शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशमा जसपा–एमालेलाई प्रभु साह समूहको चुनौती

बिहीबार, ०१ मङ्सिर २०७९, ११ : ३२
बिहीबार, ०१ मङ्सिर २०७९

पूर्वमन्त्री प्रभु साहले एमाले पार्टीमा विद्रोह गरेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न क्षेत्रमा आफूसहित स्वतन्त्र उम्मेदवार खडा गरेका छन् । साहले स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेले उनलाई कारबाही गरिसकेको छ ।

उनले उठाएका अधिकांश उम्मेदवार जसपा–एमाले गठबन्धनविरुद्ध प्रतिस्पर्धा गरिरहेका छन् । जसपा र एमालेका उम्मेदवार भएको ठाउँमा प्रभु साहले आफ्नो उम्मेदवार उठाएका छन् । प्रभु साहले रौतहट–३ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रले उनलाई समर्थन गरेपछि लगभग उनको जित निश्चित छ ।

सो क्षेत्रमा प्रभु साहको प्रतिस्पर्धी नै नरहेको भन्दा पनि हुन्छ । त्यहाँ न कांग्रेसको उम्मेदवार छ, न एमालेको नै । सो क्षेत्रमा सिकिन्द्र राय यादव राप्रपाबाट, रफिक दर्जी मजदुर किसान पार्टीबाट, रामेश्वर प्रसाद यादव जनमत पार्टीबाट, नागेन्द्र चौधरी नागरिक उन्मुक्ति पार्टीबाट, शेख असरद नेपाल सद्भावना पार्टीबाट, नविन प्रसाद चौरसिया राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् ।

त्यस्तै, सो क्षेत्रमा प्रभु साहसहित १२ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रभु साह निकटका सीवी साहले भने, ‘रौतहट–३ मा प्रभु साहको कोही प्रतिस्पर्धी छैनन्, उहाँ अत्यधिक मतले जित्दै हुनुहुन्छ ।’

त्यस्तै, प्रभु साहको ‘स्वतन्त्र जिताऊ अभियान’अन्तर्गत किरण साहले रौतहट–२ बाट उम्मेदवारी दिएका छन् । उनी पनि सो क्षेत्रका प्रतिस्पर्धी उम्मेदवार हुन् । उनी जसपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका हुन् । उनको प्रतिस्पर्धा कांग्रेसका अफताव आलमका छोरा मोहम्मद फिरहोद आलमसँग रहेको छ । फिरहोद कांग्रेसबाट उम्मेदवार छन् ।

अघिल्लो संसदीय चुनावमा किरण साह तत्कालीन संघीय समाजवादी फोरमको तर्फबाट अफताव आलमसँग प्रतिस्पर्धा गरेका थिए । किरणको ठाउँमा शैलेन्द्र साहले जसपाबाट टिकट पाएपछि किरणले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनी भन्छन्, ‘सुरुदेखि मैले पार्टीमा काम गरेँ, पहिला पनि चुनाव लडेको हुँ तर अन्तिममा आएर जसपाले शैलेन्द्र साहलाई दिएपछि म स्वतन्त्र उम्मेदवार बनेको हुँ ।’

आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै उनले प्रभु साहको स्वतन्त्र जिताऊ अभियानअन्तर्गत अधिकांश उम्मेदवारले जित्ने बताए ।

रौतहट–२ मा दिनेशप्रसाद साह तेलीले नेपाल मजदूर किसान पार्टीबाट, रामयस झाले जनमत पार्टीबाट महिन्द्र साह तेलीले, राप्रपा नेपालबाट, नन्दकिशोर यादवले गान्धीवादी पार्टी नेपालबाट उम्मेदवारी दिएका छन् । अन्य सातजना स्वतन्त्र उम्मेदवार छन् ।

रौतहट–४ बाट प्रदीप साहले पनि स्वतन्त्र जिताऊ अभियानअन्तर्गत उम्मेदवारी दिएका छन् । त्यहाँ एमालेका उम्मेदवार उद्धवप्रसाद रेग्मी छन् । यहाँ प्रदिप साह र रेग्मीको बीचमा प्रतिस्पर्धा रहेको छ ।

त्यस्तै सो क्षेत्रमा कांग्रेसबाट देवप्रसाद तिमिल्सिना, राप्रपाबाट रुपलाल यादव, नेपाल मजदुर किसान पार्टीबाट अनिलकुमार राम, मौलिक जरोकिलो पार्टीबाट राजिव बौछार, नेपाल कम्युनिस्ट पार्टी (माले) बाट अनवरी खाँ, जसपाबाट सिकन्दर राय यादव, बहुजन पार्टीबाट विनोद पासवान, आमूल परिवर्तन मसिहया पार्टी नेपालबाट कृष्ण बहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनारायण साहले उम्मेदारी दिएका छ्न । साथै प्रदीप साहसहित आठजनाले स्वतन्त्र उम्मेदारी दिएका छन् ।

बारा क्षेत्र नम्बर ४ मा प्रभु साहले इच्छबहादुर वाग्लेलाई जसपा–एमालेका साझा उम्मेदवार अकवाल मियाँको विरुद्धमा स्वतन्त्र उम्मेदवार बनाएका छन् । अकवाल मियाँ लोसपामा थिए तर सत्ता गठबन्धनबाट टिकट नपाउने भएपछि उनी रातारात एमाले प्रवेश गरेर टिकट प्राप्त गरेका हुन् । उनी त्यसअघि पनि सोही क्षेत्रबाट तत्कालीन राजपाबाट चुनाव जितेका थिए । त्यहाँ सत्ता गबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका कृष्ण (किसान) श्रेष्ठ पनि प्रतिस्पर्धामा छन् ।

प्रभु साहको स्वतन्त्र उम्मेदवार जिताऊ अभियानअन्तर्गत महोत्तरी–३ मा रामआधार कापडले पनि उम्मेदारी दिएका छन् । उनी पनि जित्न सक्ने अवस्थामा रहेको सीवी साहले बताए । एमालेबाट टिकट नपाएपछि उनले सो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उनले जसपा–एमाले गठबन्धनका हरिनारायण यादव र सत्ता गठबन्धनका साझा उम्मेदवार लोसपा अध्यक्ष महन्थ ठाकुरसँग प्रतिस्पर्धा गरिरहेका छन् ।

​सो क्षेत्रमा मृगेन्द्र यादव जनमत पार्टीबाट, गुलाब कुमारी देवी मण्डल राप्रपाबाट, जीवछी यादव नेश्ललिष्ट पिपल्स पार्टीबाट,  रामइकवाल मण्डल राष्ट्रिय जनमुक्ति पार्टीबाट, वृषेशचन्द्र लाल तमलोपाबाट, एल्सा झा एकीकृत शक्ति नेपालबाट, ओमप्रकाश यादव नेपाल सद्भावना पार्टीबाट उम्मेदवारी दिएका छन् ।

सप्तरी–१ मा प्रभु साहको अभियानअन्तर्गत अशोक मण्डलले पनि उम्मेदवारी दिएका छन् । अशोक मण्डल माओवादी केन्द्रका नेता हुन् । सत्ता गठबन्धनको भागबण्डामा सो क्षेत्र कांग्रेसको भागमा परेपछि मण्डलले त्यहाँ स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले सत्ता गठबन्धनमा साझा उम्मेदवार रामदेव साहलाई कडा टक्कर दिइरहेका छन् ।

सर्लाही–१ मा प्रतिनिधिसभाका उम्मेदवार मानबहादुर खड्का पनि त्यहाँका प्रतिस्पर्धामा छन् । जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार जसपाका नेता प्रमोद साहलाई उनले कडा टक्कर दिइरहेका छन् । यो क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवार लोसपाका रामप्रकाश चौधरी छन् । यी तीनजना बीच कडा प्रतिस्पर्धा हुने आकलन छ ।

सो क्षेत्रमा राप्रपाका राजेन्द्र प्रसाद मैनाली, नेपाल मजदुर किसान पार्टीका रमाकान्त कापर, जनमत पार्टीका राम विश्वास राय, जनसमाजवादी पार्टी नेपालका बलराम बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीका राम दुलार महतो पनि उम्मेदवार छन् । मानबहादुरसहित सो क्षेत्रमा १२ जना स्वतन्त्र उम्मेदवार छन् ।

धनुषा–४ बाट उम्मेदवार बनेका एमालेका सचिव रघुवीर महासेठको विरुद्धमा पनि स्वतन्त्र उम्मेदवार उठेका छन् । स्वतन्त्र उम्मेदवार कृष्णकुमार महतो सो क्षेत्रमा उम्मेदवार बनेका छन् । त्यहाँ कांग्रेसका महेन्द्र यादव, जसपाका महाजन यादव, एमालेका रघुवीर महासेठ र स्वतन्त्र उम्मेदवार कृष्णकुमार महतोबीच प्रतिस्पर्धा छ ।

सो क्षेत्रमा राप्रपाका अनिरुद्ध यादव, जनता प्रगतिशील पार्टी नेपालका रामचन्द्र यादव, नेपाल लोकतान्त्रिक पार्टीका कृष्णचन्द्र प्रसाद साह, नेकपाबाट रामदुलार महतो र राष्ट्रिय स्वतन्त्र पार्टीबाट संजयकुमार यादवले समेत उम्मेदवारी दिएका छन् । त्यहाँ कृष्णसहित २१ जना स्वतन्त्र उम्मेदवार छन् ।

प्रभु साहको समूहले पर्सा–१ मा कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका अजय द्विवेदीलाई सघाइरहेको छ । सत्ता गठबन्धनबाट सो क्षेत्र लोसपाको भागमा परेको छ । लोसपाका नेता लक्ष्मणलाल कर्ण गठबन्धनको साझा उम्मेदवार बनेपछि अजयले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

त्यहाँ जसपा–एमाले गठबन्धनबाट जसपाका प्रदीप यादव उम्मेदवार छन् । उनी यसअघि पनि त्यहीँबाट चुनाव जितेका थिए । सो क्षेत्रमा स्वतन्त्र उम्मेदवार अजय द्विवेदी र जसपाका प्रदीप यादवबीच कडा प्रतिस्पर्धा छ ।

त्यस्तै, सो क्षेत्रमा राप्रपाका किरणमान डंगोल, नेपाल मजदुर किसान पार्टीका मुकेश कुशवाहा, नेपालका लागि नेपाल पार्टीका जितेन्द्रप्रसाद कुर्मी, नेपाल लोकतान्त्रिक पार्टीका सुन्दर साह कानु, राष्ट्रिय जनमुक्ति पार्टीका हसिबुर रहमान अन्सारी, नेकपा मार्क्सवादी (पुष्पलाल) का शंकर प्रसाद चौरसिया, नेपाल जनता पार्टीका सुरेशप्रसाद साह, नेपाल सुशासन पार्टीका अजयकुमार रिजाल पनि प्रतिस्पर्धामा उत्रेका छन् । त्यहाँ अजय द्विवेदीसहित ११ जना स्वतन्त्र उम्मेदवार छन् । 

प्रदेशसभामा स्वतन्त्रको लहर

प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताऊ अभियानअन्तर्गत प्रदेशसभामा पनि केही उम्मेदवार खडा गरेका छन् ।

चन्द्रभुषण साहले सर्लाही–१ (क) मा प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यहाँ एमाले–जसपाका साझा उम्मेदवार जसपाका अहमत मियाँ मुकेरी र सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका रामचन्द्र सिंहसँग उनको प्रतिस्पर्धा भइरहेको छ । त्यहाँ लोसपाका उपेन्द्र महतो पनि कडा प्रतिस्पर्धामा छन् । उनी यसअघि त्यहाँबाट चुनाव जितेका थिए । उनले गरेको विकासका कारण सो क्षेत्रमा चर्चामा छन् ।

त्यस्तै, जनमत पार्टीका सेराज आलम अन्सारी, नागरिक उन्मुक्ति पार्टीका रामचन्द्र साह तेलीलगायत पनि प्रतिस्पर्धामा उत्रेका छन् ।

बारा–४ (ख) मा उमेश कुशवाहा पनि प्रतिस्पर्धा गरिरहेका छन् । त्यहाँ सत्ता गठबन्धनका साझा उम्मेदवार लोसपाका जितेन्द्र सोनल र जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार जसपाका आत्माराम प्रसाद साहसँग उनले प्रतिस्पर्धा गरिरहेका छन् ।

रौतहट ३ (क) मा प्रदेशसभा सदस्यका लागि केशव राय चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले एमाले–जसपा गठबन्धनका साझा उम्मेदवार जसपाका पुजा चौधरी, सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका नागेन्द्र रायसँग प्रतिस्पर्धा गरिरहेका छन् । त्यस्तै त्यहाँ जनता प्रगतिशील पार्टीका खालदा खातुन, राप्रपाका सतरे आलमलगायतले पनि उम्मेदवारी दिएका छन् ।

रौतहट ३ (ख) का स्वतन्त्र उम्मेवार कुन्दन कुशवाहा सत्ता गठबन्धनका साझा उम्मेदवार सुनिलकुमार यादवसँग प्रतिस्पर्धामा छन् । त्यहाँ जनमत पार्टीका धर्मेन्द्रकुमार गुप्ता, नेपाल सुशासन पार्टीका राजकिशोर राय यादवलगायतले पनि प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रभु साहको अभियानबाट रौतहट १ (ख) मा राजेश चौधरीले पनि उम्मेदवारी दिएका छन् । जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार जसपाका योगेन्द्र राय यादव, सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका कृष्ण प्रसाद यादवसँग प्रतिस्पर्धा गरिरहेका छन् । त्यहाँ दुई गठबन्धनबीच प्रतिस्पर्धा छ । उनीहरुलाई राजेश चौधरीले पछ्याईरहेका छ्न ।

सो क्षेत्रमा नेपाल संघीय समाजवादी पार्टी, नेपालका जाजुल देवान, जनमत पार्टीका दिनेशकमार यादव, हाम्रो पार्टीका किरणकुमारी साह, जनता प्रगतिशील पार्टी नेपालका श्रीमननारायण मिश्र, राप्रपाका राजेशकुमार महतोलगायत पनि प्रतिस्पर्धा गरिरहेका छन् ।

लोसपा छाडेर एमाले प्रदेश गरेका सुनिल झा (रोहित)ले सो पार्टीबाट टिकट नपाएपछि महोत्तरी ३ (ख) मा प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार एमालेका रामदयाल मण्डल र सत्ता गठबन्धनका साझा उम्मेदवार लोसपाका रानीकुमार तिवारीसँग प्रतिस्पर्धा गरिरहेका छन् । त्यहाँ मुख्य रुपमा दुई गठबन्धनको बीचमा प्रतिस्पर्धा छ ।

नेपाल संघीय समाजवादी पार्टीका मोहम्मद सैदर अन्सारी, जनमत पार्टीका कौशलेन्द्र गिरी, राप्रपा नेपालका इब्राहिम साफी, बहुजन एकता पार्टी नेपालका सलाउदीत अनसारी, नेश्ललिस्ट पिपल्स पार्टीका विन्देश्वर पासवानलगायत पनि सो क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका छन् ।

सिरहा–३ (ख) मा जसपाबाट टिकट नपाउने भएपछि गोपाल प्रसाद यादव तत्कालै एमालेमा प्रवेश गरेका थिए । तर उनले सो पार्टीबाट पनि टिकट पाएनन् । जसपाले सिरहा–४ नम्बर क्षेत्रका रेणु यादवलाई टिकट दिएर पठायो । एमालेबाट टिकट नपाएपछि गोपाल प्रसाद यादवले स्वतन्त्र उम्मेदवारी दिए ।

उनी त्यहाँ एमाले–जसपाका साझा उम्मेदवार रेणु कुमारी यादव र सत्ता गठबन्धनका साझा उम्मेदवार प्रमोद साहसँग प्रतिस्पर्धा गरिरहेका छन् । सत्ता गठबन्धनका कांग्रेसबाट पनि संजयप्रकाश यादवले उम्मेदवारी दिएका छन् । साथै जनमतका ज्ञानेन्द्रकुमार यादव र राप्रपाका महोम्मद आजैरलगायत पनि त्यहाँ प्रतिस्पर्धामा छन् ।  

योगेश सिंह हाम्रो नेपाली पार्टीबाट सिरहा २ (ख) मा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । यद्यपि उनी आफूलाई स्वतन्त्र उम्मेदवार नै भन्छन् । उनलाई प्रभु साहको अभियानले सघाइरहेको छ । उनको प्रतिस्पर्धा जसपा–एमालेको साझा उम्मेदवार एमालेका सत्रुधन प्रसाद सिंह र सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका मदन सेन प्रसाद श्रीवास्तावसँग रहेको छ ।

सो क्षेत्रमा दुई गठबन्धनबीच कडा प्रतिस्पर्धा छ । त्यसमा योगेश सिंहको उम्मेदवारीले थप चर्चा पाएको छ । सो क्षेत्रमा जनमत पार्टीका विनोदकुमार चौधरीलगायतले पनि उम्मेदवारी दिएका छन् ।

प्रमोद महतोले महोत्तरी १ (ख) मा प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनलाई पनि प्रभु साहको अभियानले सघाइरहेको छ । उनको प्रतिस्पर्धा जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार जसपाका राम श्रेष्ठ महतो र सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका भरत साहसँग रहेको बुझिएको छ । यद्यपि, त्यहाँ जनमत पार्टीका विक्रम साह तेली, राप्रपा नेपाल खडगप्रसाद घिमिरेलगायतका छन् पनि प्रतिस्पर्धामा उत्रेका छन् । सो क्षेत्रमा १८ जना स्वतन्त्र उम्मेदवार छन् ।

प्रभु साहको अभियानअन्तर्गत देवराज घिमिरेले बारा १ (क) मा प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले सत्ता गठबन्धनका सझा उम्मेदवार कांग्रेसका रमेश प्रसाद दंगाल र एमाले–जसपाका साझा उम्मेदवार एमालेका त्रिलोकी प्रसाद, जनमत पार्टीका युवराज मैनालीसँग प्रतिस्पर्धा गरिरहेका छन् । त्यहाँ हाम्रो नेपाली पार्टीका मेष बहादुर ढकाल क्षेत्री, नागरिक उन्मुक्ति पार्टीका राधाकुमारी चौधरीलगायत पनि प्रतिस्पर्धामा उत्रेका छन् ।  

बारा–१ (ख) मा जयन्त कुशवाहाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले एमाले–जसपाका साझा उम्मेदवार जसपाका सरोजकुमार यादवसँग प्रतिस्पर्धामा छन् । त्यहाँ सत्ता गठबन्धनले मित्रवत प्रतिस्पर्धा गरिरहेका छन् । त्यहाँ कांग्रेसका नागेन्द्रप्रसाद कानु, नेकपा एकीकृत समाजवादीका बतहु राय यादव समेत प्रतिस्पर्धामा उत्रेका छन् । त्यस्तै, जनमत पार्टीका सिताराम प्रसाद नेपाली, नागरिक उन्मुक्ति पार्टीका उमेशप्रसाद कलवार, राप्रपाका जोख साह कानुुलगायतका उम्मेदवारहरु पनि छन् ।

प्रल्हाद साह कानुले पर्सा ४ (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले एमाले–जसपा गठबन्धनमा साझा उम्मेदवार जसपाका सिंगासन साह कलवार र सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका चाँदतारा कुमारीसँग प्रतिस्पर्धा गरिरहेका छन् । त्यस्तै, नेपाल मजदुर किसान पार्टीका साहब मियाँ तेली, राप्रपाका नागा हजरा दुसाद, नेपाल सुशासन पार्टीका बलराम तिवारी र नेपाली जनता दलका सेमराज राउत अहिर पनि प्रतिस्पर्धा गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप