मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रुसले मिसाइल आक्रमण तीव्र बनाएपछि युक्रेनका आधा विद्युत प्रणाली निस्प्रभावी

शनिबार, ०३ मङ्सिर २०७९, १५ : ५७
शनिबार, ०३ मङ्सिर २०७९

रूसी मिसाइल आक्रमणले युक्रेनको लगभग आधा ऊर्जा प्रणालीलाई निस्प्रभावी बनाएको त्यहाँको सरकारले शुक्रबार जानकारी दिएको छ । अधिकारीहरूले नजिकिँदै गरेको जाडोमा राजधानी कीभमा पावर ग्रिड पूर्ण बन्द हुनसक्ने चेतावनी दिए ।

‘दुर्भाग्यवश रुसले युक्रेनको नागरिक र महत्वपूर्ण पूर्वाधारमा मिसाइल आक्रमणहरू जारी राखेको छ । हाम्रो ऊर्जा प्रणालीको झन्डै आधा हिस्सा नष्ट भएको छ,’ युक्रेनी प्रधानमन्त्री डेनिस स्मिहलले शुक्रबार पत्रकार सम्मेलनमा भने । शुक्रबारको पत्रकार सम्मेलनमा स्मिहलसँग युरोपेली आयोगका उपाध्यक्ष वाल्डिस डोम्ब्रोभस्किस पनि सहभागी थिए । 

यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धपूर्व ४ करोड ४० लाख जनसंख्या रहेको उनको मुलुकमा करिब एक करोड मानिस विद्युतविहीन रहेको बताएका थिए । केही क्षेत्रमा अधिकारीहरूले जबर्जस्ती आपतकालीन लोडसेडिङ भइरहेको पनि उनले बताए । 

युक्रेनको राष्ट्रिय ग्रीड सञ्चालक युक्रेनर्गोका अनुसार रुसले अक्टोबर १० देखि नोभेम्बर १५ सम्म युक्रेनको ऊर्जा पूर्वाधारमा ६ ठूला स्तरको क्षेप्यास्त्र आक्रमण गरेको बताएको छ । अक्टोबरमा भएको एक विस्फोटमा क्राईमिया प्रायद्वीपलाई रुससँग जोड्ने एउटा महत्वपूर्ण पुल आंशिक रूपमा क्षतिग्रस्त भएपछि रुसले विद्युत पूर्वाधारमा आक्रमण तीव्र बनाएको छ । मस्कोले पुलमा भएको आक्रमणका लागि किभलाई दोषी ठहराएको छ’ जुन युक्रेनले अस्वीकार गरेको छ ।

पछिल्ला दिन पनि रुसले युक्रेनी विद्युत पूर्वाधारमा मिसाइल हानिरहेको छ । तापक्रम शून्य डिग्रीसम्म झरेको र कीभमा हिउँ झर्न थालेकोले आगामी जाडो निक्कै कठिन हुने देखिन्छ । प्राविधिकहरू बमबारीले पुर्याएको क्षति मर्मत गरेर पुन विद्युत सुचारु गर्ने प्रयास गरिरहेका छन् । 

संयुक्त राष्ट्रसंघले यस हिउँदमा विद्युत र पानीको अभावका कारण युक्रेनमा मानवीय विपद् आउन सक्ने चेतावनी दिएको छ । ‘हामी पूर्ण लोडसेडिङ गर्नुपर्ने देखि लिएर अन्य विभिन्न परिदृश्यहरूको लागि तयारी गर्दैछौं,’ किभ शहर प्रशासनका उपप्रमुख माइकोला पोभोरोज्निकले भने । 

रुसको रक्षा मन्त्रालयले बिहीबारको आक्रमणलाई युक्रेनी ‘मिसाइल निर्माण क्षेत्र’ सहित रक्षा र औद्योगिक सुविधाहरूमाथि केन्द्रीत गरेको बतायो । तिनमा लामो दूरीका हतियारहरू प्रयोग गरिएको पनि मन्त्रालयले बताएको छ । फेब्रुअरी २४ देखि रुसले युक्रेनमा सुरु गरेको आक्रमणले हजारौं नागरिकको मृत्यु भइसकेको छ भने लाखौं विस्थापित भएका छन् । युक्रेनी सहरहरू भग्नावशेषमा परिणत भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप