बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानका जनता ‘विश्वकै सबैभन्दा जटिल’ भोकमरी सङ्कटमा

शुक्रबार, २५ कात्तिक २०७९, २२ : २८
शुक्रबार, २५ कात्तिक २०७९

तालिबानले अफगानिस्तानमाथि कब्जा लिएदेखि नै अफगानिस्तानमा ‘विश्वकै सबैभन्दा ठूलो र गम्भीर भोकमरी’को सङ्कट देखिएको छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले एक प्रतिवेदनमा अफगानिस्तानमा विश्वकै विकराल भोकमरीको समस्या रहेका जनाएको छ । एफएओले सन् २०२२ मा अफगानिस्तानमा थप खाद्य असुरक्षा बढेको जनाएको हो । 

खामा प्रेसका अनुसार लामो खडेरी, द्वन्द्व र राजनीतिक अस्थिरताका कारण भोकमरीको समस्याले दुई करोड २८ लाख मानिस प्रभावित भएका छन् । यो कूल जनसङ्ख्याको आधाभन्दा बढी हो । “मार्च २०२२ सम्ममा अफगानिस्तानका जनताले विश्वको सबैभन्दा ठूलो र सबैभन्दा गम्भीर भोकमरी सङ्कटको सामना गरिरहेका छन् । लामो खडेरी, द्वन्द्व, राजनीतिक अस्थिरता र कोभिड–१९ का कारण जनसङ्ख्याको आधाभन्दा बढी  अर्थात् दुई करोड २८ लाख मानिस प्रभावित भइरहेको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनले सन् २०२२ मा तीव्र खाद्य असुरक्षामा तीव्र वृद्धिका साथै एशिया र प्रशान्त क्षेत्रको आर्थिक, वातावरणीय र विकासका मुद्दाहरूलाई पनि उजागर गरेको छ ।  यसबाहेक काबुलका बासिन्दाले देशमा आर्थिक सङ्कटका कारण खाद्यान्नको मूल्य बढेकोमा पनि चिन्ता व्यक्त गरेका छन् । 

काबुलका बासिन्दा रहमानुल्लाले भने, ‘खाद्यान्नको मूल्य बढेको छ । मानिसहरूले मासिक एक बोरा पीठो पनि किन्न पनि कठिनाइ भइरहेको छ ।’ यसैबीच विश्व खाद्य कार्यक्रमले पनि अफगानिस्तानको आर्थिक सङ्कटबारे चिन्ता व्यक्त गरेको छ । 
भूकम्प र बाढीजस्ता अभूतपूर्व आर्थिक कठिनाइ र वातावरणीय विपत्तिको एक वर्षको सङ्घर्षपछि अफगानिस्तानका जनता अर्को कडा जाडोको सामना गर्न पहिलेभन्दा कम तयार रहेको डब्लुएफपीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

डब्लुएफपीको मूल्याङ्कनअनुसार १० घरधुरीमध्ये नौ घरधुरीले आफ्नो खाद्य आवश्यकता पूरा गर्न सक्दैनन् । ‘यो अफगानिस्तानका लागि तत्काल आवश्यकताको समय हो । चार दशक लामो द्वन्द्व, जलवायु सङ्कट, कोभिड–१९ र सामाजिक–आर्थिक सङकटका कारण विगत एक वर्षमा देशभरिका मानिसहरू रोजगारी र जीविकोपार्जनबाट बञ्चित भएका छन्,’ अफगानिस्तानका लागि इयूका कार्यवाहक राजदूत रफाएला आयोडिसेले भने ।

‘पहिले सहज रूपमा दुई छाक खान सक्षम मानिसहरूले अहिले अभावका कारण पेट भर्न संघर्ष गरिरहेका छन् र यस नयाँ वास्तविकतामा उनीहरूलाई स्थिर राख्न मद्दत गर्न मानवीय एजेन्सीहरूमा फर्किरहेका छन् । हामी विशेष गरी अति जोखिममा रहेको अफगानिस्तानको जनसङ्ख्या जोखिममा रहेकाहरूलाई सहयोग गर्न प्रतिबद्ध छौं ।’

अफगानिस्तानमा बढ्दो सङ्कटले साना उद्यमहरूलाई सबैभन्दा बढी असर पारेको छ र निजी कम्पनीहरूले बिक्रीमा कमी र उत्पादनहरूको लागि उपभोक्ताको मागमा भारी गिरावटको कारण आफ्ना आधाभन्दा बढी कर्मचारीहरूलाई कामबाट निकालेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप