शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

को हुन् पाल्पाली पाका नेता सोमप्रसाद पाण्डेलाई पराजित गर्ने ठाकुर गैरे ?

शनिबार, १० मङ्सिर २०७९, ११ : ४७
शनिबार, १० मङ्सिर २०७९

पाल्पा क्षेत्र २ मा चार पटक विजयी भएका एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डे यो पटक पराजित हुन पुगे । उनलाई नेकपा एमालेका युवा नेता ठाकुर गैरेले पराजित गरेका हुन् । पाण्डेले ०५१, ०५६, ०७० र ०७४ सालमा यस क्षेत्रमा निर्वाचन जितेका थिए । नेपाली राजनीतिका एक चतुर र पाका नेता पाण्डेलाई पराजित गरेर गैरेले राजनीतिक सफलता प्राप्त गरेका छन् । उसो त एमालेका गैरेले पहिलो प्रयासमै पाल्पा क्षेत्र–२ बाट सफलता हासिल गरेका हुन् ।

तत्कालीन एमालेमा हुँदा पाण्डेको चुनावी कमाण्डर बन्नमै सीमित हुने गरेका गैरेले पाण्डे एकीकृत समाजवादीमा लागेपछि यस क्षेत्रमा चुनाव लड्ने अवसर पाएका हुन् । यो अवसरलाई उनले राम्ररी सदुपयोग गरे । उनले आफ्नो कार्यकालमा कसरी काम गर्छन् त्यो हेर्न बाँकी नै छ । तर धेरै युवाहरु उनीप्रति आशावादी छन् । विद्यार्थी राजनीतिबाट आएका गैरेलाई पाल्पाली जनताले अबको पाँच वर्ष परीक्षण गर्नेछन् ।

को हुन् ठाकुर गैरे ?

भारतीय पक्षबाट नेपाली भूमि अतिक्रमण हुँदा कालापानी मार्च पास र सुस्ता महेशपुरमा भएको प्रदर्शनको नेतृत्व गर्ने गैरे राष्ट्रिय राजनीतिमा परिचित नाम हो । बराङ्दी पाल्पाका ठाकुरले २०६२/०६३ को जनआन्दोलन सफल बनाउन सडकको मोर्चाबाट महत्त्वपूर्ण भूमिका खेलेका थिए । एनसेल कर छलि प्रकरणमा खरो उत्रिएर भ्रष्टाचार विरोधी अभियानको पनि उनले सशक्त अगुवाइ गरेका थिए ।

२०२५ साल जेठ ६ गते जन्मिएका गैरेको विद्यार्थी राजनीति, राष्ट्रिय राजनीति र सामाजिक आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको छ ।​ गैरेले माध्यमिक तहको शिक्षा बेद मावि बराङ्दीबाट पूरा गरे । नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटी, परोपकार संघ नेपाल, चारपाते युवा क्लव, गाउँले युवा क्लव लगायतका संघ संस्थामा रही विभिन्न रचनात्मक क्रियाकलाप र समाजसेवामार्फत् गैरेले विद्यालयको विद्यार्थी जीवनमै आफ्नो फरक पहिचान  बनाएका थिए ।

पछि २०४७ सालमा तत्कालीन नेकपा (माले) को संगठित सदस्यता लिएपछि उनी राजनीतिमा निरन्तर क्रियाशील रहेका हुन् ।  विद्यालयमै रहँदा परिवर्तनको पक्षमा जागरण पैदा गर्नको लागि ‘५० रुपैयाँको तमसुक’ ‘शहीदकी आमा’जस्ता नाटकमा अभिनय गर्ने, विभिन्न साँस्कृतिक अभियान संचालन गर्ने आदि कार्यमा पनि उनको भूमिका महत्वपूर्ण थियो ।

पार्टीमा संगठित जीवनको ३२ वर्षपछि संघीय संसदका लागि उम्मेदवार बनेका गैरे विद्यालय पढ्दा नै अनेरास्ववियुमा संगठित भएका थिए ।

गैरे २०५३ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदै २०६३ मा अध्यक्षमा निर्वाचित भए । यस्तै नेकपा (एमाले) को बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट केन्द्रीय राजनीतिमा प्रवेश गरेका उनी हाल पोलिटब्युरो सदस्य छन् ।

सबैका लागि निःशुल्क र समान शिक्षा, गुणस्तरीय शिक्षाको लागि अनेरास्ववियुको नेतृत्वमा भएको आन्दोलन र संयुक्त शैक्षिक आन्दोलनका क्रममा उनले अग्रणी भूमिका निर्वाह गरे ।

गायक प्रवीण गुरुङको हत्या भएपछि हत्यारालाई कारवाहीको माग गर्दै ५ लाख २३ हजार हस्ताक्षर संकलन गरी तत्कालीन राजा वीरेन्द्रलाई बुझाइएको ऐतिहासिक आन्दोलनको नेतृत्व पनि गैरेले नै गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुवन कार्की
भुवन कार्की
लेखकबाट थप