एकदिवसीयमा कहिल्यै भुल्न नसकिने म्याक्सवेलका ती १० इनिङ्स

समाचार सारांश
- अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरे।
- म्याक्सवेलले सन् २०१२ मा डेब्यु गर्दै अस्ट्रेलियालाई सन् २०१५ र २०२३ को विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेले।
- म्याक्सवेलले एकदिवसीय क्रिकेटमा ३,९९० रन बनाएका छन् र उनले टी-२० क्रिकेटलाई निरन्तरता दिने बताए।
काठमाडौँ । अस्ट्रेलियाका प्रभावशाली अलराउन्डर ग्लेन म्याक्सवेलले अप्रत्याशित रूपमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् ।
सोमबार जब अचानक ३६ वर्षीय म्याक्सवेलको अप्रत्याशित संन्यासको समाचार सार्वजनिक भयो, विश्वभर रहेका उनका करोडौँ समर्थक आश्चर्यमा परे । हुन त सक्रिय खेलजीवनमा पनि उनको आश्चर्यजनक इनिङ्स खेल्ने आदत थियो । चर्चित ब्याटिङ अलराउन्डर म्यासवेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा थुप्रै आश्चर्यजनक इनिङ्स खेलेका छन् ।
आफ्नो आक्रामक ब्याटिङका कारण उनले विश्वभर करोडौँ क्रिकेटप्रेमीको मन पनि जितेका छन् । उनकै अभूतपूर्व प्रदर्शनका कारण अस्ट्रेलियन टोलीले थुप्रै महत्त्वपूर्ण प्रतियोगितामा जितको झण्डा पनि फहर्याएको छ ।
उनले सन् २०१२ को अगस्तमा अफगानिस्तानविरुद्धको खेलमार्फत अस्ट्रेलियन टोलीबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनी सन् २०१५ र सन् २०२३ मा अस्ट्रेलियालाई विश्वकप जिताउने टोलीका प्रभावशाली सदस्य पनि हुन् ।
यी क्षमतावान् खेलाडीको ब्याटिङ जति आक्रामक थियो बलिङ पनि उत्तिकै धारिलो । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय ४९ खेलको एक सय ३६ इनिङ्समा कुल तीन हजार नौ सय ९० रन बनाएका छन् ।
यस क्रममा उनले चारवटा शतक र २३ वटा अर्धशतक पनि प्रहार गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर अविजित दुई सय एक रन हो । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ७७ विकेट पनि लिएका छन् ।
म्याक्सवेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटलाई भने निरन्तरता दिने भएका छन् । उनले अर्को वर्ष आयोजना हुने टी–२० विश्वकप खेलेर यो ढाँचाको क्रिकेटबाट पनि बिदा लिने सम्भावना छ । उनले टेस्ट क्रिकेटबाट पनि औपचारिक रूपमा संन्यास लिएका छैनन् । तर, म्याक्सवेलले अब टेस्ट क्रिकेट खेल्ने सम्भावना भने निकै कम छ ।
सन् २०२२ मा खुट्टा भाँचिएपछि एकदिवसीय क्रिकेटमा आफूले गतिलो प्रदर्शन गर्न नसकेको उनको कथन छ । सोही कारणले च्याम्पियन्स ट्रफीमा पनि आफ्नो प्रदर्शन स्वभाविक नरहेको उनले बताए ।
‘शरीरले साथ नदिएपछि टोलीमा स्थान ओगटेर बस्नुको कुनै अर्थ छैन । त्यसैले मैले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको निर्णय लिएको हुँ । मेरो स्थानमा कुनै युवा खेलाडीले टोलीलाई योगदान दिनेछन् । मलाई साथ र सहयोग दिनु हुने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु,’ आफ्नो सन्देशमा उनले भनेका छन् ।
विश्व क्रिकेटका यी प्रभावशाली खेलाडीले एकदिवसीय क्रिकेटमा थुप्रै उत्कृष्ट इनिङ्स खेलेका छन् । त्यसमध्ये केही त क्रिकेट पारखीको मन–मस्तिष्कमा सधैँ अमिट छाप बनेर रहने पक्का छ । म्याक्सवेलका यस्तै केही उत्कृष्ट इनिङ्सको बारेमा यहाँ उल्लेख गरिएको छ ।
- पाकिस्तानविरुद्ध अविजित ५६ रन (सारजहाँ, सन् २०१२)
अस्ट्रेलियाले सन् २०१२ को अगस्त–सेप्टेम्बरमा सारजहाँमा पाकिस्तानविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेलेको थियो । उक्त शृङ्खलाको पहिलो खेलमा अस्ट्रेलिया र दोस्रो खेलमा पाकिस्तान विजयी भएको थियो ।
त्यसैले शृङ्खलाको तेस्रो खेल निकै महत्त्वपूर्ण थियो । तेस्रो खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय ४४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको अस्ट्रेलियाले ३६ ओभरमा एक सय ५९ रन बनाउँदै पाँच विकेट गुमाइसकेको थियो ।
त्यसपछि सातौँ नम्बरमा क्रिज सम्हाल्न आएका म्याक्सवेलले आफ्नै शैलीले आक्रामक ब्याटिङ गर्दै टोलीलाई ४७ ओभरमै जितसम्म पुर्याएका थिए । यस क्रममा उनले केवल ३८ बलको सामना गरी तीन छक्का र चार चौकाको मद्दतले अविजित ५६ रन बनाएका थिए ।
म्याक्सवेल र माइकल हसीकै उत्कृष्ट ब्याटिङका कारण अस्ट्रेलियाले पाकिस्तानविरुद्धको उक्त शृङ्खला २–१ ले जितेको थियो । तेस्रो तथा अन्तिम खेलमा माइकल हसीले पनि ७२ बलमा एक छक्का र सात चौकाको मद्दतले ६५ रन बनाएका थिए।
- भारतविरुद्ध ६० रन (बेंगलुरु, सन् २०१३)
सन् २०१३ को नोभेम्बर २ तारिखमा बेंगलुरुमा भारत र अस्ट्रेलियाबिच सातौँ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलिएको थियो । त्यो खेलमा पहिले ब्याटिङ गरेको घरेलु टोली भारतले निर्धारित ओभरमा ६ विकेट गुमाएर तीन सय ८३ रन बनाएको थियो ।
भारतका लागि ओपनर ब्याट्सम्यान रोहित शर्माले दुई सय नौ रन बनाएका थिए । शिखर धवनले ६० र कप्तान महेन्द्रसिंह धोनीले पनि ६२ रन बनाएका थिए । भ्रमणकारी टोली अस्ट्रेलियाले पाएको लक्ष्य अत्यन्तै विशाल थियो ।
अस्ट्रेलियाले केवल ७४ रनमा चार विकेट गुमाइसकेको थियो । त्यसपछि छैटौँ नम्बरमा म्याक्सवेल क्रिज सम्हाल्न आएका थिए । क्रिज सम्हाल्न आएलगत्तै उनले छक्का र चौकाको वर्षा गरेका थिए । लाग्थ्यो, अवस्था यस्तै रहने हो भने अस्ट्रेलियाले सजिलै खेल जित्नेछ ।
आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल १८ बलमा अर्धशतक पूरा गरेका थिए । यो एकदिवसीय क्रिकेटमा अस्ट्रेलियन खेलाडीले बनाएको सबैभन्दा छिटो अर्धशतक थियो । त्यो खेलमा उनले केवल २२ बलमा सात छक्का र तीन चौकाको मद्दतले ६० रन बनाए ।
तर, त्यो खेलमा अस्ट्रेलियन टोली ५७ रनले पराजित हुन पुग्यो । अस्ट्रेलियाले ४५.१ ओभरमा अलआउट हुनुअघि तीन सय २६ रनमात्र बनाउन सक्यो । अस्ट्रेलियाका लागि जेम्स फल्कनरले पनि एक सय १६ रनको योगदान गरेका थिए ।
- पाकिस्तानविरुद्ध दुई विकेट (आबुधाबी, सन् २०१४)
म्याक्सवेलको ब्याटिङ जति आक्रामक थियो, बलिङ पनि उत्तिकै धारिलो । प्रसङ्ग सन् २०१४ अक्टोबर १२ तारिखको हो । आबुधाबीमा अस्ट्रेलिया र पाकिस्तानबिच तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको थियो ।
त्यो खेलमा अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै नौ विकेट गुमाएर दुई सय ३१ रन बनाएको थियो । म्याक्सवेलले २२ बलमा २० रन बनाएका थिए । तर, त्यो खेलमा म्याक्सवेलले ब्याटिङमा होइन, बलिङमा कमाल गरेका थिए ।
उक्त खेलमा पाकिस्तान जितको नजिक पुगिसकेको थियो । पाकिस्तानले आठ विकेटको नोक्सानीमा दुई सय आठ रन बनाइसकेको थियो । तर, अन्तिम ओभर बलिङ गर्न आएका म्याक्सवेलले पाकिस्तानी ब्याट्सम्यान सोहेल तनवीर र मोहम्मद इरफानको विकेट लिँदै अस्ट्रेलियालाई एक रनको रोमाञ्चक जित दिलाएका थिए । पाकिस्तानी टोली निर्धारित ओभरमा दुई सय ३० रन बनाउँदै अलआउट भयो ।
- इङ्ल्यान्डविरुद्ध ९५ रन र ४ विकेट (पर्थ, सन् २०१५)
सन् २०१५ को फेब्रुअरी १ तारिखमा पर्थमा अस्ट्रेलिया र इङ्ल्यान्डबिच एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको थियो । त्यो खेलमा अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै आठ विकेट गुमाएर दुई सय ७८ रन बनाएको थियो ।
अस्ट्रेलियाका लागि म्याक्सवेलले ९५ रनको योगदान गरेका थिए । आक्रामक रूपमा प्रस्तुत भएका उनले ९८ बलमा १५ चौका प्रहार गरेका थिए । अस्ट्रेलियाले केवल ६० बलमा चार विकेट गुमाएपछि म्याक्सवेलले अस्ट्रेलियाको इनिङ्स समालेका थिए ।
जवाफी ब्याटिङमा ओर्लिएको इङ्ल्यान्डलाई लक्ष्यसम्म पुग्न नदिन पनि म्याक्सवेलकै भूमिका महत्त्वपूर्ण रह्यो । उनले नौ ओभरमा ४६ रन खर्चिएर चार विकेट लिएपछि इङ्ल्यान्ड ३९.१ ओभरमै केवल एक सय ६६ रन बनाउँदै अलआउट भयो । उक्त खेलमा अस्ट्रेलिया एक सय १२ रनले विजयी भयो ।
- श्रीलंकाविरुद्ध १०२ रन (सिड्नी, सन् २०१५)
सन् २०१५ को मार्च ८ तारिखमा आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत अस्ट्रेलिया र श्रीलंकाबिच खेल खेलिएको थियो । उक्त खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले नौ विकेट गुमाएर तीन सय ७६ रन बनाएको थियो ।
अस्ट्रेलियाको यो विशाल स्कोरमा म्याक्सवेलले शतकीय योगदान गरेका थिए । उनले आक्रामक ब्याटिङ गर्दै केवल ५३ बलमा चार छक्का र १० चौका हिर्काएका थिए । उनको यही प्रदर्शनका कारण उक्त खेलमा अस्ट्रेलिया ६४ रनले विजयी भएको थियो ।
- पाकिस्तानविरुद्ध ७० रन र १ विकेट (दुबई, सन् २०१९)
सन् २०१९ को मार्च ३१ तारिखमा दुबईमा अस्ट्रेलिया र पाकिस्तानबिच पाँचौँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको थियो । त्यो खेलमा अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै सात विकेट गुमाएर तीन सय २७ रन बनाएको थियो ।
अस्ट्रेलियाको यो योगफलमा म्याक्सवेलले ७० रनको योगदान गरेका थिए । उनले पहिलो बलदेखि नै बाउन्ड्री प्रहार गर्न थालेका थिए । यस क्रममा उनले केवल ३३ बलको सामना गरी तीन छक्का र १० चौका हिर्काएका थिए ।
जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले निर्धारित ओभरमा सात विकेट गुमाएर तीन सय सात रनमात्र बनाउन सक्यो । खेलमा म्याक्सवेलले एक विकेट पनि लिएका थिए । उच्च स्कोर बनेको उक्त खेलमा अस्ट्रेलिया केवल २० रनले विजयी भएको थियो ।
- इङ्ल्यान्डविरुद्ध १०८ रन (ओल्ड ट्राफेर्ड, सन् २०२०)
सन् २०२० को सेप्टेम्बर १६ तारिखमा ओल्ड ट्राफोर्डमा अस्ट्रेलिया र इङ्ल्यान्डबिच तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको थियो । त्यो खेलमा पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले सात विकेट गुमाएर तीन सय दुई रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलिया पराजयको अत्यन्तै नजिक पुगिसकेको थियो । अस्ट्रेलियाले केवल ७३ रनमा पाँच विकेट गुमाइसकेको थियो । त्यसपछि खेलमा नाटकीय परिवर्तन भयो ।
छैटौँ नम्बरमा क्रिज सम्हाल्न आएका एलेक्स केरी र सातौँ नम्बरका ब्याट्सम्यान म्याक्सवेल दुवैले शतक बनाउँदै टोलीलाई जितसम्म डोर्याएका थिए । म्याक्सवेलले केवल ९० बलमा सात छक्का र चार चौकाको मद्दतले एक सय आठ रन बनाए ।
केरीले पनि एक सय १४ बलमा दुई छक्का र सात चौकाको मद्दतले एक सय ६ रन बनाए । यी दुई ब्याट्सम्यानको उत्कृष्ट प्रदर्शनका कारण अस्ट्रेलिया तीन विकेटले विजयी भएको थियो । म्याक्सवेलको उत्कृष्ट इनिङ्समध्ये यो पनि एक हो ।
- श्रीलंकाविरुद्ध अविजित ८० रन (कोलम्बो, सन् २०२२)
सन् २०२२ को जुन १४ तारिखमा कोलम्बोमा श्रीलंका र अस्ट्रेलियाबिच पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलिएको थियो । त्यो खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले सात विकेट गुमाएर तीन सय रन बनाएको थियो ।
वर्षाका कारण अस्ट्रेलियाले ४४ ओभरमा दुई सय ८२ रन बनाउनु पर्ने लक्ष्य पाएको थियो । माथिल्लो क्रमका ब्याट्सम्यानले पनि गतिलो प्रदर्शन गरेका थिए । तर, अस्ट्रेलिया जितबाट टाढिँदै गएको थियो । त्यसपछि सातौँ नम्बरमा क्रिज सम्हाल्न आएका म्याक्सवेलले आकर्षक इनिङ्स खेल्दै अस्ट्रेलियालाई जितसम्म पुर्याएका थिए ।
उनले केवल ५१ बलमा ६ छक्का र ६ चौका हिर्काएका थिए । उक्त खेलमा अस्ट्रेलियाले ४२.३ ओभरमा विजय लक्ष्य पार गरेको थियो । वास्तवमै म्याक्सवेलले उक्त खेलमा दर्शनीय इनिङ्स खेलेर धेरैको मन जितेका थिए ।
- नेदरल्यान्ड्सविरुद्ध १०६ रन (दिल्ली, सन् २०२३)
आईसीसी एकदिवसीय विश्वकप सन् २०२३ मा भारतमा आयोजना भएको थियो । अक्टोबर २५ तारिखमा अस्ट्रेलियाले नेदरल्यान्ड्ससँग भिडन्त गरेको थियो । अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै आठ विकेट गुमाएर तीन सय ९९ रनको विशाल स्कोर तयार पारेको थियो ।
अस्ट्रेलियाका लागि आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेलले एक सय ६ रनको आकर्षक इनिङ्स खेलेका थिए । उनले छक्का र चौकाको वर्षा गरेका थिए । छैटौँ नम्बरमा क्रिज सम्हाल्न आएका उनले केवल ४४ बलको सामना गरी आठ छक्का र नौ चौका प्रहार गरेका थिए ।
उनले केवल ४० बलमा शतक पूरा गरेका थिए । विश्वकपको इतिहासमा यो सबैभन्दा छिटो शतकको कीर्तिमान पनि थियो । यस क्रममा उनी आफैले आफ्नो कीर्तिमान तोडेका थिए । ‘पहिले कम बलमा अर्धशतक, अब सबैभन्दा कम बलमा शतक । निकै खुसी छु,’ खेलपछि उनले भनेका थिए ।
त्यो खेलमा नेदरल्यान्ड्सको टोली २१ ओभरमा केवल ९० रन बनाउँदै अलआउट भएको थियो । म्याक्सवेलका अतिरिक्त उक्त खेलमा डेभिड वार्नरले पनि अस्ट्रेलियाका लागि शतक बनाएका थिए ।
- अफगानिस्तानविरुद्ध अविजित २०१ (मुम्बई, सन् २०२३)
यो खेल पनि भारतमा आयोजित आईसीसी एकदिवसीय विश्वकपकै क्रममा खेलिएको थियो । नोभेम्बर ७ तारिखमा अस्ट्रेलियन टोली अफगानिस्तानसँग भिडेको थियो । यो खेल वास्तवमै अस्ट्रेलियाका लागि निकै महत्त्वपूर्ण पनि थियो ।
त्यसैले उक्त खेलमा म्याक्सवेलले आफ्नो जीवनकै उत्कृष्ट इनिङ्स पनि खेलेका थिए । सम्भवतः म्याक्सवेलको त्यो इनिङ्स हरेक क्रिकेटप्रेमीको मस्तिष्कमा अझै पनि ताजै हुनुपर्छ । त्यो विश्वकपमा अफगानिस्तान लयमा थियो ।
अस्ट्रेलियाविरुद्ध पनि अफगातिस्नानले पहिले ब्याटिङ गर्दै पाँच विकेट गुमाएर दुई सय ९१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले केवल ९१ रनको कुल स्कोरमा सात विकेट गुमाइसकेको थियो । धेरैले अस्ट्रेलिया हार्ने अनुमानसमेत गरिसकेका थिए ।
यस्तैमा छैटौँ नम्बरमा क्रिज सम्हाल्न आएका थिए, ग्लेन म्याक्सवेल । यी अनुभवी खेलाडीले त्यो खेलमा जुन प्रदर्शन गरे, विश्व क्रिकेटमा त्यस्तो क्षण निकै कम देख्न पाइन्छ । त्यो खेलमा उनले अविजित दुई सय एक रन बनाउँदै अस्ट्रेलियालाई नसोचेको जित दिलाए ।
लाग्थ्यो, मैदानमा छक्का र चौकाको बाढी आएको छ । केही समयअघिसम्म जितको नजिक पुगेर खुसी देखिएका अफगानिस्तानका हरेक बलर असिन–पसिन बनेका थिए । यस क्रममा म्याक्सवेलले केवल एक सय २८ बलको सामना गरी १० छक्का र २१ चौका हिर्काएका थिए ।
उनकै उत्कृष्ट प्रदर्शनका कारण अस्ट्रेलियाले ४६.५ ओभरमा सात विकेट गुमाएर दुई सय ९३ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो । म्याक्सवेल क्रिजमा प्रदेश गर्नासाथ एडम जाम्पा प्याड लगाएर उनको स्थानमा मैदानभित्र प्रवेश गर्न तयार भएर बसेका थिए ।
तर, जाम्पाले म्याक्सवेलको स्थान लिन मैदानमा छिर्नै परेन । म्याक्सवेलसँग कप्तान प्याट कमिन्स पनि ब्याटिङ गरिरहेका थिए । तर लाग्थ्यो, कप्तान कमिन्स त दर्शकमात्र हुन् । उनी अन्तिमसम्म अविजित रहे । यस क्रममा कमिन्सले ६८ बलको सामना गरे पनि १२ रनमात्र बनाए ।
म्याक्सवेल र प्याट कमिन्सले आठौँ विकेटका लागि दुई सय दुई रनको साझेदारी गरे । तर, कप्तान कमिन्सले १२ रनमात्र बनाए । यसबाट पनि त्यो खेलमा म्याक्सवेलको आक्रामकतालाई अनुमान सहज रूपमा गर्न सकिन्छ ।
अन्तिम चार ओभरमा अस्ट्रेलियालाई जितका लागि २१ रन आवश्यक थियो भने म्याक्सवेललाई दोहोरो शतकका लागि पनि त्यति नै रन चाहिएको थियो । तर, म्याक्सवेलसँग चार ओभर पर्खनै धैर्यता थिएन । म्याक्सवेलले ४७औँ ओभरमै अफगानिस्तानका बलर मजिब उर रहमालाई लगातार दुई छक्का, त्यसपछि चौका र त्यसपछि फेरि छक्का प्रहार गर्दै लक्ष्य पूरा गरे ।
त्यो खेलमा रमाइलो संयोग के थियो भने, म्याक्सवेल केवल ३३ रनको व्यक्तिगत स्कोरमा क्याच हुनबाट जोगिएका थिए । ‘म्याक्सवेलले आज एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा चाहेर पनि कहिल्यै भुल्न नसकिने इनिङ्स खेल । मसँग भन्नका लागि कुनै शब्द नै छैन,’ अस्ट्रेलियन टोलीका कप्तान कमिन्सले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी आन्दोलन रोकिएपछि राप्रपा नेताहरूका लागि सुरक्षाकर्मी पठाउँछौँ : गृहमन्त्री लेखक
-
फिल्म डेब्यु गर्दै ‘सक्किगोनि’की सुरक्षा
-
जातपात मान्ने कानुन र संविधानदेखि जातपात हटाउने कानुन र संविधानसम्म
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
आईपीएलको १८औँ संस्करणमा कसले कुन अवार्ड जिते ?
-
अमेरिकामा ट्रम्पले रद्द गरे आपत्कालीन गर्भपतन निर्देशिका