शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अन्य देशलाई सन्तुलनमा राखेर चीनबाट फाइदा लिन सुझाव

बिहीबार, २४ कात्तिक २०७९, १५ : ०१
बिहीबार, २४ कात्तिक २०७९

चीनले गरेको गरिबी निवारणबाट नेपालले पनि फाइदा लिनुपर्ने सरोकारवालाहरूले सुझाव छन् । नेपालले सबैसँग सन्तुलन सम्बन्ध राख्दै चीनबाट पनि भरपुर फाइदा लिनु पर्ने सुझाव उनीहरूले दिएका हुन् ।

गरिबी निवारणमा विश्वमै चीन एक नम्बरमा परेको बताउँदै उनीहरूले चीनले गरिबी निवारण तथा विकास निर्माणमा गरेको प्रगतिले अमेरिका लगायत पश्चिमा देशहरू आश्चर्यमा परेको जिकिर गरे । चिनियाँ कम्युनिस्ट पार्टीको हालै सम्पन्न २० औँ महाधिवेशनको अवसरमा नेपाल‐चीन मैत्री मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले चीनले गरेको विकासको प्रशंसा गर्दै त्यसबाट नेपालले पनि फाइदा लिनुपर्ने सुझाव दिए ।

कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले गरिबी निवारणमा चीनले अभूतपूर्व प्रगति गरेको उल्लेख गर्दै यो त्यहाँको राज्यले गरेको कुशल व्यवस्थापनले सम्भव भएको धारणा राखे । चीनले गरिबी निवारणमा गरेको प्रगतिलाई अध्ययन, अनुसन्धान गरी नेपाल पनि सोही अनुसारको काम गर्नुपर्ने सुझाव उनले दिए । उनले भने, ‘चिनियाँ कम्युनिस्ट पार्टीले सम्पन्न गरेको २० औँ महाधिवेशनपछि चयन भएका पदाधिकारीहरूले चीनलाई झन् प्रगतितर्फ अगाडी बढाउने विश्वास सबैले लिएको छ ।’ 

अर्थ राजनीतिलाई चीनले फरक ढङ्गले अगाडी बढाइरहेको बताउँदै उनले कृषिमा पनि चीनले उत्कृष्ट काम गर्दै कृषिमा आधुनिकीकरण र बजारीकरणले विश्वमै नमुना बनेको बताए । कृषिमा मात्र होइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि चीन विश्वमै अग्रस्थान लिइरहेको उनको भनाई थियो । उनले यातायातको सञ्जाल, टेक्नोलोजीलगायतमा पनि उच्चतम प्रगति गरेको र यसबाट नेपालले पनि लाभ लिनुपर्ने बताए । चीनले यी सब काम आफ्नो बलबुतामा गरेको र यसबाट नेपालले पनि शिक्षा लिनुपर्ने उनले बताए । 

चीन र नेपालीबीच सन् १९५५ देखि औपचारिक सम्बन्ध भएपनि अनौपचारिक सम्बन्ध धेरै पुरानो रहेको उनले बताए । अरनिको कला र सीपलाई लिएर नेपाल–चीनबीच सम्बन्ध झन् बलियो भएको बताउँदै उनले चीनमा अरनिको शालिक हेर्दा नेपाली जनतालाई गर्व लागेको बताए । उनले भने, ‘नेपालको सार्वभौमसत्ता र स्वाभिमानलाई चीनले सधैँ सम्मान गरेको छ ।’

कार्यक्रममा वाम विश्लेषक श्याम श्रेष्ठले चीनले आर्थिक रूपमा विकास मात्र गर्दै अमेरिकालाई पनि पछाडि पारेको धारणा राखे । ‘चीनको अवस्था हेर्दा त्यहाँ गरिबी निवारण गर्ने अवस्था थिएन । तर छोटो समयमा त्यहाँको गरिबीलाई करिब–करिब शून्यमा झारेको छ,’ उनले सुनाए । चीनले ९५ प्रतिशतलाई स्वास्थ्य बीमा गराएको कारण विश्व आश्चर्यचकित भएको उनको धारणा थियो । 

चीनको शान्त, भद्र र अहस्तक्षेपकारी विदेश नीति नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षाकवच भएको उनले दाबी गरे । विकास निर्माण तथा हरेक क्षेत्रमा गरेको प्रगति हेर्दा चीन समाजवादी बाटोमा लागिसकेको महसुस गर्न सकिने उनले बताए । 

चीनले अघि सारेको बीआरआई परियोजनाले नेपाललाई कुनै हानी नगर्ने बताउँदै उनले बीआरआईलाई अमेरिकाले विवादास्पद बनाएको दाबी गरे । उनले भने, ‘चीनको विकासबाट पश्चिमाहरू तर्सिए जसरी नेपाल तर्सिनु हुँदैन ।’

चीन र अमेरिकाबीचको प्रतिस्पर्धाबाट जोगिएर नेपालले शान्त र सन्तुलित परराष्ट्र नीत अख्तियार गरेर चीनबाट फाइदा लिन सकिने उनले तर्क गरे । ‘चीन जति विकसित हुन्छ, नेपाललाई त्यसबाट त्यति फाइदा हुन्छ, चीनले अघि सारेको बीआरआईबाट नेपालले भरपुर फाइदा लिनु पर्छ,’ उनले सुझाव दिए । चीनले कूटनीतिलाई आक्रामक ढंगबाट अगाडी बढाउने बताएको र त्यसबाट नेपालले फाइदा लिनुपर्ने सुझाव दिँदै उनले चीनको विकासबाट पश्चिमा देशहरू तर्सेको र त्यसबाट नेपाल सचेत भएर अगाडी बढ्नुपर्ने बताए ।

अर्का वाम विश्लेषक झलक सुवेदीले पनि चीनले अघि सारेको ‘साझा समृद्धि’ को अवधारणाबाट नेपालले फाइदा लिनुपर्ने सुझाव दिए । २० औँ महाधिवेशनको उपलब्धि नै राष्ट्रपति सी जिनपिङले गरिब र धनीबीचको खाडल पुर्नु रहेको बताए । राष्ट्रपति सीले चीनमा समतामूलक समाज बनाउने अभियान चलाएका छन्, त्यो अभियान महाधिवेशनपछि झन् सशक्त हुने उनले बताए । चीनले सबै देशसँग सन्तुलन सम्बन्ध राखेर चीनसँग विशेष फाइदा लिनुपर्ने धारणा राखे । 

मञ्चका अध्यक्ष कल्याणराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा काठमाडौँ युनिभर्सिटीका डा. उद्धव प्याकुरेलले चीनले गरेको प्रगतिबाट विश्व आश्चर्यचकित मात्र नभएर उसले गरेको विकासको अनुसरण पनि गर्न थालेको बताए । ‘चीनले गरेको विकासका कारण त्यो देश पुँजीवादमा फस्ने हो कि पश्चिमाहरूको आँकलन थियो तर उल्टो भयो, चीनले गरेको विकास समाजवादतर्फ अघि बढेको छ,’ उनले भने ।

नेपाल खुल्ला विश्व विद्यालयका प्राध्यापक डा. खगेन्द्र प्रसाईंले चीनले अघि सारेको परियोजनाबाट नेपालले फाइदा लिन सक्यो भने त्यो सरकारले नेतृत्व गर्ने प्रधानमन्त्रीले चुनावमा दुई तिहाइ बहुमत ल्याउन सक्ने विश्लेषण गरे ।

तर चीनले नेपालमा गरेको प्रगतिलाई अमेरिका र भारतले चुनौतीको रूपमा लिएको उनको विश्लेषण थियो । चीन र अमेरिका बीचमा रहेको शत्रुताको सम्बन्धबाट नेपाल अलग रहनु पर्ने सुझाव दिँदै उनले भने, ‘चीन र नेपालको सम्बन्धले विश्व द्वन्द्वमा फँस्नुहुँदैन ।’ नेपाल र चीनबीचको सम्बन्ध हाइड्रोपावर, पुल, सडक निर्माणमा सीमित मात्र नभएर विश्वमा पनि आफ्नो प्रभाव देखाउने खालको होस् भन्दै उनले द्वन्द्वमा रहेको विश्वबाट सुरक्षित रहनका लागि नेपाल–चीन सम्बन्ध बलियो बनाउनु पर्ने सुझाए । 

चीनसँग नेपालले काम गर्दा भारतले के सोच्छ पहिला त्यो ख्याल गर्नुपर्ने अवस्था रहेको पनि चेतावनी दिए । उनले भने, ‘पछिल्लो समय नेपालमा थुप्रै प्रोजेक्टहरू सुरु भयो तर बिस्तारै बिस्तारै ती सबै ससपेन्ड हुन लागेका छन् किन त्यसको बारेमा पनि गन्थन मन्थन हुन आवश्यक छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप