शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देही–२ : थापालाई ‘ट्रान्सफर’ होला सहयोगी घटकको मत ?

‘ह्याट्रिक’ गरेका विष्णुप्रसाद पौडेललाई आफ्नैको भर
मङ्गलबार, २२ कात्तिक २०७९, १२ : १८
मङ्गलबार, २२ कात्तिक २०७९

नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णप्रसाद पौडेल पछिल्ला तीन महिना चुनाव लक्षित कार्यक्रममा व्यस्त छन् । सरकारले चुनावको मिति घोषणदेखि नै आफ्नो प्रतिस्पर्धी को होलान् भन्ने चासोका साथ नियालिरहेका पौडेललाई ठुला पार्टीबाट प्रतिस्पर्धी नरहनु सुखद् पक्ष देखिन्छ ।

यद्यपि, लोकतान्त्रिक-वाम गठबन्धनको साथमा राष्ट्रिय जनमुक्ति पार्टीका केशव थापाले पौडेललाई टक्कर दिँदैछन् । जसले गर्दा यहाँको चुनाव झन् चाखलाग्दो बन्न पुगेको छ । रुपन्देही क्षेत्र नम्बर २ मा ‘ह्याट्रिक’ गरेका पौडेल र २५ वर्षदेखि जनमुक्ति पार्टीको विभिन्न तहमा काम गर्दै केन्द्रीय कार्यकारी अध्यक्ष बनेका थापा अहिले मतदाताको घरदैलो चहारिरहेका छन् ।

पौडेल एमालेको संगठन बलियो भएको र आफूले बुटवलमा धेरै विकास गरेकाले जित्ने  दाबी गर्दछन् । थापा पनि लोकतान्त्रिक-वाम गठबन्धनमा रहेका दलको साथ राम्रोसँग पाएकाले आफू जित्नेमा आशावादी छन् ।​पौडेलले काली गण्डकी तिनाउ डाइभर्सनदेखि बुटवल–गोरुसिङ्गे सडक फोर लेनसम्मका विकास परियोजना सञ्चालन गर्ने भन्दै मत मागेका छन् ।

पौडेल आफूले रुपन्देहीमा थुप्रै विकास गरेको दाबीसहित जनताले आफूलाई फेरि पनि पत्याउनेमा विश्वस्त छन् । गठबन्धनको साथ पाएका थापाले आफू नयाँ प्रतिस्पर्धी भए पनि गठबन्धनको साथ पाएकाले क्षेत्रको विकासका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने दाबी गरे ।

उनले बुटवललाई वृहत्तर महानगरपालिका बनाउने उद्देश्यसहित यहाँको भौतिक पूर्वाधारदेखि शिक्षा, स्वास्थ्यमा छुट्टै पहिचान गराउने बताए । धेरै सम्भावना भएको क्षेत्र भएकाले आफूले उद्योग, पर्यटन र कृषिलाई मुख्य आधार बनाएर विकास गर्ने लक्ष्य रहेको थापाको भनाइ छ ।

सहयोगी घटकको मत ‘ट्रान्सफर’ हुनेमा आशंका

यो क्षेत्रमा एमालेलाई राप्रपा र जसपाले सघाएका छन् । अर्कोतिर राष्ट्रिय जनमुक्ति पार्टीलाई नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीले सघाएका छन् । यद्यपि, पौडेललाई राप्रपा र जसपाको मत ट्रान्सफर नभए पनि खासै चिन्ता छैन तर थापालाई भने कांग्रेस, माओवादीको मत ट्रान्सफर नहुने हो कि भन्ने चिन्ता देखिन्छ ।

संगठनको हिसाबले गठबन्धनका उम्मेदवार थापाको पार्टी निकै कमजोर देखिन्छ । त्यसैले कांग्रेसका मतदाताले चुनावी समीकरणलाई कसरी हेरिरहेका छन् भन्ने महत्त्वपूर्ण हुने देखिन्छ । एमाले भने आफ्नो उम्मेदवार ‘हाइ प्रोफाइल’को रहेको तथा अन्य प्रमुख दलका उम्मेदवार नरहेको फाइदा आफूलाई हुने आकलनमा छ ।

एमाले युवा नेता बाबुराम पन्थीले एमाले उम्मेदवार विष्णु पौडेलले विगतमा गरेको कामकै आधारमा अन्य दलबाट पनि उनको पक्षमा मत आउनेमा विश्वस्त छन् । यता गठबन्धनका साझा उम्मेदवार थापाले आफूलाई सहयोगी सबै दलको मत प्राप्त हुने दाबी गर्छन् । नेपाली कांग्रेसका क्षेत्रीय सचिव प्रजा पाल गिरीले मतदाता शिक्षा सञ्चालन गरी थापाको पक्षमा मत दिन कार्यकर्तालाई सर्कुलर गरिने बताए ।

मतदाताका आफ्नै समस्या

सोमबार बिहान एमालेका उम्मेदवार विष्णु प्रसाद पौडेल, प्रदेशसभाका उम्मेदवार लीला गिरी लगायत नेताहरू बुटवल उपमहानगरपालिका वडा नम्बर ७, दीपनगरमा घरदैलो कार्यक्रममा थिए ।

शिवालय टोलकी यमकला गिरीले नेताहरू अघिपछि नआउने तर चुनावका बेलामा हात जोड्दै आउने गरेको प्रतिक्रिया दिइन् ।

आफ्नो एक तले घरको अगाडि रहेको नालीतिर देखाउँदै उनले रातोपाटीसँग भनिन्, ‘जाबो एउटा नालीको समस्या समाधान गर्न नसक्नेहरुले अरू ठुला विकास के गर्लान् ?’

सोही टोलका यमलाल पुरी वैदेशिक रोजगारमा लामो समय बसेर हालै नेपाल आएका रहेछन् । उनले आफूहरू जस्ता धेरै युवा विदेशिनु परेको तर नेताहरूले स्वदेशमा रोजगारी दिने वातावरण कहिल्यै तयार नपारेको गुनासो गरे ।

बुटवल उपमहानगरपालिका–५ सिद्धार्थ क्याम्पस पछाडि सुकुमबासी टोलमा सन्तोष थापाले बनाएको घर गत वर्ष स्थानीय सरकारले हटाइदियो । अहिले उनीहरू बुटवलको रामकृष्ण टोलमा भाडामा बस्ने गर्दछन् । दैनिक मजदुरी गर्दै आएका सन्तोष र उनकी श्रीमती पनि उम्मेदवारहरुका प्रतिबद्धताप्रति खासै चासो राख्दैनन् । आफूहरुका लागि बस्ने बासको व्यवस्थासमेत गर्न नसकेकाहरुबाट के अपेक्षा गर्नु भन्ने उनीहरुको प्रश्न छ ।

सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका केशव थापा सोमबार बुटवलको चिडिया खोलातिरको सुकुमबासी टोलमा मत माग्न गएका थिए । उनले आफ्नो मुख्य एजेन्डा  नै सुकुमबासी समस्या समाधान गर्ने रहेको बताए ।

एमाले नेता पौडेलले पटकपटक सुकुमबासी समस्या समाधान गर्ने प्रतिबद्धता निर्वाचनमा जनाउँदै आएका थिए । अहिले पनि उनले आफ्नो प्रतिबद्धतापत्रमा सुकुमबासी समस्या  छिटै समाधान गर्ने उल्लेख गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप