शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एन्फाको तयारी खर्च बिना लिग खेल्न सक्षम छैनन् क्लबहरू ?

सोमबार, २६ मङ्सिर २०७९, १६ : ३७
सोमबार, २६ मङ्सिर २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्न लागेको नेपाली शीर्ष डिभिजनको लिग आगामी पुस महिनामा नै हुने भएको छ । यसअघि एन्फाले समयमा नै तयारी खर्च नदिएको भन्दै लिग खेल्न अस्वीकार गरेका ९ वटा क्लबहरू पनि सहभागी हुन तयार भएका हुन् ।

एन्फाले पुस ७ गतेभित्र लिगको तयारी खर्च लैजान ए डिभिजनका क्लबलाई पत्र काटेको छ । त्यस्तै क्लबहरू दर्ता पनि गर्नु पर्ने एन्फाले जनाएको छ । टिमहरू दर्ता भएसँगै अब क्लबहरूले पहिलो किस्ता बापतको रकम लिन पाउने छन् । एन्फाले क्लबहरूलाई लिगको तयारीका लागि निश्चित रकम तय गरेको छ । एन्फाका पूर्व अध्यक्ष गणेश थापाको पालामा लिगलाई व्यावसायिक बनाउने भनेर क्लबहरूलाई तयारी खर्च दिन थालिएको हो । 

यसअघि क्लबहरूले मङ्सिर १५ गतेभित्र पहिलो किस्ता बापतको तयारी खर्च नपाएको भन्दै पुस २६ गतेको पूर्व निर्धारित लिग खेल्न नसक्ने जानकारी एन्फालाई गराएका थिए । एन्फाले पहिलो किस्ताबापत क्लबहरूलाई १५ लाख रुपैयाँ दिने गर्दछ । समग्रमा एन्फाले क्लबहरूलाई तयारी स्वरूप दिने साढे ३२ लाख रुपैयाँमा पहिलो किस्तामा १५ लाख, दोस्रोमा १० लाख र तेस्रो किस्ता बापतको साढे ७ लाख रुपैयाँ उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको समेत बताएको छ ।

एन्फाका महासचिव किरण राईले आफूहरू क्लबसँग भएको सहमतिमा तयारी खर्च दिन तयार भएको बताएका छन् । उनले लिग तयारीका लागि खर्च दिने परिपाटी पहिलेदेखि नै भएका कारण अहिले पनि क्लबलाई एन्फाले सहमति अनुसार तयारी खर्च दिन लागेको बताए । 

‘हामीले सहमति अनुसार क्लबहरूलाई लिगको तयारी खर्च दिने निर्णय गरेका छौँ । उक्त सहमतिमा हामी प्रतिबद्ध छौँ । क्लबहरूले पनि व्यावसायिक ढंगबाट सोचिदिनुपर्‍यो  भन्ने हाम्रो आग्रह हो,’ राईले रातोपाटीसँगको कुराकानीमा भने । 

राईले टिमलाई लामो समयसम्म तयारी खर्चबापत पैसा दिने कामको विकल्प खोज्नु पर्ने बताए । व्यावसायिक फुटबलको कुरा गरिरहँदा तयारी खर्चको विषयमा पनि एन्फाले केही सोच्ने बताए । 

‘अहिले क्लबहरू आर्थिक रूपमा सक्षम नभएको समयमा एन्फाले लिग तयारी खर्च दिएको हो । व्यावसायिक बन्न केही समय पक्कै लाग्छ । लामो समयसम्म क्लबलाई तयारी खर्च दिएर लिग गर्ने परिपाटीको विकल्प पक्कै खोज्नु पर्छ,’ राईले भने ।

एन्फाले लिग तयारी खर्चको विकल्प दिन जरुरी छ

नेपालमा जस्तै फुटबल एसोसिएसन (एफए)ले तयारी खर्च दिएर लिग सञ्चालन गर्ने परिपाटी कमै देशहरुमा छ । लिगका लागि भनेर टिमहरूले एफएसँग पैसा माग्दैनन् । बरु लिगको टिकट, ब्रोडकास्टिङ राइटमार्फत आएको पैसालाई क्लबहरूले आपसमा बाँडफाँड गर्दछन् । युरोपियन लिगहरूले त झनै एफएसँग कुनै सरोकार राख्दैनन् । बेग्लै कमिटीले लिगहरू चलाएका हुन्छन् । त्यसरी नै सफल भएका प्रिमियर लिग र ला लिगालाई मुख्य उदाहरणका रूपमा लिन सकिन्छ । 

सङ्कटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले एन्फाले फिफाबाट पाएका अनुदानलाई क्लबमा नै खर्च गर्नु पर्ने बताए । क्लबका लागि खर्च गर्न सके मात्र लिगलाई व्यावसायिक गर्न सकिने बताए । 

‘एन्फाले क्लबहरूलाई लिगको तयारी खर्चका लागि पोष दिँदा मात्र लिग खेल्छौ भन्न स्वाभाविक नै हो । एन्फाले फिफाबाट पाएको अनुदानको खर्च गर्न पाउने क्लबको पनि अधिकार हो । एन्फाले लिग गर्न मान्दैन भने लिग कमिटी गठन गरेर लिग सञ्चालन गर्न सक्ने परिपाटी हुन प्यो । या त एन्फाले क्लबका लागि आर्थिक पाटो केही देखाउन सक्नु पर्छ,’ तुलाधरले रातोपाटीसँग भने । 

यस्तै चर्च ब्वाइजका विक्रम लामाले आफूहरू एन्फाले लिग तयारी  खर्च बापत पैसा नदिएमा लिग नै खेल्दैनौँ भन्ने परिपाटीको अन्य गर्नु पर्ने बताए । बरु एन्फासँग प्रायोजकका लागि सहकार्य गर्न सहयोग माग्न सकिने बताए । ‘लिगको तयारी खर्च नभएसम्म लिग नै खेल्दैनौँ भन्ने परिपाटीबाट केही पर जानु पर्छ । बरु खर्चको विषय र प्रायोजकका विषयमा भने क्लबहरूले एन्फासँग सहकार्य गर्न लगाउँदा सहज हुन्छ,’ लामाले रातोपाटीसँगको कुराकानीमा भने । 

लिग अन्योल रहँदा खेलाडीहरू पलायन 

फुटबल खेलाडीहरू अहिले अस्ट्रेलिया पलायन हुने क्रम बढेको छ । नेपालका लागि राष्ट्रिय टोलीमा खेलेका धेरै खेलाडी अहिले अस्ट्रेलिया पलायन भएको छन् । 

नेपाली टोलीका खेलाडी सुमन अर्याल, अमिर श्रेष्ठ, रवि थिङ, रुमेश बर्तौला, मिक्छेन तामाङ र रोहित कार्की अहिले अस्ट्रेलियामा छन् । नेपाली खेलाडीहरू विदेश पलायन हुँदा एन्फाले भने अझै लिग गर्ने या नगर्ने भन्ने कुरामा आफूले पूर्ण निर्णय गर्न सकेको छैन । 

नेपालमा व्यावसायिक लिग सुरु गर्ने योजना बनाएको नेपाल सुपर लिगलाई आर्थिक पाटोसँग जोडेर एन्फाले पूर्ण सहयोग नगरेको देखिन्छ । 

लिग समयमै गर्न खेलाडी संघको पहल 

एन्फाले तयारी खर्चबापत पैसा नदिने भन्ने चर्चा चल्दा अहिले नेपाल फुटबल खेलाडी संघले आफै पहल थालेर एन्फामा विज्ञप्ति बुझायो ।  

खेलाडी संघका पदाधिकारीहरूले एन्फासँग भेट गरी यथाशीघ्र घरेलु फुटबल सुचारु गर्ने वातावरण बनाउन नेतृत्वको ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप