बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनले दिएको जिम्मेवारी ‘ए वान’ ढङ्गले सम्पन्न गर्छु : झलनाथ खनाल

सोमबार, २८ कात्तिक २०७९, १२ : १५
सोमबार, २८ कात्तिक २०७९

इलाम क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा इलाम क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका प्रत्यक्षतर्फका उम्मेदवार झलनाथ खनालसँग रातोपाटीले गरेको निर्वाचनसम्बन्धी कुराकानी :

–निर्वाचनको मिति घोषणा भएपछि जिल्ला र क्षेत्र नै पनि छोडेको अवस्था देखिएन, किन अलि कमजोर भएर कि, के हो ?

म योबीचमा लामो समय बिमारी भएँ । बिमारी भएका कारण आफ्ना क्षेत्रका जनता, कार्यकर्ताहरूसँग यहाँका पार्टीहरूसँग राम्ररी कुराकानी गर्न पाएकै थिइनँ । पहिलो बिमारी, पछि निर्वाचन घोषणाभएपछि डेङ्गुले छोयो, अनि आचारसंहिता जबसम्म सिद्धिएन, त्यसबेलासम्म उठ्ने सकिनँ । त्यसपछि चाहिँ म निर्वाचन क्षेत्रमा आएको छु । घुम्दैछु । 

–कसरी अगाडि बढिरहेको छ चुनाव प्रचार प्रसार, रेस्पोन्स चाहिँ कस्तो पाउनुभएको छ ?

अहिले म पाँचैवटा पालिकाहरूमा घुमेर आइसकेँ करिब करिब यहाँ ३९ वडा छन् । ती सबैमा करिब करिब पुगेर आइसकेँ । आम जनतामा एकखालको उत्साह पनि छ । एकखालको एउटा असन्तोष पनि छ । 

हिजोको निर्वाचनबाट जुन ढङ्गले दुईतिहाइ बहुमत वामपन्थीहरूको भयो र खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री बन्नुभयो । त्यसपछि देशमा ठूलो विकास र निर्माणको लहर होला भन्ने जुन अपेक्षा जनतामा त्यो अपेक्षाले गर्दा एकखालको खिन्नता, इख, रिस, आक्रोश पनि देखिन्छ । 

अर्कोतर्फ जसरी यो गठबन्धन बन्यो र जसरी संविधानलाई बचाउने, संसद्लाई बचाउने, लोकतन्त्रलाई बचाउने, गणतन्त्रलाई बचाउने जस्ता काममा यो गठबन्धन अगाडि बढ्यो यसले चाहिँ जनतामा एउटा उत्साह, एउटा उमङ्ग, आशा, अपेक्षा जगाएको अवस्था मैले पाएको छु । 

–तपाईं गठबन्धनतर्फको उम्मेदवार पनि हो, गठबन्धनहरूबीच यहाँको सम्बन्ध कतिको सुमधुर छ, कतै कतै सुनिन्छ अलिकति सुमधुर छैन भन्ने ?

यहाँ गठबन्धका हामी तीन जना हौँ । त्यसमा हामी जसपालाई जोड्न सक्छौँ, लोकल साथीहरू पनि हाम्रै पक्षमा हुनुहुन्छ । एमालेका कार्यकर्ताहरूको पङ्क्ति पनि हामीसँगै छ । उहाँहरूको धेरै ठूलो सङ्ख्याले मलाई सहयोग, मदत गर्छौं भनेका छन् । तर गठबन्धन भनिरहँदा यहाँ चाहिँ तीनवटा दल नै भन्नुपर्छ, तीनवटा दलका बीचमा हिजो प्रतिस्पर्धा गरेको हुनाले कतिपया तीतामीठा कुरा हिजोको अवस्थामा थिए । तर हामीले सबै पालिकाहरूमा गएर संयुक्त कार्यकर्ताहरू भेला गर्यौँ, अन्तक्र्रियाहरू गर्यौँ,  एकअर्कालाई लागेका कुराहरू सबै भन्नुस् भन्यौँ, सबै कुराहरू उहाँहरूले राख्नुभयो । त्यस सन्दर्भमा स्पष्टीकरणका कुरा पनि हामीले गर्यौँ । त्यसपछि चाहिँ हाम्रोबीचमा आत्मीयता बढिरहेको, एउटा घनिष्टता बढिरहेको र वार्मअप भइरहेको अवस्था विद्यमान छ र हामी एकताबद्ध भएर अगाडि बढिरहेका छौँ । अब धेरै शङ्का गर्ने ठाउँ छैन । 

–यहाँबाट लभगभ २५ वर्ष त प्रतिनिधित्व नै गरिसक्नुभयो, अहिले यहाँबाट सात्तौँ पटक लड्दै हुनुहुन्छ । यहाँ आउँदाखेरि मेची राजमार्ग हेर्ने, अघि पनि भन्नुभयो चियाबगानका मजदुरहरूको समस्या, चिया निर्यातको समस्या त जस्ताका तस्तै रहेछन्, किन समाधान भएनन् भन्ने गुनासो छ ?

अब योबीचमा २०४६ सालसम्म त हामीले विकासको धेरै अपेक्षा नै राख्ने ठाउँ थिएन । व्यवस्था नै निरङ्कुश थिए । २०४६ को परिवर्तनपछि पनि हामीले १० वर्ष जनयुद्ध भोग्नुपर्यो । त्यसले गर्दा पनि योबीचमा पनि धेरै विकास हुन सकेनन् । २०६२–६३ को परिवर्तनपछि पनि हामीले १० वर्ष त संविधान निर्माण गर्ने काममा लगानी गर्नुप्यो, शान्ति स्थापना गर्ने काममा लगानी गर्नुपर्यो । यो संविधान घोषणा भइसकेपछि चाहिँ विकास निर्माणको कुरा धेरै हुन्छ भन्ने अपेक्षा चाहिँ थियो । त्यो ढङ्गका योजनाहरू पनि अगाडि बढाइएको थियो तर त्यसबेलाको सरकारले सहयोग गरेन । त्यसले गर्दा कैयौँ ठूला योजनाहरू यो पाँच वर्षभित्रमा हामीले अलि उथलपुथल नै गथ्र्यौं । 

तथापि म निर्वाचनको पहिलो ४८ सालको निर्वाचनबाट प्रतिनिधि भएदेखि यतातिर विकास निर्माणका धेरै कामहरू भएका छन् । मैले एउटा अपिल प्रकाशित गरेको छु, त्यो अपिलमा मैले गरेका कामहरूको सङ्क्षिप्त शृङ्खला पनि त्यसमा राखेको छु र आगामी दिनमा पनि म के गर्छु भन्नेबारेमा पनि शृङ्खलाबद्ध कुराहरू राखेको छु । 

यस्तै यही मेची राजमार्ग निर्माण गरेको कुरा, प्रत्येक पालिका र प्रत्येक वडासम्म र अब त गाउँसम्म पनि बाटाघाटा पुर्याएको छौँ । यद्यपि ती बाटाघाटाहरू सबै मौसमका छैनन् । सबै मौसमी नभएको हुनाले बर्खामा अलि ठूलो पानी आइदियो भने ती बाटाघाटा बिगारिहाल्छ, फेरि बनाउनुपर्ने हुन्छ । 

हामीले अहिले कतिपय मुख्य मुख्य बाटाहरू चाहिँ पिच गर्यौँ, अरू बाटाहरूलाई ‘अल वेदर’ बनाउँदैछौँ । केही बाटाहरू अल वेदर भइसकेका छन् भने कतिपय बाटा अल वेदर बनाउन बाँकी छ । कतिपय ठाउँमा पुल हाल्नुपरेको छ । म प्रधानमन्त्री भएदेखि इलाममा मैले ३५ भन्दा बढी पक्की पुल हालेँ । जबरजस्ती लडाइँ लड्दै लड्दै हालेको हो त्यो । अब अझै कतिपय पुलहरू बाँकी छन् । जस्तो यहाँ सिद्धि खोलाको पुलको कुरा आयो । अर्को ठाउँमा पनि सिद्धि खोलाकै पुलको सन्दर्भ आयो । सिद्धि खोलामै दुईवटा पुल नबनाई भएकै छैन । एउटा चाहिँ योजनामा पारी नै सकियो, अब अर्कोलाई प्रस्ताव पठाउनुस् भनेको छु मैले । यो चाहिँ पूर्वाधार निर्माणको कुरा भयो । 

त्यस्तै विद्युतीकरणका सन्दर्भमा इलाममा ७० प्रतिशत त विद्युतीकरण भइसक्यो यो बीचको कालखण्डमा । म पहिलो प्रतिनिधि सभा सदस्य हुँदाखेरि म त्यो अन्तुमा गएँ । हिँड्न नसकेर घोडा चढेर गएँ । त्यहाँबाट पूर्वतिर हेर्यो झिलिमिली छ भारततर्फ, यता आफ्नो देश हेर्यो अन्धकार छ । यता आफ्नै जिल्ला हेर्दा बडा विरह चल्दो थियो । अन्तुबाट यता हेर्दा सबै अन्धकार त थियो । 

तर अहिले चाहिँ त्यही अन्तुमा उभिएर हेर्दा उताभन्दा यतातिर बढी चम्किलो हो कि भन्ने देखिन्छ । यी कुराले यहाँ कसरी विकास हुँदैछ भन्ने देखिन्छ । 

अर्को हाम्रा यी पाँचवटै पालिकामा कम्तीमा पनि ३० करोडभन्दा माथिका खानेपानी योजनाहरू लागू भएका छन्, अहिले पनि कतिपय योजनाहरू निर्माणाधीन छन् । खानेपानी सबैलाई पाइपबाट प्राप्त हुने, खानेपानीको बन्दोबस्त गर्ने सिलसिलामा हामी अगाडि बढिरहेका छौँ । केही केही कुरामा बाँकी छन् अझै । केही केही अलिकति सुक्खा क्षेत्र पनि छन् फेरि । त्यस्ता ठाउँमा कसरी पानी ल्याउने भन्ने समस्या पनि छ । यो हर्कटेमा धेरै पटक समस्या आयो, अहिले अलि हल भएको छ । त्यस्ता अरू पनि क्षेत्रहरू रहेछन्, अहिले घुम्दै आउँदा थाहा पाएँ । तीबारेमा प्रस्ताव ल्याउनु भनेको छु । 

त्यसबाहेक अब सञ्चारको क्षेत्र छ । यो क्षेत्रमा पहिला त केही पनि थिएन, टेलिफोन पनि थिएन । ल्यान्डलाइन टेलिफोन मैले पहिला ल्याएँ । त्यसपछि विश्वमा नै नयाँ प्रविधि आइहाल्यो, मोबाइलको प्रविधि । यो प्रविधि अहिले सबैतिर आएको छ तर अझै हामीले टावरहरू पूर्ण रूपले राख्न चाहिँ बाँकी रहेछ । यसपटक आफैँ घुम्दाखेरि त्यो कुरा मैले थाहा पाएँ । अझै केही बीटीएसहरू राखेपछि इलाम जिल्लाका सबै ठाउँमा टेलिफोन राम्ररी सुन्न सकिने स्थिति अब बन्छ ।

विद्युतीकरणको चाहिँ अब अहिले बाँकी रहेकोलाई कसरी गर्ने सन्दर्भमा विद्युत् प्राधिकरणसँग बसेर छलफल गरेपछि निकालेको निष्कर्षअनुरूप अहिले हामीले ६५ करोडको थप योजना यहाँ लागू गरेका छौँ । यो आइसक्यो र त्यो लागू भइसक्यो । अब १६ महिनाभित्रमा सम्पूर्ण प्रत्येक परिवारमा बिजुली पुग्नुपर्छ भन्ने प्रतिबद्धताका साथमा त्यो अगाडि जाँदैछ । 

यसैगरी पर्यटनको विकासमा यही अन्तु, यही कन्याम डाँडा छन् । चिया बगान चाहिँ बनेको थियो त्यतिबेला म हुँदाखेरि तर अरू केही पनि थिएन । यो बाटोघाटो आदि बर्बाद थियो । बाटोघाटो बन्ने मात्र होइन, कन्याम हेर्नलायकको ठाउँ बनेको छ र प्रत्येक दिन मान्छेहरू ठूलै सङ्ख्यामा यहाँ आउँछन् । शनिबार त यहाँ खुट्टा राख्ने ठाउँ हुँदैन । त्यस्तै अब अन्तु डाँडामा पनि पर्यटनको हिसाबले राम्रो विकास हुन थालेको छ । अब यता माईपोखरीतर्फ अनि सन्दकपुरतर्फ पनि विकास हुँदैछ । 

अनि उता २ नम्बर क्षेत्रमा पनि सिद्धेथुम्का, गजुरमुखी छन् । मेङ्मालेङमा डाँडा छ । यी डाँडाहरूका सन्दर्भमा पनि विकासका प्रक्रियाहरू अगाडि बढेका छन् । 

–अहिलेको प्रतिस्पर्धी चाहिँ तपाईंकै कार्यकर्ता जस्तो हुनुहुन्छ,  प्रतिस्पर्धीलाई कुन रूपमा हेर्नु भएको छ ? र तपाईं विजयको कतिको सन्निकट हुनुहुन्छ ?

अहिले निर्वाचन आयोगमा दर्ता भएका ११ वटा उम्मेदवारहरू छन् यो १ नम्बर क्षेत्रमा । यीमध्ये १० वटा उम्मेदवारहरू जुन छन् उहाँहरू एउटा लोकतन्त्रको अभ्यासमा हुनुहुन्छ भन्ने म देखिरहेको छु । अब कसैले २०० मत ल्याउनुहोला, कसैले ४०० मत ल्याउनु होला । कसैले केही हजार नै ल्याउनुहोला ।  तर उहाँहरू एउटा अभ्यासमा हुनुहुन्छ । मैले आफ्नो प्रतिद्वन्द्वी चाहिँ कसैलाई पनि देख्दिनँ । अलिकति बढी मत ल्याउन सक्ने सम्भावना भनेको एमालेको उम्मेदवारले हुनसक्छ । तर ती मेरा आफ्ना चेला हुन् । मैले नै शिक्षादीक्षा दिएको हो । उनले यो प्रतिस्पर्धामा आउन जरुरी थिएन । तर पनि एक्सरसाइज गरिरहेका छन् । व्यायाम गर्न पाइन्छ, यो मौलिक हकको कुरा हो । हामीले बनाएको संविधानले दिएको हक हो । त्यसकारण उम्मेदवार जति जना भए पनि प्रतिद्वन्द्वी चाहिँ मैले इलाम १ नम्बर क्षेत्रमा देख्दिनँ । 

–यसको मतलब निर्वाचन आयोगले  विजयको प्रमाणपत्र दिइ नै सकेको जस्तो कुरा भयो हैन ? 

अब त्यसका लागि अलिकति समय छ । एक हप्ता त हामीले प्रचारमा नै लगाउनुपर्ने छ । ४ गते जनताले मतदान गर्नुहुन्छ । त्यसपछि ४ दिनभित्रमा मलाई लाग्छ रिजल्ट हुन्छ । मङ्सिरको पहिलो हप्ताभित्र मैले सम्भवतः सर्टिफिकेट लिन्छु । 

–यो अहिले ‘नो, नट एगेन’ भन्ने अभियान पनि सुन्नुभएको छ होला, यो तपाईंहरूप्रति, पूर्वप्रधानमन्त्रीहरूप्रति लक्षित जस्तो देखिन्छ । यसमा तपाईंको प्रतिक्रिया के छ ? अनि अझै पनि तपाईंले यो अन्तिम पटक हो भनिसक्नुभएको छैन, फेरि पनि लड्नुहुन्छ कि, के छ विचार ?

मैले धेरै पटक भनेँ अन्तिम पटक लड्दैछु भनेर । म तपाईंको सञ्चार माध्यमबाट एक चोटि फेरि भन्छु, मेरो यो अन्तिम पटक हो । त्यसपछि म फेरि लड्दिनँ । उस्तै परिस्थिति परेर अर्कै अवस्था आयो भने मात्र । 

अहिले पनि म लड्ने स्थितिमा थिइनँ । तर अहिले के भयो भने देश सङ्कटमा परेको छ । आफ्नै पार्टीका नेताले संविधान समाप्त पार्न खोजे । गणतन्त्र समाप्त गर्न खोजे । लोकतन्त्र समाप्त गर्न खोजे । देशलाई एउटा अन्धकारतिर धकेल्न खोजे । अनिश्चयतातर्फ धकेल्न खोजे । त्यसले गर्दा यो गठबन्धन बनाएर अगाडि बढ्नुपर्ने परिस्थितिमा गठबन्धनले तैँले लड् भनेर भनेको हुनाले म लड्न आएको हुँ । यो अन्तिम पटक हो, अब म चाहिँ युवा पुस्तालाई अगाडि बढाउनु पर्छ भन्ने पक्षमा छु । 

म नेकपा एमालेको अध्यक्ष हुँदा नवौँ महाधिवेशनमा नै अब हामी जो ७० वर्ष पुग्छौँ, ७० वर्ष पुग्ने नेताहरूले एड्भाइजरी भूमिका खेलौँ र एक्जुकेटिभ काम गर्न चाहिँ सक्षम युवाहरूलाई अगाडि ल्याऊँ भन्ने प्रस्ताव चाहिँ मेरो थियो । अहिले पनि म के भन्छु भने देशका सम्पूर्ण युवाहरूलाई यही इलामको क्षेत्र नम्बर १ का युवा र देशभरिका युवाहरूलाई पनि  तपार्इंहरू मेरो यस्तो उमेर छ, म यङ छु, मैले यो पद पाउनुपर्छ भनेर कहिले पनि नभन्नुस् । तपाईंहरूले योग्यता देखाउनुनुस्, क्षमता देखाउनुस्, विचारवान् युवाहरू बन्नुहोस् । यदि विचारवान् युवा र योग्यता र क्षमता प्रदर्शन गरेर आउनुभयो भने तपाईंहरूलाई जुनसुकै बेलामा जुनसुकै नेताले पनि हस्तान्तरण गर्नुपर्छ । त्यसकारण विचारमा नेताहरूको पङ्क्ति यो देशको आवश्यकता हो । विचारमा नेताहरू आए भने नयाँ नेतृत्व निर्माण हुन्छ । देश अग्रगतितर्फ अगाडि बढ्छ । यो देशको राष्ट्रियता पनि जोगिन्छ । अग्रगतितर्फ पनि बढ्छ र हामी समाजवादतर्फ अगाडि बढ्छौँ । 

–तपाईं राष्ट्रिय नेता पनि हुनुहुन्छ, यो सत्ता गठबन्धनको परिणाम कस्तो आउँछ ?    

मेचीदेखि महाकालीसम्म मैले सम्बन्ध, सम्पर्क गरिरहेको छु । मैले के सूचना पाइरहेको छु भने, हाम्रो पार्टीले १९ उम्मेदवार उठाएको छ । त्यसमध्ये १५ जनाको धेरै राम्रो स्थिति छ । यही अनुपातमा हेरियो भने गठबन्धनले सजिलो ढङ्गले जित्न सक्ने म देख्छु । बहुमत आउँछ । यो बहुमत आएपछि गठबन्धनको सरकार बन्छ । 

–प्रधानमन्त्री को बन्छ ?

प्रधानमन्त्रीका बारेमा अहिले हामीले भन्न मिल्दैन, भन्नु पनि हुँदैन । त्यतिबेला यो गठबन्धन भएको हुनाले के सहमति हुन्छ । कहिलेकाहीँ के हुन्छ भने पहिलो पार्टीले, दोस्रो पार्टीले नगरेर तेस्रो र चौथो पार्टी पनि पुग्न सक्छ । 

–त्यसो हुनाले यहाँको पनि सम्भावना रहने हुन्छ ?

सम्भावना भनेका अनन्त हुन्छन् । सम्भावनाको ढोका कसैले बन्द गर्न मिल्दैन । तर म त्यस्तो कुनै पदको आकाङ्क्षी व्यक्ति होइन । देश, राष्ट्र र जनताप्रति म समर्पित मान्छे हुँ । र, मेरो अबको जीवन, मलाई अप्रेसन गरेर डाक्टरहरूले जुन बचाएका छन्, मेरो यो नाफाको जीवन हो र देशप्रति समर्पित जीवन छ । मैले जे काम गर्नुपर्छ, यो देशको, राष्ट्रले अथवा गठबन्धनले भोलि मलाई जे जिम्मेवारी दिन्छ, त्यो जिम्मेवारी म ए वान ढङ्गले सम्पन्न गर्छु ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप