बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटलग्राउन्ड काठमाडौँ–९ : कृष्णगोपाललाई गठबन्धनको डर, कल्पनालाई गठबन्धनकै भर

मङ्गलबार, २२ कात्तिक २०७९, ०९ : ५२
मङ्गलबार, २२ कात्तिक २०७९

नेकपा एमालेका स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ सातौँ पटक संसदीय निर्वाचनमा होमिएका छन् । काठमाडौँ क्षेत्र नम्बर ९ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका श्रेष्ठ २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । 

आफूलाई बलियो उम्मेदवारको रूपमा दाबी गर्दै आएका श्रेष्ठले विगतमा गरेको कामको आधारमा आफ्नो जित सुनिश्चित भएको बताउने गरेका छन् । यद्यपि २०७४ सालकोजस्तो सजिलो जित भने यो पटक पक्कै पनि छैन । किनकि, २०७४ मा उनले वाम गठबन्धनको बलमा चुनाव जितेका थिए भने अहिले एमाले समेत विभाजित भइसकेको अवस्था छ । 

२०७४ सालको निर्वाचनमा श्रेष्ठले नेपाली कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई ८ हजार ५० मतले पराजित गरेका थिए । श्रेष्ठले २२ हजार ८५२ र रञ्जितले १४ हजार ८०२ मत पाएका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने उनी रञ्जितसँग श्रेष्ठ पराजित भएका थिए । त्यो बेला रञ्जितले १४ हजार ४८३ पाएका थिए भने श्रेष्ठले १३ हजार १०० मत पाएका थिए । 

श्रेष्ठ पञ्चायती व्यवस्था विघटनपछि काठमाडौँमा लगातार सातौं पटक संसदीय निर्वाचन लड्ने नेता हुन् । उनी २०४८, २०५१ र २०७४ सालका निर्वाचनमा विजयी भएका थिए भने २०५६ को संसदीय, २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा पराजित भएका थिए ।

काठमाडौँ–१५, बल्खुका स्थायी बासिन्दा श्रेष्ठको आफ्नो निर्वाचन क्षेत्रमा राम्रो पकड मानिन्छ । उनी पटकपटक मन्त्री बनिसकेका छन् । वन तथा वातावरण मन्त्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, युवा तथा खेलकुद मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री, शहरी विकास मन्त्री र शिक्षा मन्त्री भइसकेका उनी अब अन्तिम पटक चुनाव लड्न लागेको बताउँछन् । 

‘यो मेरो लागि अन्तिम निर्वाचन हो । त्यसपछि म संसदीय र निर्वाचनको प्रक्रियामा सहभागी हुन्न, नयाँ पिढीलाई सहयोग गर्छु,’ उनले भने । 

उनको प्रतिस्पर्धीको रूपमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी पोलिट्ब्यूरो सदस्य तथा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख कल्पना धमला मैदानमा छिन् । काठमाडौँ–९ मा माओवादी केन्द्रको पकड कमजोर रहेकाले उनलाई बढी चुनौती देखिन्छ ।  

२०५६ सालमा अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय सदस्यका साथै छात्रा विभाग प्रमुख बनेकी धमला २०५७ मा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रीय सचिव बनेकी थिइन् । 

माओवादीको युद्धमा जनमुक्ति सेनाको कम्पनी सह–कमिसार रहेकी उनी २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा धादिङको साविक क्षेत्र नं. २ बाट निर्वाचित भएकी थिइन् । २०६८ सालमा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा  विज्ञान तथा प्रविधि मन्त्री बनेकी उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने पराजित भएकी थिइन् । 

उनको यो तेस्रो पटकको प्रतिस्पर्धा हो । यो पटक उनलाई माओवादीले काठमाडौँ–९ बाट प्रतिनिधिसभा सदस्यमा उठाएको छ । हाल काठमाडौँको चन्द्रागिरि–१५ तीनथानाकी स्थायी बासिन्दा धमलाले ‘जनयुद्ध र महिला मुक्ति आन्दोलन’ पुस्तक प्रकाशित गरेकी थिइन् । 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यो क्षेत्रबाट दलगत रूपमा वडाअध्यक्षहरूको मत हेर्दा नेपाली कांग्रेस पहिलो छ । कांग्रेसले १९ हजार ९१६, एमालेले १९ हजार २८२, तत्कालीन विवेकशील साझा पार्टीले ४ हजार ९४६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ हजार ४०१, नेपाल मजदूर किसान पार्टी (नेमकिपा) ले ७१६, र माओवादी केन्द्रले ६९५ र नेकपा समाजवादीले ४६५ मत पाएका थिए ।

साझा पार्टीबाट मिलन पाण्डे पुनः चुनावी मैदानमा छन् । २०७४ सालको निर्वाचनमा विवेकशील साझा पार्टीबाट उठेका उनले ४ हजार ९४६ मत पाएका थिए । यो पटकको निर्वाचनमा पनि एमाले र गठबन्धनका दुवै उम्मेदवारलाई पाण्डेको डर छ । निर्वाचनमा १२ राजनीतिक दलका र १० जना स्वतन्त्र गरेर २२ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

धमला यतिबेला चुनावी अभियानको क्रममा घरदैलो कार्यक्रममा व्यस्त छिन् । दैनिकजसो मतदाताको घरदैलोमा गएर आफ्ना प्रतिबद्धता र मतदाताका समस्या तथा गुनासा सुन्दै आएकी छिन् । 

आइतबार दिउँसो उनी जैशीदेवल, लगन लगायतका क्षेत्रका मतदाताकहाँ पुगेकी थिइन् । त्यो क्रममा मतदाताहरूले उनलाई थुप्रै खालका समस्याबारे अवगत गराएका थिए । यतिमात्र नभएर चुनाव जितेपछि नफर्किने प्रवृत्तिबारे समेत सचेत गराएका थिए ।   

जवाफमा धमलाले आफ्नो पाँच वर्षे एजेण्डा नै जनताका समस्या समाधान गर्ने रहेको बताउँदै ती समस्या समाधान गर्नतिर लाग्ने बताइन् । उनको चुनावी अभियानमा नेपाली कांग्रेसका पूर्व सांसद ध्यानगोविन्द रञ्जित र पूर्व राज्यमन्त्री तीर्थराम डंगोलले साथ दिइरहेका छन् । जसले गर्दा पनि उनी यो चुनावप्रति निकै उत्साहित छिन् ।  

उनले आफ्नो क्षेत्रलाई पाँच वर्षमा सांस्कृतिक सहर र आधुनिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने बताइन् । देशको परिवर्तनको आन्दोलनमा आफूले धेरै लगानी गरेको भन्दै जनताको मुक्तिको लागि सधैँ लड्दै आएको उनले बताइन् । 

उनले प्रतिस्पर्धी कृष्णगोपाल श्रेष्ठको तुलनामा आफ्नो बढी योगदान रहेको बताइन् । ‘यो देशको परिवर्तनको आन्दोलनमा मैले धेरै लगानी गरेकी छु । उहाँ कर्मचारीको फिल्डबाट अवसरका लागि आउनुभयो, म मेरो बाल्यकालदेखि नै यो देशको सेवामा समर्पित भएर देशको, जनताको मुक्तिको निम्ति लडेर आएको हुँ, त्यसकारण म सक्षम छु,’ उनले भनिन् ।  

उनले आफू माओवादी केन्द्रको भन्दा पनि गठबन्धनको साझा उम्मेदवार भएको बताइन् । ‘म काठमाडौँ क्षेत्र नम्बर ९ को पाँच दलीय गठबन्धनको साझा उम्मेदवार हुँ । त्यसो हुँदा गठबन्धनको टिम यो क्षेत्रमा सशक्त छ, बलियो छ, यसर्थ म मेरो टिमको विजय सुनिश्चित छ,’ उनले भनिन् । 

नेकपा एमाले उम्मेदवार श्रेष्ठले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । विगत पाँच वर्षमा आफूले गरेको काम र जनतामाझ गरेको प्रतिबद्धताका आधारमा जनताले पुनः निर्वाचित गराउनेमा आफू ढुक्क रहेको बताए । 

२/४ दिनको प्रचार प्रसारको क्रममा एमालेको पक्षमा जनताहरूको अपार माया र विश्वास रहेको उनको भनाइ छ । आगामी मंसिर ४ पछि जनतामा एमालेको सरकारको सरकार आओस् भन्ने चाहना रहेको भन्दै त्यो पूरा हुने दिशामा रहेको बताए । 

मुलुक बनाउने जिम्मेवारी आम नेपालीको रहेको भन्दै उनले राष्ट्र निर्माण र देश बनाउन सबै मिलेर अगाडि बढ्नुपर्ने बताए । ‘ती सबै मतदाता मेरा परिवार हुन्,’ उनले भने, ‘उहाँहरूले जे फैसला गर्नुहुन्छ, म त्यो स्वीकार गर्छु । प्रतिस्पर्धामा म कसैलाई पनि अपमान र गालीगलौज गर्न चाहन्न । उहाँहरूलाई म सम्मान गर्न चाहन्छु ।’

यो मेरो अन्तिम चुनाव हो, अर्को पटक युवालाई अवसर दिन्छौँ

कृष्णगोपाल श्रेष्ठ 

नेकपा एमाले उम्मेदवार 

चुनावी अभियानको क्रममा हुनुहुन्छ । मतदाताको कस्तो प्रतिक्रिया पाउनुभएको छ ? 

२/४ दिनको प्रचार प्रसारको क्रममै नेकपा एमालेको पक्षमा जनताको अपार माया, विश्वास, श्रद्धा र आकर्षण देखिन्छ । जनता नेकपा एमालेको पक्षमा भोट हाल्न आतुर देखिन्छन् । उनीहरू मंसिर ४ को प्रतीक्षामा छन् । त्यसपछि नेकपा एमालेको एकल सरकार आओस् भन्ने जनताहरूको चाहना देखिन्छ ।

मुलुकले हराएको भूभागलाई नक्सामा प्राप्ति मात्र गर्न सकेको छ, नक्सामा प्राप्त गरेको भूभागलाई व्यवहारमै प्राप्त गर्न नेकपा एमालेको सरकार अपरिहार्य छ । 

जनताले ५ वर्षका लागि एमालेलाई म्याण्डेड त दिएको थियो । बीचैमा संसद् विघटन गर्नुभयो । अहिले फेरि एमालेलाई भोट दिँदा फेरि संसद् विघटन गर्ने पो हो कि भन्ने छ नि ? 

संसद् विघटन गर्ने पनि संविधानले दिएको एउटा अधिकार नै हो । त्यो कसैको रहरले गर्ने कुरा होइन । समय, काल र परिस्थितिले त्यस्तो स्थिति सिर्जना हुँदा त्यो ठाउँमा पुग्नुपर्छ भनेर संविधानले नै व्यवस्था गरेको छ । 

नेकपा एमालेलाई त्यो बेला पनि दुई तिहाई बहुमत थिएन । माओवादीसँग मिलेर सरकार बनाएको थियो । जब त्यो सरकार गठनकै क्रममा नकारात्मक सन्देश दियो, त्यसलाई व्यवस्थापन गर्न हामीले धेरै मेहनत गर्‍यौँ । संविधानले नै २ वर्षसम्म मध्यावधि निर्वाचन गर्न नपाउने भनेर सरकार धेरै अप्ठ्यारो अवस्थामा रह्यो । 

२ वर्षपछि नै सरकार ढाल्ने षड्यन्त्र भयो । यो अस्थिरताकै बीचमा सरकार स्थिरता र दिगो विकासका लागि ताजा जनादेशमा जानु त्यो कुनै प्रतिगमन होइन । जब सरकार चल्नै नसक्ने र चल्नै नदिने खालको अवस्था सिर्जना भएपछि स्वाभाविकै रूपमा त्यो परस्थितिको माग थियो । त्यही बेला निर्वाचनमा जान सकेको भए मुलुकले सकारात्मक कोर्ष लिइसक्थ्यो । तर, त्यो कुरालाई उल्टाउने काम गर्‍यो, त्यसपछि मुलुकमा विकृति, विसंगति प्रारम्भ भयो । 

अबको यो चुनाव भनेको मुलुकलाई कुशासनमा लैजाने कि सुशासनमा लैजाने भन्नेबीचको हो । त्यसैले मंसिर ४ मा जनताले कुशासन रूचाउँदैनन्, सुशासनसहितको व्यवस्था चाहने हुन् । मुलुकलाई समृद्ध बनाउन बलियो सरकारको खाँचो छ । नेकपा एमाले, त्यसमा पनि केपी ओलीबाट मात्र सम्भव छ । जनताले अहिले कठोर संकल्प, अठोट लिएको पाएको छु । त्यसैले सूर्यमा भोट हाल्न जनता आतुर छन् । नेकपा एमालेको सरकार हेर्न हतार गरिरहेको मैले पाएको छु । 

अघिल्लो पाँच वर्षमा तपाईंले के कस्ता प्रतिबद्धता पूरा गर्नुभयो ? 

लगभग लगभग बाचाभन्दा पनि बढी नै स्थानीय विकास र जनताका समस्याका समाधानका लागि अन्य राजनीतिक दल र विचारको साथ समर्थन लिएर अगाडि बढेको हो । निर्वाचनको क्रममा हामी अगाडि पछाडि हौला । तर, विकासको राष्ट्र निर्माणको अभियानमा सबै मिलेर अगाडि बढ्नुपर्छ । 

गएको निर्वाचनमा पाँच वर्षे म्याण्डेट दिए पनि खासगरी तीन वर्ष जतिमात्रै काम गर्न पायौं । कोरोना महामारीका कारण ठप्पै थियो । त्यस्तो प्रतिकूलता बाबजुद पनि जनताको सेवाका लागि अनवरत रूपमा खट्ने काम भयो । त्यसैले हाम्रो क्षेत्रमा धरहरादेखि दहचोकको भ्यूटावर, कालुपाण्डे समाधिस्थलसम्म हेर्दा हिजोको ९ नम्बरको क्षेत्र र आजको ९ नम्बरको क्षेत्रमा नयाँ परिवर्तन मतदाताहरूले महसुस गरिरहेका छन् । 

त्यसै आधारमा पनि हाम्रो परीक्षा हामीले पाँच वर्षमा गरेका कामको आधारमै मतदाताहरूले न्याय दिन्छन् भन्ने मलाई विश्वास छ । 

अघिल्लो ५ वर्षमा गरेको कामको आधारमा मतदाताले भोट दिनेमा तपाईं विश्वस्त हुनुहुन्छ, अबको पाँच वर्षे एजेण्डा चाहिँ के हुन् ? 

राष्ट्रियताको सन्दर्भमा मुलुकलाई समृद्धिको दिशातर्फ लिएर जानका लागि र मुलुकलाई विकास र प्रगतिमा अगाडि बढाउनका लागि हाम्रो पार्टीले जारी गरेको २० ग्यारेन्टीलाई पूरा गर्नको लागि पनि नेकपा एमालेको सरकार अपरिहार्य छ । त्यो पूरा गर्न नेकपा एमालेको सरकार बनाउन मतदाताहरू आतुर छन् । 

अबको पाँच वर्षको सन्दर्भमा काम गर्दा गर्दै धेरै काम बाँकी छन् । ती बाँकी रहेका काम गर्नुपर्ने छ । सुरूङ मार्गको युगमा एमाले सरकारले लगेको थियो । अहिले त्यो काम ठप्प छ । जति पनि राष्ट्रिय गौरवका आयोजनाहरू नेकपा एमालेको केपी ओली नेतृत्वको सरकारले अघि बढाएका थिए, ती सबै योजनाहरू अहिले लगभग लगभग ठप्पको अवस्थामा छन् । 

गठबन्धनको सरकारले जनतालाई देखाउने केही कार्यक्रम छैनन् । तर, हामीले तीन वर्षको अवधिमा मुलुकलाई हेर्न सकिने, अनुभव गर्न सकिने खालको विकास गरेका छौँ । 

स्थानीय तहमा हाम्रो क्षेत्रमा बाटाघाटा अपूर्ण अवस्थामा छन् । खानेपानी, शिक्षा, स्वास्थ्यका योजना अपूरा छन् । ठाउँ ठाउँमा योजनाबद्ध विकासको अभाव छ । कति ठाउँमा नयाँ बाटाहरू खुलेका छन् । ती पूरा गर्नका लागि पनि मलाई मत दिनुपर्छ र मतदाताले भोट दिन्छन् । 

तपाईंको प्रतिस्पर्धीको रूपमा गठबन्धन देखिएको छ । अर्कोतिर स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । यस्तो अवस्थामा कसरी मूल्यांकन गर्नुभएको छ ? 

पहिला त दलको विकल्प दल नै हुन्छ । दलको विकल्प कुनै व्यक्ति वा स्वतन्त्र हुँदैन । २०४६ सालको आन्दोलन त्यसै गरेका होइनौं । धेरै नेपाली सपूतले बलिदान दिएर प्राप्त गरेको मल्टीपार्टी सिस्टम हो । कसैको निगाह र दयामा आएको होइन । 

यसरी लडाइँ लडेर, रगत बगाएर रगतसँग साटेको व्यवस्था हो । यसकारण हामी निर्दल स्वीकार गर्न सक्दैनौं । अहिले स्वतन्त्र भनेको निर्दल हो । परिस्थितिमा अपवादको रूपमा केही छिटफुट स्वतन्त्र भएका छन् । त्यसलाई सबै राजनीतिक दलले सोच्ने हो । हामी राजनीतिक दलले पनि सोच्ने हो । 

भोलिका दिनमा यो कुरालाई व्यवस्थित गर्दै जानेछौं । यो निर्वाचन प्रणालीमा स्वाभाविकै रूपमा दलीय प्रतिस्पर्धा हुन्छ । यसलाई निष्पक्ष रूपमा लिने, हार्दिकता पूर्वक प्रतिस्पर्धामा जाने र मंसिर ४ पछि एउटा निर्णय जनताले गर्नेछन् । 

कसैप्रति मेरो बैरभाव पनि छैन, कसैप्रति मेरो आरोप पनि छैन । म सबै राजनीतिक दल र मेरो प्रतिस्पर्धीहरूलाई सम्मान गर्छु । किनभने भोलि जितिसकेपछि उहाँहरू सबैको सहयोग लिएर मैले काम गर्ने हो । कसैको आलोचना, टिप्पणी र विरोध गरेर अगाडि बढ्नु छैन, त्यसको कुनै अर्थ पनि रहँदैन । ९ नम्बर क्षेत्रका जनताले मलाई जसरी आजसम्म माया गरेर यहाँसम्म पुर्‍याएका छन्, यो निर्वाचनमा पनि त्यसरी नै हार्दिकतापूर्वक माया गर्छन् भन्ने मैले विश्वास लिएको छु । 

मंसिर ४ पछि देशैभर सूर्य उदाउने छ । हामी जितमा अहंकार पनि गर्दैनौं । हारमा निराश पनि हुँदैनौं । त्यसैले जित्दा दम्भ घमण्ड गर्नु पनि छैन । जित्नेले हार्नेको माया पनि लिनुपर्छ । हार्नेले जित्नेलाई सहयोग गर्नुपर्छ । यो क्षेत्रका जति पनि उम्मेदवार छन्, ती सबैलाई सम्मान गर्छु । देश त सबैले मिलेर बनाउने हो । एकले अर्कोलाई निषेध गरेर देश बन्दैन । 

राष्ट्र निर्माण र देश बनाउनको लागि सबै मिलेर अगाडि बढ्नुपर्छ । ती सबै मतदाता मेरा परिवार हुन् । उहाँहरूले जे फैसला गर्नुहुन्छ । म त्यो स्वीकार गर्छु । प्रतिस्पर्धामा म कसैलाई पनि अपमान र गालीगलौज गर्न चाहन्न । उहाँहरूलाई म सम्मान गर्न चाहन्छु । 

तपाईं सातौँ पटक चुनाव लड्न खोज्दै हुनुहुन्छ । देशभर अब युवा उठ्नुपर्छ भन्ने लहर नै चलिरहेको छ । तपाईंले अब नयाँलाई पालो दिनुपर्दैन ? 

हाम्रो पार्टीका धेरै जना युवा उम्मेदवार हुनुहुन्छ । अब हाम्रो क्षेत्रमा मेरो व्यक्तिगत इच्छाभन्दा पनि मेरो पार्टीको निर्णय र फैसला प्रमुख हुन्छ । पार्टीले यो पटक जितिरहको एमपी भएको हुनाले यो एक पटक तपाईं नै अगाडि बढ्नुपर्छ भनेर फैसला गरेपछि मैले तयार हुनुपर्‍यो । 

अर्को कुरा भनेको निर्वाचनमा कुन उमेरको, युवा र वृद्ध भन्ने हुँदैन । देश र जनताको पक्षमा कसले कस्तो भूमिका खेल्छ भन्ने कुरा प्रधान हुन्छ । युवाहरूलाई राजनीतिमा आकर्षण पनि गर्नुपर्छ । उनीहरूलाई क्रमिक रूपमा देशको बागडोर उनीहरूको हातमा सुुम्पिनुपर्छ । त्यसैले होला म आफै पनि भनिरहेको छु, यो मेरो लागि अन्तिम निर्वाचन हो । यसपछि म संसदीय र निर्वाचनको प्रक्रियामा सहभागी हुँदैन र नयाँ पिढीलाई सहयोग गर्छु । 

त्यसका लागि पनि यो निर्वाचनमा नेकपा एमालेले जित्ने, त्यसपछि भोलिका दिनमा युवाहरूको भविष्य सुनिश्चत गर्ने । ५ वर्ष जनताको जसरी सेवा गरेँ, अबको निर्वाचनमा पनि त्यसरी नै सहयोग गर्नुहुन्छ भन्ने मैले विश्वास लिएको छु । 

म मालिक बन्नका लागि यो निर्वाचनमा आएको छैन । विगतको ५ वर्ष जसरी जनताको सुख, दुःखमा साथ दिएँ । अबको ५ वर्ष पनि जनताको सेवक बनेर बस्ने ईच्छा छ ।  

म गठबन्धनको साझा उम्मेदवार हुँ, मेरो जित सुनिश्चित छ

कल्पना धमला उम्मेदवार, प्रतिनिधिसभा सदस्य (माओवादी केन्द्र) 

चुनावी अभियान कसरी चलिरहेको छ । मतदाताहरूको कस्तो खालको प्रतिक्रिया पाइराख्नुभएको छ ? 

घरदैलो अभियान सुरू भएको छ । भेटघाटमा व्यस्त छौं । मतदाताको सन्तोषजनक प्रतिक्रिया छ । सँगै अर्को खबरदारी पनि छ, विगतमा गरेको छलछाम, षड्यन्त्रका विरुद्ध त्यस्तो नहोस् भनेर खबरदारी गरिरहेका छन् । त्यसकारण मैले प्रतिबद्धता जाहेर गरिरहेकी छु, म ढाँट्ने छैन र जनताको साथ छोड्ने छैन । 

चुनावी अभियान अन्तर्गत घरदैलोका क्रममा के कस्ता समस्या पाउनुभयो ? 

पहिलो त जनताले राजनीतिक स्थायित्व, संविधानको रक्षा, विकास, सुशासन लगायतका राजनीतिक एजेण्डा कार्यान्वयन होस् भन्ने अपेक्षा गरेका छन् । युवाहरूको शिक्षा, स्वास्थ्य खेलकुदको बारेमा आजका आवश्यकता जस्ता विषयमा विकास होस् भन्ने चाहना छ । 

तपाईंले कस्ता खालका एजेण्डा अघि सार्नुभएको छ ? 

काठमाडौँ क्षेत्र नम्बर ९ फरक खालको विशेषता भएको भूगोल छ । एकातिर लिच्छविकालीन, मल्लकालीन सभ्यताको विकास भएका ठाउँहरू छन् । अर्कोतिर आधुनिक नेपालको सुरूवात भएका क्षेत्र छन् । भाषा, संस्कृति, गुठी, क्लब, धार्मिक स्थलहरू, मठमन्दिरहरूको संरक्षण गर्नुपर्ने अवस्था छ । यसलाई ऐतिहासिक सहरको रूपमा विकास गर्ने लक्ष्य मैले लिएकी छु । 

अर्कोतर्फ आधुनिक जलाधार क्षेत्रको विकास गर्ने, जंगली भूभागहरूलाई पर्यटकीय क्षेत्रमा विकास गर्ने, नेपालको पहिलो सुरूङमार्ग पनि यही क्षेत्रमा बनिरहेको छ । त्यसलाई युवाहरूको रोजगारी र उद्यमशीलतासँग जोड्नेगरी ट्रमा सेवासुविधासहितको सम्पन्न अस्पताल निर्माण गर्ने लक्ष्य मैले लिएको छु । काठमाडौँको क्षेत्र नम्बर ९ को हकमा शिक्षाको क्षेत्रमा एउटा सरकारी स्कूललाई बुढानिलकण्ठको मोडलमा सञ्चालन गर्ने, स्वास्थ्यको क्षेत्रमा ट्रमासहितको सुविधासम्पन्न सरकारी अस्पताल सुरूङ मार्गको मुखमा निर्माण गर्ने, सुविधासम्पन्न ल्याबसहितको घुम्ती अस्पताल समेत निर्माण गर्ने योजना छ । 

शिक्षा, स्वास्थ्य, पर्यटनको क्षेत्रमा नयाँ मोडल देखाउने । एकातिर सांस्कृतिक सहर, अर्कोतिर आधुनिक पर्यटकीयस्थल निर्माण गरेर देखाउने, मुख्यगरी नागढुंगा कलंकी नाकालाई व्यवस्थित गर्ने, खानेपानी, ढल निकास, बाटो लगायतका काम छन्, यी कामहरूलाई पनि सँगै अगाडि लैजाने योजना छ । 

तपाईंको प्रतिस्पर्धीको रूपमा ‘हेभीवेट’ उम्मेदवार हुनुहुन्छ । उहाँसँगको प्रतिस्पर्धालाई सहज लिनुभएको छ ? 

म हेभिवेट भनेर मान्न तयार छैन । उमेरको हिसाबले भन्नुभएको हो भने हो, ८/१० पटक चुनाव लडेका हिसाबले भन्नुभएको हो भने हो, तर अहिलेको राजनीतिक मुद्दा, आजको आवश्यकता, मैले गरेको राजनीतिक इमानदारिता, मेरो आँट, साहस उहाँसँग तुलना गर्नै मिल्दैन । 

म ५० वर्षभन्दा तलको युवा हुँ । म महिलाको मुद्दामा सक्षम छु, आजको आवश्यकताअनुसार मुद्दा बोक्न सक्छु, म भ्रष्टाचार गर्ने छैन, म ढाँट्ने छैन, म छल्ने छैन र मेरो जीवनमा म ६० वर्षपछि प्रत्यक्ष निर्वाचनमा आउने, सांसद् हुने, मन्त्री हुने कुनै लक्ष्य छैन । त्यसकारण म उहाँभन्दा धेरै सक्षम व्यक्ति हुँ । यो देशको परिवर्तनको आन्दोलनमा उहाँले भन्दा मैले धेरै लगानी गरेकी छु । उहाँ कर्मचारीको फिल्डबाट अवसरका लागि आउनुभयो, म मेरो बाल्यकालदेखि नै यो देशको सेवामा समर्पित भएर देशको, जनताको मुक्तिको निम्ति लडेर आएको हुँ, त्यसकारण म सक्षम छु । 

स्थानीय तहमा वडाअध्यक्ष पाएको मत हेर्ने हो भने माओवादी केन्द्रले निकै कम पाएको थियो । यसरी हेर्दा तपाईंको जित्ने सम्भावना कसरी देखियो ?

त्यो मत हेरेर को ठूलो, कसको मत कति भनेर भएन । आजको राजनीतिक आवश्यकता हो । संविधानको रक्षा गर्ने प्रश्न छ । राजनीतिक स्थायित्वको प्रश्न छ । विकास र समृद्धिको, सुशासनको युग सुरू गर्ने कुरा छ । त्यसो हुँदा यो हाम्रो गठबन्धनको म साझा उम्मेदवार हुँ । म माओवादी पार्टीको मात्र उम्मेदवार होइन । मेरो निर्वाचन चिह्न म रहेको माओवादी पार्टीको भएको हुनाले गोलाकारभित्रको हँसिया हथौडा हो । तर, म माओवादी पार्टीको प्रतिनिधि होइन, म काठमाडौँ क्षेत्र नम्बर ९ को पाँच दलीय गठबन्धनको साझा उम्मेदवार हुँ । त्यसो हुँदा गठबन्धनको टिम यो क्षेत्रमा सशक्त छ, बलियो छ, यसर्थ म मेरो टिमको विजय सुनिश्चित छ । 

विगतका निर्वाचनमा उम्मेदवारले चुनाव जितेपछि न मतदाताकहाँ जाने, न त आफ्ना प्रतिबद्धता पूरा गर्ने गरेको थिए । तपाईं मतदाताहरूलाई कसरी विश्वस्त पार्नुहुन्छ ? 

म यही कुरालाई चुनौती दिन चाहन्छु । विगतमा हामीभन्दा अगाडि निर्वाचित भएका प्रतिनिधिहरूले गरेको झुटो आश्वासन र उनीहरूले गरेको बाचाको भागेदार म हुने छैन र म काठमाडौँ क्षेत्र नम्बर ९ का जनसमुदायकाबीचमा इमानदार भएर सबैका घरघरमा पुग्नेछु । उहाँहरूले बनाउनुभएको योजना लिएर जानेछु र म लाग्नेछु । विगतको त्यो विरासत तोड्नका निम्ति म यहाँ आइरहेको छु । म जनताको शासक होइन, म जनताको साथी भएर अगाडि बढ्ने प्रण गरेकी छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप