शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चार मतपत्रमा छाप लगाउन एक मतदातालाई औसतमा ३ मिनेट समय लाग्ने

यस्तो छ मतदान प्रक्रिया
शनिबार, ०३ मङ्सिर २०७९, १९ : १८
शनिबार, ०३ मङ्सिर २०७९

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा एक मतपत्रका सात कोठाका सात चुनाव चिन्हमा स्वस्तिक छाप लगाएका मतदाताले भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भने फरक ढङ्गले मतदान गर्नुपर्ने छ । एक मतदाताले ४ वटा मतपत्र पाउँछन् भने उनीहरूले प्रत्येक मतपत्रमा एउटा मात्र चुनाव चिन्हमा गोप्य मतदान गर्नुपर्ने हुन्छ । 

मतदान प्रक्रियामा एक जना मतदाताले औसतमा ३ मिनेटभित्र ४ वटा मतपत्रमा मतदान सम्पन्न गर्न सक्ने निर्वाचन आयोगका सह प्रवक्ता सूर्यप्रसाद अर्यालले रातोपाटीलाई बताए । 

अर्यालले भने–‘आयोगले दुई–तीन ठाउँमा गरेको नमुना मतदानका क्रममा एक जना मानिसको मात्र समय गणना गर्दा औसतमा ३ मिनेट लाग्छ । ३ मिनेटभित्र सात–आठ जना मानिस मतदान गर्नका लागि विभिन्न प्रक्रियामा सहभागी भइरहेका हुन्छन् । कोही मतदान गरिरहेको अवस्थामा अर्को व्यक्ति मतदानका लागि मतपत्र लिएर बसको हुन्छ । कोही मतदाता नामावलीमा नाम रुजु गराइरहेका हुन्छन्, कोही नङमा मसी लगाइरहेका हुन्छन् । एउटा मतपत्रका लागि औसतमा २५ देखि ३० सेकेन्डभन्दा बढी समय लाग्दैन ।’

भोलि मतदानका लागि कूल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता रहेका छन् । उनीहरूले १० हजार ८ सय मतदान स्थलमा रहेका २२ हजार २ सय २७ मतदान केन्द्रबाट मताधिकारको प्रयोग गर्न सक्नेछन् । 

यस्तो हुन्छ मतदान केन्द्रमा प्रक्रिया 

एउटा मतदाता तोकिएको मतदान केन्द्रमा प्रवेश गरेपछि मतदाता नामावलीमा नाम छ कि छैन भनेर हेर्नुपर्ने हुन्छ । मतदाता नामावलीमा नाम छ भने नजिकै नङमा रङ लगाउने अर्को कर्मचारी हुन्छ । अर्को कर्मचारीले मतदाता नामावली भर्ने काम गर्छन् । सो कर्मचारीको छेउमा बस्ने अर्को कर्मचारीले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिन्छन् । 

सुरुमा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्रमा मतदान गरेर १ नम्बर लेखेको मतपेटिकामा खसाल्नुपर्ने हुन्छ । मतदाताले दोस्रो मतदानका लागि प्रतिनिधि सभाको समानुपातिक तर्फको मतपत्र पाउँछन् । सो मतपत्रमा मतदान गरेपछि २ नम्बर लेखेको मतपेटिकामा मतपत्र खसाल्नुपर्ने हुन्छ । तेस्रो मतपत्र प्रदेश सभाको प्रत्यक्ष तर्फको पाउँछन् । सो मतपत्रमा मतदान गरेपछि ३ लेखिएको मतपेटिकामा मतदान गर्नुपर्ने हुन्छ । मतदाताले चौथो तथा अन्तिम मतपत्र प्रदेश सभाको समानुपातिक तर्फको मतपत्र पाउँछन् । सो मतपत्रमा मतदान गरेर ४ नम्बर लेखेको मतपेटिकामा मतदान गरेपछि सो मतदाता मतदान केन्द्रबाट बाहिर निस्कने प्रक्रिया हुने आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले रातोपाटीलाई जानकारी दिए ।  

एउटा मतदान केन्द्रमा झन्डै ११ सयसम्म मतदाता हुन्छन् । उनीहरूले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गरिसक्ने भुसालले बताए । 

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ २ हजार ४ सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ २ हजार १ सय ९९ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको छ । 

यस्तै प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ३ हजार २ सय २४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने समानुपातिक तर्फ ३ हजार ८ सय ७ उम्मेदवार अन्तिम बन्द सूचीमा रहेको छ ।  

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ कूल ५ हजार ६ सय ३६ उम्मेदवार छन् भने समानुपातिक बन्द सूचीमा कूल ५ हजार ९ सय ७ उम्मेदवार रहेका छन् । 

 


यस्तो हुनेछ मतपत्र र चुनाव चिन्ह  

मतदानका लागि आयोगले कूल ८ करोड ४ लाख २१ हजार ५ सय मतपत्र छपाई गरी ढुवानी सम्पन्न गरिसकेको छ । 

प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको निर्वाचन प्रणालीका लागि ४ करोड ६ लाख ५ मतपत्र छपाई गरिएको छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ करोड ९८ लाख १६ हजार ५ सय मतपत्र छपाई गरी ढुवानी गरिसकिएको छ । 

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ४ वटा मतपत्रमा मतदान गर्नुपर्ने हुन्छ । प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदवारको र समानुपातिकको मतपत्र हुन्छ । यस्तै प्रदेश सभाको एउटा प्रत्यक्ष उम्मेदवार र अर्को समानुपातिक तर्फको मतपत्र गरी ४ मतपत्र हुन्छ । 

प्रतिनिधि सभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपत्र अर्थात उम्मेदवारलाई भोट दिने मतपत्र सेतो कागजमा रातो रङको मसीले लेखिएको विवरण र रातो रङको चिन्ह हुन्छ । 

यस्तै राजनीतिक दललाई मत दिने अर्थात समानुपातिक तर्फ प्रतिनिधि सभा र प्रदेश सभाको मतपत्र सेतो कागजमा कालो रङको अक्षर र चुनाव चिन्ह हुन्छ । यो पटकको प्रतिनिधि सधा र प्रदेश सभा निर्वाचनका लागि प्रयोग हुने मतपत्रमा २ वटा मात्र रङ प्रयोग भएको आयोगका उपसचिव एवं सह प्रवक्ता सूर्यप्रसाद अर्यालले रातोपाटीलाई जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप