शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशबाट ४८ प्रतिनिधि छनोट हुँदै

बिहीबार, ०१ मङ्सिर २०७९, १६ : ५५
बिहीबार, ०१ मङ्सिर २०७९

आउँदो आइतबार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट ४८ प्रतिनिधि छनोट हुँदैछन् । प्रतिनिधिसभा सदस्यका लागि १६ र प्रदेशसभा सदस्यका लागि ३२ प्रतिनिधि छनौट हुन लागेका हुन् । नौ जिल्ला रहेको प्रदेशको तराईको जिल्ला कैलालीबाट सबैभन्दा बढी प्रतिनिधिसभाका लागि पाँच सदस्य चुनिन लागेका छन् । 

अर्को तराईकै  जिल्ला कञ्चनपुरबाट प्रतिनिधिसभाका तीन, पहाडको अछामबाट दुई र अन्य पहाडी जिल्ला डोटी, डडेलधुरा, बैतडी, बझाङ, बाजुरा र दार्चुलाबाट एक–एक जना चुनिन लागेका हुन् । कानुनी व्यवस्थाअनुसार प्रतिनिधिसभा सदस्यको प्रत्येक निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि दुई–दुई जना निर्वाचित हुन लागेका हुन् । 

विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)सहितको तत्कालीन वाम गठबन्धन अधिकांश क्षेत्रमा विजयी भएको थियो । डडेलधुरा र कैलाली क्षेत्र नं १ बाहेक सबै क्षेत्रमा वाम गठबन्धनका प्रत्यासी प्रतिनिधिसभामा विजयी भएका थिए ।

डडेलधुरामा प्रधानमन्त्री देउवा र कैलाली–१ मा रेशमलाल चौधरी विजयी भएका थिए । प्रदेशसभा सदस्यका लागि ३२ क्षेत्रमध्ये प्रत्यक्षतर्फ पाँच निर्वाचन क्षेत्रबाहेक अन्यमा वाम गठबन्धनका प्रत्यासी विजयी भएका थिए ।

आउने चुनावमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धी रहेका छन् । विसं २०४८ देखि २०७४ सम्म भएका सबै चुनावमा उहाँ नै  विजयी भएका थिए ।
चुनावमा यो पटक उनी डडेलधुराबाट सातौँपटक प्रतिस्पर्धी भएका छन् । यसअघिका चुनावमा पार्टीको तर्फबाट एक्लै प्रतिस्पर्धा गरेर विजयी हुनुभएका प्रधानमन्त्री देउवालाई आउने चुनावमा नेकपा (माओवादी केन्द्र) को साथ छ । 

विसं २०६४ यता भएका निर्वाचनमा देउवाका मुख्य प्रतिस्पर्धी रहेका माओवादीका नेता खगराज भट्ट आउने चुनावमा डडेलधुराको प्रदेशसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिस्पर्धा गर्दै छन् । भट्ट हाल माओवादीको सुदूरपश्चिम इन्चार्ज रहेका छन् ।

कैलाली निर्वाचन क्षेत्र नं ४ बाट एमालेका प्रदेश इन्चार्ज एवं पूर्वमन्त्री लेखराज भट्ट प्रतिस्पर्धी रहेका छन् । उनले वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट  कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरसँग प्रतिस्पर्धा गर्दै छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं कांग्रेसका प्रभावशाली नेता दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिस्पर्धी भएका छन् । उनी र एमालेका नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाबीच प्रतिस्पर्धा हुने आकलन गरिएको  छ ।

बाजुरामा कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेय र एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाबीच टक्कर छ । अछाम–१ मा श्रम तथा रोजगारमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता शेरबहादुर कुँवरलाई एमाले नेता एवं प्रदेश सरकारका पूर्वमन्त्री झपटबहादुर बोहराले टक्कर दिइरहेका छन् ।

कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी प्रत्यासी रहेका छन् । टीकापुरको हिंसात्मक घटनामा दोषी ठहर रेशमलाल चौधरीकी पत्नी उनले कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री रामजनम चौधरी र एमाले नेता तपेन्द्र रावलसँग प्रतिस्पर्धा गर्दै छन् । यो क्षेत्रमा कांग्रेसका प्रत्यासीलाई सत्ता गठबन्धनको बलियो साथ छ । एमालेलाई जनता समाजवादीको साथ रहँदा नागरिक उन्मुक्ति पार्टी भने एक्लै चुनावी मैदानमा उत्रिएको  छ ।

वाम–लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद कञ्चनपुर–२, अर्का केन्द्रीय सदस्य रमेश लेखक कञ्चनुर–३ बाट प्रतिस्पर्धा गर्दै छन् । माओवादीका केन्द्रीय सदस्य बिना मगर कञ्चनपुर–१ बाट प्रत्यासी छिन् । क्षेत्र–३ मा एमालेका निरुदेवी पाल, क्षेत्र २ मा एमालेकै नरबहादुर धामी क्षेत्र–१ मा एमालेकै तारालामा तामाङलगायत प्रतिस्पर्धामा छन् । 

सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार चार मतदाता छन् । सबैभन्दा बढी कैलाली जिल्लामा पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता छन् । कञ्चनपुरमा तीन लाख दुई हजार पाँच सय नौ र अछाममा एक लाख ५८ हजार छ सय ५७ मतदाता छन् । 

सबैभन्दा कम बाजुरामा ८३ हजार पाँच सय ६७ मतदाता छन् । बझाङमा एक लाख २२ हजार तीन सय ७६, दार्चुलामा ८९ हजार एक सय ५४, डडेलधुरामा ९१ हजार दुई सय एक, बैतडीमा एक लाख ५० हजार एक सय २९ र डोटीमा एक लाख २४ हजार आठ सय ७० मतदाता छन् । प्रदेशमा अन्य मतदाता (तेस्रोलिङ्गी) १८ छन् ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचनका लागि प्रदेशभर एक हजार एक सय ६१ मतदानस्थल र दुई हजार एक सय ४६ मतदान केन्द्र तोकिएको छ । तोकिएका मतदानस्थलमा कैलालीमा दुई ३७, डोटीमा एकसय १५, बाजुरामा ७०, बझाङमा एकसय ३५ र अछाममा एकसय ३० छन् । यसैगरी कञ्चनपुरमा एकसय ३२, डडेलधुरामा एकसय एक, बैतडीमा एकसय २९ र दार्चुलामा एकसय १३ मतदानस्थल तोकिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप