शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बालनाटक : भस्मासुरको अन्त्य

मङ्गलबार, २७ मङ्सिर २०७९, १२ : ४०
मङ्गलबार, २७ मङ्सिर २०७९

स्थान – गणेश हिमालको आसपास (गोसाईँकुण्ड नजिक)
पात्रहरू –
(क) नारद (लोकहितका लागि संसार घुम्दै हिँड्ने सिद्ध पुरुष)
(ख) भस्मासुर (शक्ति आर्जन गर्न चाहने दानव सम्राट्) 
(ग) महादेव (पार्वतीपति कैलाशवासी भगवान् शिव)
(घ) वृद्धसन्यासी (भेषधारी भगवान् विष्णु)

नारद– होइन हो दानवराज ! चिन्तित जस्तो देखिनुहुन्छ नि ? के प-यो त्यस्तो ?

भस्मासुर– आफैँ त नारदजी ! कुनै कुराको सोचमा छु । तपस्या गर्न हिँडेको तर कसको गरौँ भन्ने ठम्याउन सकिरहेको छैन ।

नारद– वश त्यति ? त्यो त कुन ठूलो कुरा भयो र । पहिले यो त बताउनुस् तपस्या गर्न खोज्नुको कारण के हो ।

भस्मासुर– त्यति पनि थाहा छैन ? तपस्या किन गर्छन्, शक्ति आर्जन गर्न नि ।

नारद– आफैँ कस्यप्रजापतिका जेठी महारानीका सन्तान हुनुहुन्छ, मान छ, सम्मान छ, शक्तिशाली त्यत्तिकै । फेरि थप शक्ति किन किन चाहियो ?

भस्मासुर– थप शक्तिशाली बनेर दुनियाँलाई देखाउनु छ ।

नारद– तपस्या त जसको गरे पनि हुन्छ सबैले इच्छित वरदान दिन्छन् तर (अनकनाए जस्तो गर्छन्)

भस्मासुर– अनकनाउनुभयो नि किन ? कारण जान्न सक्छु ?

नारद– खासै होइन, मेरो आशय यही हो कि हतार छैन भने ब्रह्मा र विष्णु जसको गरे पनि हुन्छ । हतार छ भने महादेवको गर्न सक्नुहुन्छ तर ध्यान दिनुपर्ने कुरा के छ भने रिसाउन र खुसाउन बेर नलाग्ने देवता भएकाले महादेवको वरदानले हानि गर्न पनि सक्छ ।

भस्मासुर– यसको कारण ?

नारद– प्रष्टै छ नि । जुन चीज चाँडै प्राप्त हुन्छ त्यस्तो चीज चाँडै नासिन्छ पनि ।  त्यस्तै परे नोक्सानी गर्न पनि सक्छ ।

भस्मासुर– चाँडै सिद्धि प्राप्त गर्न महादेवको तपस्या गर्नुपर्छ होइन ?

नारद– हो ।

यति भनेर नारदजी हिँडे । भस्मासुुर गणेश हिमालेको फेदीमा बसेर महादेवको तपस्या गर्न लाग्यो । नभन्दै महादेवले चाँडै नै आएर वरदान माग्न आग्रह गरे ।

भस्मासुर– महादेव ! यदि मेरो तपस्याबाट खुसी हुनुहुन्छ भने यस्तो वरदान दिनुस् कि मेरो हात जसको टाउकोमा पर्छ उसको मृत्यु होस् ।

महादेव– वत्स ! किन यस्तो वरदान माग्यौ ? अरू नै कुनै माग न, जसले सबैको कल्याण गरोस् ।

भस्मासुर– किन र महादेव ! म यसको हकदार छैन र ?

महादेव– होइन, होइन । जे मागे पनि पाउन सक्छौ । त्यत्तिकै भनेको ।

भस्मासुर– मलाई शक्तिशाली बन्नृु छ त्यसैले यस्तो वरदान मागेको हुँ । सबैको कल्याण गर्न पनि शक्ति नै चाहिन्छ । 

महादेव– ठीकै छ त्यसो हो भने त्यसै सही । तथास्तु तिमीले भने जस्तै हुनेछ ।

यस्तो अद्भूत वरदान पाएपछि भस्मासुर सोच्न लाग्यो– ‘यी बूढा पनि मूर्खै रहेछन् । सबैको  हित गर्छन् भनेको त आफ्नै हितको पनि ख्याल राख्दा रहेनछन् । अब यिनैको टाउको हात राखेर मार्छु पार्वती हत्याउने छु ।’

महादेव– किन र वत्स ! टोलाउन लाग्यौ नि ? कि चित्त बुझेन ? थप वरदान चाहिन्छ भने त्यो पनि भन है ।

भस्मासुर– होइन महादेव ! यही नै काफी छ । बरू कृपागरी एक छिन त्यहीँ बसिदिनुहोस् । तपाईँकै टाउकोमा हात राखी वरदानको सत्यता परीक्षण गर्नेछु ।

बल्ल महोदेवको होस आयो । उनी डरले भाग्न लागे । भस्मासुर पछ्याउन लाग्यो । यो कुरा तत्कालै वैकुण्डवासी भगवान् विष्णुले थाहा पाई वृद्ध सन्यासीको भेषमा भस्मासुरको अगाडि उभिन पुगे ।

भस्मासुर– ओ सन्यासी बाटो छाड (रिसाउँदै) आफूलाईं कति हतार छ, ऊ भने बेकारमा अलमल्याउन आउँछ ।

सन्यासी– बाटो त छाडौँला नै पहिले यो त बताउनुस् कि के को हातार हो यस्तो ?

भस्मासुर– के को हतार भन्ने । महादेव भाग्दैछन् उनको टाउकोमा हात राखेर उनैले दिएको वरदानको परीक्षा गर्नुछ ।

सन्यासी : परीक्षा गर्नुपर्नाको कारण ?

भस्मासुर– उनले जसको टाउको हात राख्छु उसको टाउको फुटेर मृत्यु हुने वरदान दिएका छन् । त्यसैले यसको परीक्षा उनकै टाउकोमा राखेर गर्न चाहन्छु । वरदान सही रहेछ भने उनको तत्कालै मृत्यु हुनेछ र पार्वती हत्याउने छु । सही नभए अर्को वरदानका लागि कर गर्ने छु ।

सन्यासी– लौ वरवाद भो ।

भस्मासुर– किन ? के भो र ?

सन्यासी– के भएन भन्नुस् न । महादेव बौलाएका छन् । त्यस्ताले दिएको वरदान पनि सत्य हुन्छ भन्ने ठान्नुहुन्छ ?

भस्मासुर– भस्मासुर (झस्कँदै) हो र ?

सन्यासी– हो त नि । सतीदेवी मरेपछि उनको होस ठेगानमा छैन । जे पनि हुन्छ भन्छन् ।

भस्मासुर– सत्य हुन्न भन्ने प्रमाण पनि त छैन नि ?

सन्यासी– त्यसो हो भने पहिले आफ्नै टाउकोमा हात राखेर परीक्षण गर्नुस् न । अहिलेको अहिल्यै दूधको दूध पानीको पानी भइहाल्छ नि ।

सन्यासीको कुरा भस्मासुरलाई ठीकै लाग्यो । उसले आफ्नै टाउकोमा हात राखेर परीक्षा गर्न के लागेको थियो बज्रसमान चोट परी त्यहीँ ढल्यो । त्यसपछि भगवान् विष्णु र महादेव मुस्कुराउँदै आ–आफ्ना लोकतिर लागे ।         

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप