मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

प्रेस काउन्सिलका अध्यक्ष बस्नेत निर्देशित वृत्तचित्र इजिप्टमा प्रदर्शन, नेपालको जलवायु परिवर्तनबारे छलफल

शनिबार, ०३ मङ्सिर २०७९, १२ : २०
शनिबार, ०३ मङ्सिर २०७९

प्रेस काउन्सिल नेपालका अध्यक्ष एवं वरिष्ठ पत्रकार बालकृष्ण बस्नेतको लेखन र निर्देशन रहेको वृत्तचित्रमाथि इजिप्टमा भइरहेको कोप २७ महासम्मेलनमा छलफल भएको छ । नेपालका उच्च हिमाल, मध्य पहाड र तराई सबै भेगमा जलवायु परिवर्तनका असर, त्यसले महिला, बालबालिका र समग्र जनजीवनमा परेको असरबारे तयार पारिएको वृत्तचित्र ‘भ्वाइस फर जस्टिस’लाई शुक्रबार इजिप्टमा भइरहेको कोप २७ महासम्मेलनमा देखाइएको हो ।

जलवायु परिवर्तनले नेपालमा देखापरेको विकराल समस्यालाई वृत्तचित्र मार्फत पहिलोपल्ट अन्तर्राष्ट्रिय मञ्चमा देखाइएको बस्नेतले जानकारी दिए । यूएनएफसीसीसीको प्रदर्शनमा नेपालबाट निर्देशक बस्नेत र डा.सिद्धार्थ बज्राचार्यले जुममार्फत सहभागिता जनाएका थिए ।

इजिप्टको शर्म अल शेखमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्हरुको २७ औं सम्मेलन (कोप २७) मा नेपालले हानी नोक्सानी र जलवायु न्यायका मुद्दालाई विभिन्न ढंगले उठाइरहेको छ ।

सोही क्रममा साथसाथै फाउन्डेसनले बनाएको यो वृत्तचित्रलाई बुधबार यूएनएफसीसीसी स्वयंले संयोजन गरेको कार्यक्रममा देखाइएको थियो । सोही महासम्मेलनमा इसिमोड र ग्रामीण पुननिर्माण संस्थाले गरेका साइट इभेन्टमा समेत उक्त वृत्तचित्र देखाइएको थियो । वृत्तचित्रमार्फत नेपालको उच्च हिमाल, पहाड, तराई, मधेसको भूभागमा जलवायु परिवर्तनले ल्याएको हानी नोक्सानीबारे सचित्र प्रस्तुति गरिएको साथसाथैकी अध्यक्ष प्रजिता कार्कीले जानकारी दिइन् । 

कार्कीले भनिन्– ‘यो वृत्तचित्रले नेपालमा भएको हानी नोक्सानीको क्षतिपूर्तिका लागि विश्वले ध्यान दिनुपर्ने सन्देश दिएको छ । वृत्तचित्रमा सर्वोच्च शिखर सगरमाथासहितका हिमालहरूमा हिउँ कमी भएको, बाक्लो हिमनदी पग्लिएर भएको क्षति, बाढी पहिरो, बेमौसमी वर्षाले धनजन, अन्नवालीमा पुर्याएको क्षति समेटिएको छ ।’ 

गत वर्ष मार्च ८ मा साथसाथैले विभिन्न क्षेत्रका अगुवा ४० जना महिलालाई सगरमाथा आधार शिविर, कालापत्थरसम्मको पैदलयात्रा गराएको थियो । वृत्तचित्रमा त्यसको सन्देशसहित सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा बाढी पहिरोको दर्दनाक दृश्यदेखि डोल्पामा यसैवर्ष वर्षाले पुर्याएको क्षति त्यसमा समावेश छ । 

अन्त्यन्तै न्यून कार्वन उत्पादन हुने नेपालमा जलवायु परिवर्तनको क्षति भने अतुलनीय छ । यो सम्मेलनमा हानी नोक्सानी र जलवायु कोषको समेत मुद्दा छ । नेपालमा भएको हानी नोक्सानी र क्षतिपूर्तिका लागि ठूला मुलुकको ध्यानाकर्षण गराउन यो वृत्तचित्रले भूमिका खेल्छ भन्ने विश्वास लिएको कार्कीले बताएकी छिन् । 

वृत्तचित्र वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, प्रकृति संरक्षण कोषसहितको समन्वय र सहकार्यमा निर्माण भएको उक्त संस्थाले जनाएको छ । वृत्तचित्र प्रदर्शनपछि विश्वका सहभागीले नेपालमा क्षतिपूर्ति र न्याय कसरी दिलाउने भन्नेमा बहस केन्द्रित गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप