन गर्ने विषय राखेको छु । भ्रष्टाचार गरेर देशद्रोह गर्नेलाई मृत्युदण्ड नै दिनुपर्छ भन्ने मेरो मान्यता छ । भ्रष्टहरुलाई जेलमा राखेर पाल्दा पनि खर्च हुन्छ, तिनीहरुलाई किन पालेर राख्ने ? उनीहरुलाई मृत्युदण्डको व्यवस्था हुनुपर्छ । बलात्कारी, भ्रष्टाचारीलाई किन पालेर राख्ने ? उनीहरुलाई मृत्युदण्डको कानुन बनाउनुपर्छ भन्ने मेरो एजेण्डा हो ।

यसबाहेक मेरा अन्य धेरै एजेण्डा छन् । ज्येष्ठ नागरिकलाई वृद्ध भत्तादेखि शिक्षा, स्वास्थ्य, रोजगारी लगायत छन् । शिक्षा क्षेत्रमा जति बजेट परिचालन गरिएको छ, त्यसको सही परिचालन भयो भनेमात्रै हाम्रा बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिन सकिन्छ ।

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप