बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मेरा प्रतिस्पर्धी छैनन्, मै चुनाव जित्छु : जुली महतो

शनिबार, २६ कात्तिक २०७९, १८ : ४१
शनिबार, २६ कात्तिक २०७९

जुली कुमारी महतो धनुषा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचनको प्रतिस्पर्धामा छिन् । नेकपा एमालेकी पोलिटब्यूरो सदस्य समेत रहेकी महतो उच्च घरानिया परिवारकी सदस्य हुन् ।

उनी रघुवीर महासेठकी धर्मपत्नी र व्यवसायी उपेन्द्र महतोकी बहिनी हुन् । महतोसँग चुनावी प्रतिस्पर्धामा छन्, अनिल झा । तर, महतोले झा लाई आफ्नो प्रतिस्पर्धी नै मानेकी छैनन् । धनुषामा हाम्रा सहकर्मी रोहित दाहालले जुलीसँग गरेको कुराकानीको सम्पादित अंश :

कस्तो चलिराछ चुनाव प्रचार अभियान ?

चुनाव प्रचार तीव्र गतिमा अघि बढाएका छौँ । जनता उत्साहित भएका छन् । जनताकहाँ पुगेर मतदाताहरूसँग आशीर्वाद लिने काम गरिरहेका छौ । उहाँहरु धेरै उत्साहित हुनुहुन्छ । यो क्षेत्रमा मेरो हैन, आफ्नो उम्मेदवारी बुझेर जनताले आफ्नो काम अघि बढाएका छन् । 

तपाई यसअघि पनि निर्वाचनमा सहभागी हुँदै आउनुभएको थियो, त्यसमा र अहिलेको चुनावमा केही फरक पाउनुभएको छ ?

पहिलेको निर्वाचनमा मैले चुनाव लड्दा मेरो क्षेत्रका जनता धेरै उत्साहित थिए । मैले प्राविधिक कारणले चुनाव हारेको थिएँ । मेरो धेरै बदर मत भएको थियो । अहिले पनि जनता डराएका छन्, जनताको मतले जिते पनि बदर मतको कारणले समस्या हुन्छ कि भन्ने सबैको मनमा चिन्ता छ । अहिले हामी सबै मत बदर हुन नदिने गरी ध्यान लगाएर चुनाव प्रचारमा लागेका छौँ ।

पहिला प्राविधिक कारणले उप–विजेता बन्नुभयो, त्यो कारण भनेको एकै घरबाट दुई जना उम्मेदवार बन्दा नतिजा प्रतिकुल आयो भन्छन् नि ? 

त्यस्तो त मलाई लाग्दैन । किनभने, मेरो काम गर्ने आफ्नो घर जस्तै क्षेत्रलाई बुझेको छु । परिवारबाट भए पनि उहाँ (रघुवीर महासेठ)को आफ्नो बिचार र लगनशीलता छ । घरमा परिवार एउटा हुन्छ तर, काममा गएपछि आफ्नो आफ्नो लगनशीलता छ । अघिल्लो चुनाव मैले १४ सय मतले हारेको थिएँ, मेरो बदर मत १८ सय थियो । अरू केही मत अन्य चिन्हमा गयो । दुई–तीनवटा बुथमा विपक्षीले कब्जा गरेका थिए । 

परिवारमा त एकै परिवारमा दुई जना डाक्टर पनि हुन्छन् । एकै परिवारमा श्रीमान् एसपी र पत्नी डिआईजी पनि हुन्छन् । एकैजनाले मात्रै काम गरेर हुँदैन । आ–आफ्नो काम आफूले गर्नुपर्छ । अहिले जनताले त्यसमा मतलब गरेका छैनन् । अहिले मेरो बास जनकपुरमा छ, उहाँको बास महेन्द्रनगरमा हुन्छ । हामी बास नै छुट्टै बस्छौँ । 

एमालेको पोलिटब्यूरो सदस्य भएको हुनाले देशकै पनि नेतृत्व गर्ने ठाउँमा छु । मेरो दायित्व देशभरका कार्यकर्ता र जनताको समस्या सुन्नुपर्ने हुन्छ । म सधैँ ‘परिवारवाद’को जवाफ दिँदै आएको छु । कहिलेसम्म मेरो परीक्षा चल्छ ? यो क्षेत्रमा मेरो १७ वर्षदेखि लगानी छ । मैले १७ वर्षदेखि यो क्षेत्रको जनतासँगै छु । महिला भएकै कारण मैले पारिवारिक परीक्षा दिइरहेको छु ।

मैले जनतालाई समय दिएर नै राजनीतिमा लागेको हुँ ।

दुई जना मध्ये एक जना मात्रै चुनावमा जाँदा परिणाम सकारात्मक आउला भनेर पनि आलोचना भएको हुनसक्छ नि, हैन ?

तपाईले चिन्ता लिनुभयो, मलाई खुसी पनि लागेको छ । चुनावमा जनता र कार्यकर्ता लड्ने हुन् परिवारले लड्ने होइन । पाँच वर्षमा हुने निर्वाचन कार्यकर्ता र जनताले लड्छन् नेता त अग्रपङ्क्तिमा पार्टीको विचार लिएर लाग्ने हो । विचारको लडाइँ हो, कुन नेताले विकास गरेको छ र जनताको दुःख पर्दा साथ दिएको छ त्यो अभिभावकत्व निभाउने हो । तर, चुनाव लड्ने खट्ने काम जनता र कार्यकर्ता लड्छन् । समयको अभावले नेताहरू सबैतिर पुग्न सक्दैनन् ।

स्थायी समिति सदस्य (रघुवीर महासेठ)लाई सोध्ने बिचार थियो, उहाँ जनकपुर बाहिर हुनुहुँदो रहेछ, खास गरी तपाईहरुको परिवारभित्रको कारणले एमालेमा मधेसी नेताहरू टिक्दैनन् भन्ने आरोप छ ? यसमा तपाईको भनाइ के छ ?

राजनीति आस्था र बिचारको कुरा हो । राजनीति सेवा हो कि पेसा हो भन्ने कुरा पहिला व्यक्तिले निर्क्योल गर्न सक्नुपर्छ । कुन दलले के उद्देश्य र लक्ष्य बोकेको छ भनेर हेर्नुपर्छ । कुन सरकारको बेलामा कत्ति काम भयो, राष्ट्रिय स्वाभिमान बचायो कि बचाएन भनेर हेर्नुपर्छ । पछाडि परेको वर्ग उठाउने उद्देश्य बोक्ने कि इगो बोक्ने भन्ने कुराले निर्भर गर्छ । हाम्रो उद्देश्य जनताको सेवा र समृद्ध नेपाल बनाउने हुनुपर्छ । जुन हाम्रो पार्टीको मूल उद्देश्य हो, समृद्ध नेपाल सुखी नेपाली । यदि त्यो बोकेर हिँडेमा कुनै परिवारवाद हुँदैन । त्यसमा प्रभु शाह र रघुवीर महासेठ आउने कुरा हुँदैन । आरोपको लागी आरोप लगाएर अर्थ हुँदैन । हामी सेवक हौँ देश संवृद्ध बनाउन लागौँ ।

तपाईहरुमा कुन त्यस्तो औषधी छ, जसले केपी ओली प्रभावित भएर बारम्बार टिकट दिनुहुन्छ ?

के म मात्रै बारम्बार चुनाव लडेको छु ? पदमा गएको छु ? काम गरेपछि बिचमै हटाउन मिल्छ ? हिजो ०५६ देखी म जिल्ला कमिटीमा लागेर काम गर्दै पोलिटब्यूरो सदस्यमा पुगेको छु । संविधान लेख्ने मौका पनि पार्टीबाट पाएँ । हाम्रो संवैधानिक व्यवस्था अनुसार मैले अवसर पाएर काम नगरेको भए चार्ज लगाउन ठिक हुन्थ्यो होला । तर, १७ वर्षदेखि निरन्तर म जनताको बिचमै छु ।

तपाई उपेन्द्र महतोको बैनी, रघुवीरको धर्मपत्नी हुनुहुन्छ उहाँको वर्गमा जुन तपाईहरु हुनुहुन्छ , तपाईले भुईँ वर्गको प्रतिनिधित्व गर्न सक्नुहुन्छ ?

उपेन्द्र महतो कहाँबाट आए ? सबैका दाइ बैनी हुन्छन् । म जुली हैन ? मैले कर्म गरेको छैन ? मेरो नामबाट मलाई जनताले चिनेका छैनन् र ? सिराहामा जन्मेर मैले कर्मभूमि धनुषालाई बनाएँ । उपेन्द्र महतो मेरो दाइ हुनु नराम्रो कुरा हो र ? दाइले स्कुल र अस्पताल बनाइदिनु भएको छ । मेरो कुरा म जुन ठाउँमा छु, त्यसमा जनताले केही कम्प्लेन गरेका छन् र ? ३ महिले बच्चालाई छाडेर मैले राजनीति गरेँ । कुनै पदमा नहुँदा पनि धनुषाको हरेक वडामा गएको छु, फिल्डमा खटिएको छु । मलाई यहाँको माटोले चिनेको छ । हरेक बुहारीसँग भेटेर कुरा सुनेको छु ।

तपाईका प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवारलाई कत्तिको चुनौती मान्नुभएको छ ?

मेरो प्रतिस्पर्धी कुन गठबन्धनका हुन जनताले चिनेका छैनन् । जनताले गठबन्धन बुझेका छैनन् । जनताले दुःख सुखमा कसले काम गरेको छ भन्ने थाहा पाएको देखेको छ । मेरो जिल्लाको स्वाभिमान कसले बचाएको छ भन्ने जनताले थाहा पाएका छन् । गठबन्धन नेताहरूलाई मात्रै थाहा छ । धेरै नेताहरू क्षेत्र छाडेर अर्को क्षेत्रमा लाग्नुभएको छ, मैले उहाँहरुलाई आभार प्रकट गरेको छु । पुरानो चुनाव लड्ने नेताहरू अहिले मेरो क्षेत्रमा छैनन्, यहाँ मेरो नै आवश्यकता छ । अनिल झा मेरो प्रतिस्पर्धी नै होइनन्, मेरो उम्मेदवारी जनताको उम्मेदवारी हो । जनताले मेरो उम्मेदवारीलाई उनीहरूको आफ्नो उम्मेदवारी बुझेका छन् ।

अनिल झा लाई पर्यटक उम्मेदवार भन्न तपाईलाई सजिलो हुन्छ ?

त्यो जनताले भन्छन् । जनताले के चाहेका छन् भन्ने कुरा मङ्सिर ४ मा मतदानमार्फत व्यक्त गर्नेछन् । 

चुनाव जित्नेमा कत्तिको ढुक्क हुनुहुन्छ ? 

जनता सचेत छन् । यो जित मेरो होइन, जनताको जित हुन्छ । जनताको जित सुनिश्चित छ । जनताले आफ्नो उम्मेदवारी आफैँ दिएका हुन् । म जित्नेमा ढुक्क छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप