शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उम्मेदवारसँग खुसी छैनन् मतदाता, पुरानो पूरा नहुँदै नयाँ एजेण्डा !

गठबन्धनलाई बागी र एमालेलाई अन्तर्घातकै डर
शुक्रबार, २५ कात्तिक २०७९, १५ : ३९
शुक्रबार, २५ कात्तिक २०७९

कास्की–२ का मतदाताले अघिल्लो निर्वाचनमा उम्मेदवारहरूले अघि सारेका एजेण्डा पूरा हुनुपर्नेमा जोड दिएका छन् । पुरानो एजेण्डा पूरा नहुँदै फेरि नयाँ एजेण्डा बोकेर आएको भन्दै कतिपय मतदाताले असन्तुष्टि पोखेका छन् ।

आसन्न मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारहरूले मत माग्न घरदैलोलाई तीव्रता दिइरहेका बेला उनीहरूले यस्तो बताएका हुन् । पोखरा महानगरपालिका वडा नम्बर २० भलामका विष्णुप्रसाद बास्तोलाले नेताहरु घरदैलोमा आएर झूटा आश्वासन बाँड्ने गरेको गुनासो गरे । उनले नेताको झूटा कुरा सुन्न मन नभएको भन्दै बरु चिसोमा घाम तापेर बसेको बताए ।  ‘नेता आउँछन् त्यही पुराना कुरा दोहो-याउने हुन् । विकासका नाममा अनुभूति गर्न सक्ने केही छैन’, ८३ वर्षीय उनले भने ।  उनले आफूले ६–७ पटक मतदान गरिसकेको भएपनि नेताले जनताको पक्षमा केही गर्न नसकेको बताए । ‘कति झुटा आश्वासन सुनौँ भनेर दिनभरि घाम तापेर फर्केको,’ उनले भने, ‘ यसपालि भोट दिन जाने मन पनि छैन । उम्मेदवार पनि चिन्दिनँ ।’

विष्णुप्रसादकै साथी इन्द्रबहादुर दमाई पनि यो निर्वाचनमा खुसी छैनन् । उनले पनि उम्मेदवारको विषयमा प्रश्न उठाए । ‘जितेर जान्छन् तर गाउँमा गत वर्ष ठूलो पहिरो गएर जनधनको क्षति हुँदासमेत नेता राहत लिएर आएनन्,’ उनले भने, ‘नेता भनेको त दुः सुखमा साथ दिने हुनुपर्छ । दुःख पर्दा पनि नआएपछि भोट हालेर किन जिताउने ?’

उनले नेताले विकास निर्माणको सवालमा पनि काम गर्न नसकेको सुनाए । ‘पुरानै एजेन्डा पुरा भएन । नयाँ के सुनौं’, उनले भने,  ‘हामीले त दुःख पायौं नेताले गर्दा छोराछोरीले पनि दुःख पाउने भएँ ।’

मुख्य बजारबाट पोखरा २० भलाम पुग्न मोटरे बल सडकबाट  पौने घण्टा लाग्छ । तर, सडक पूर्वाधार र खानेपानी अझै सुगम छैन । स्थानीयका अनुसार वडा जोड्न मोटर बल पुल निर्माण गर्ने पुरानै वाचा पुरा हुन सकेको छैन । यो सडक नेताहरुले सवारी पनि लान नमिल्ने गरी भत्किएको छ ।

कास्की २ मा एमालेबाट निवर्तमान संघीय सांसद विद्या भट्टराई र गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बराल प्रतिस्पर्धामा छन् । बराल आम निर्वाचनमा पहिलो पटक उम्मेदवार बनेका हुन् भने एमालेकी भट्टराई दोस्रो पटक चुनावी प्रतिस्पर्धामा छिन् । एमाले फुटेर एकीकृत समाजवादी बन्दा बराल माधव नेपालतिर लागे भने भट्टराई एमालेमै बसिन् ।  यसरी पूर्वसहकर्मीबीच प्रतिस्पर्धा हुँदैगर्दा कास्की २ को निर्वाचन रोचक देखिएको छ । 

भलाम प्रदेशसभा तर्फ २ (२) मा पर्छ । यो क्षेत्रमा एमालेबाट निवर्तमान प्रदेश सांसद मीना गुरुङ र गठबन्धनबाट कांग्रेसका विन्दु थापा चुनावी मैदानमा छन् । थापा यसअघि सोही क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । एमालेकी गुरुङ भने यसअघि समानुपातिकबाट गण्डकी प्रदेशसभा निर्वाचित सांसद हुन् । यो क्षेत्रमा अन्य दल र स्वतन्त्रबाट उम्मेदवारी परे पनि मुख्य प्रतिस्पर्धी गुरुङ र थापाबीच देखिएको छ ।

गठबन्धनलाई बागी र एमालेलाई अन्तर्घातकै डर 

एमालेकी उम्मेदवार भट्टराई ०७६ को उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । सोही क्षेत्रबाट ०६४, ०७०, ०७४ को तीनवटै निर्वाचनमा एमालेका नेता रवीन्द्र अधिकारीले चुनाव जितेका थिए ।

०७६ मा तत्कालीन पर्यटनमन्त्रीसमेत अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचनबाट पत्नी भट्टराई सोही क्षेत्रबाट उम्मेदवार बनेर निर्वाचित भएकी थिइन् ।  

यता गठबन्धनको साथ पाएका बराल बलियो आत्मविश्वासका साथ मैदानमा छन् ।  भट्टराईलाई एमालेको विरासत जोगाउन र बराललाई नयाँ विरासत कायम गर्न चुनौती छ । एमाले उम्मेदवार भट्टराईलाई अन्तर्घात र गठबन्धनका बराललाई बागी उम्मेदवारको चुनौती समेत छ ।  बरालविरुद्ध कांग्रेसका पुराना नेता महादेव गुरुङले उम्मेदवारी दिएका छन् । उनले  बरालको भोट काट्न सक्ने गठबन्धन दलका नेताहरु बताउँछन् ।

यस्तै भट्टराईका लागि भने अन्तरघातका साथै प्रतिस्पर्धी सहकर्मीहरुले पूर्वसहकर्मी बराललाई भोट दिन सक्ने एमाले नेताहरु नै बताउँछन् । ‘२ नम्बर एमालेको विगतदेखिएको गढ हो । तर, एउटै व्यक्तिले  बारम्बार चुनावमा टिकट पाउँदा केही सहकर्मी साथीहरु खुलेर नलागेको अवस्था छ,’ एमाले ती नेताले भने, ‘श्रीनाथ पूर्वसहकर्मी भएकाले एमाले नेताकार्यकर्तासँग  चिनजान छ । त्यो चिनजानको हिसाबले भट्टराईको मत काटिन सक्छ ।’

विगतको मतपरिणाम

कास्की २ मा पोखरा महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ गरी ११ वटा वडा पर्दछन् । यीमध्ये गत स्थानीय निर्वाचनमा ६ वडामा कांग्रेसले र ५ वटा वडामा एमालेको जितेको थियो । यस्तै पोखरा महानगरपालिको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका थिए ।

यस्तै ०७६ को उपनिर्वाचन भट्टराईले २४ हजार तीन सय ९४ मत ल्याएर विजय हासिल गरेकी थिइन् । भट्टराईका प्रतिस्पर्धी कांग्रेसका खेमराज पौडेलले १५ हजार ९ सय ९९ मत प्राप्त गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप