शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इन्जिनियरिङका विद्यार्थी सट्टेबाजका ‘एजेन्ट’

अर्काको नागरिकता ३ सयमा खरिद, मासिक ५ लाखसम्म कमाइ
बुधबार, २८ मङ्सिर २०७९, १३ : ३२
बुधबार, २८ मङ्सिर २०७९

ललितपुरको सानेपा घर भएका आदर्श ठाकुर सिभिल इन्जिनियरिङका विद्यार्थी हुन् । २० वर्षीय ठाकुर पोखरामा इन्जिनियरिङ पढ्दै छन् । कतारमा भइरहेको विश्वकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा उनलाई मंसिर २६ मा प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) कृष्ण कोइरालाका अनुसार फुटबलमा सट्टेबाजी गराएर ठाकुरले २ करोड २ लाख ८४ हजार रकम कारोबार गरेको भेटिएको छ । 

ठाकुर महोत्तरीको महोत्तरी गाउँपालिका–१ का स्थानीय हुन् । उनको परिवारका अधिकांश सदस्य इन्जिनियरिङ पेसामा छन् । तर, आदर्श सट्टेबाजीको ‘एजेन्ट’को आरोपमा अहिले जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा छन् । प्रहरीका अनुसार खेलमा सट्टेबाजी गर्न प्रयोग हुने रसियन बेटिङ एप ‘वान–एक्स बेट’का एजेन्ट हुन्, आदर्श ठाकुर ।

कोभिड–१९ नेपालमा शुरु भएपछि लामो समय लकडाउन भयो । लकडाउनको समयमा उनले अनलाइनमार्फत गरिने ‘बेटिङ धन्दा’ सुरु गरेका हुन् । ‘वान–एक्स बेट’को एजेन्ट बनेर बेटिङ गराउन ठाकुरले अरूको नाममा डिजिटल वालेटहरुमा खाता खोल्ने गरेका थिए । ई–सेवा, खल्ती र सेलपे जस्ता वालेटहरुमा खाता खोलेर उनले हार–जितको रकम संकलन गर्ने गरेका थिए । वालेटमा रकम संकलन गरेर नविल बैंक, सिद्धार्थ बैंक र एनआईसी एसिया बैंकमा रहेको आफ्नो खातामा उनले रकमान्तर गर्ने गरेको अनुसन्धानबाट थाहा भएको एसपी कोइरालाले जानकारी दिए ।


३ सयमा नागरिकता खरिद

डिजिटल वालेटमा खाता खोल्न आदर्शले तराईबाट नागरिकताको फोटोकपी मगाउने गरेको प्रहरीलाई बताएका छन् । ‘तराईबाट एक जना भाइसँग नागरिकताको कपी मगाउने गरेको छु’ प्रहरीसँग ठाकुरले भनेका छन्, ‘एउटा नागरिकताको फोटोकपीलाई ३ सय तिर्ने गरेको थिएँ ।’

तराईबाट स्क्यान गरेर पठाएको नागरिकताको फोटोकपी प्रयोग गरेर उनले डिजिटल वालेटमा खाता खोल्ने गरेका थिए । उनले खाता खोल्न प्रयोग गरेको ९० वटा नागरिकताको कपी प्रहरीले बरामद गरेको छ । पछिल्लो ५ महिनादेखि विभिन्न अन्तर्राष्ट्रिय खेलहरूमा बेटिङ गराइरहेका ठाकुरले मासिक ४ देखि ५ लाखसम्म कमाउने गरेको प्रहरीलाई बताएका छन् । अर्काको नागरिकता प्रयोग गरेर उनले सिमकार्ड पनि खरिद गरेको पाइएको छ । अर्काको नाममा डिजिटल वालेट खोल्न उनले प्रयोग गरेको एनसेल र स्मार्ट सेलका ९४ थान सिमकार्ड प्रहरीले बरामद गरेको छ । 

डेबिड मार्फत एजेन्ट

रसियन एप ‘वान–एक्स बेट’को एजेन्ट आदर्श ठाकुरको सम्पर्क डेबिड केसीसँग देखिएको छ । रसिया बस्ने केसीले रसियाको नम्बरबाट ठाकुरसँग ह्वाट्स एपमार्फत कुरा गर्ने गरेको थाहा भएको छ । तिनै केसी मार्फत ठाकुर बेटिङ एजेन्ट बनेका हुन् ।

ठाकुरले नेपालमा बेटिङ गराउने र हारजितको पैसा लोड अनलोड गर्ने गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । फुटबलको सट्टेबाजीमा रकम हाल्नेहरूबाट जितेको पैसा ठाकुरले डिजिटल वालेटमार्फत आफ्नो खातामा रकमान्तर गरेर डेबिडले भने अनुसारको खातामा पठाउने गरेका थिए । कमिसनमा सट्टेबाजी गराउने ठाकुरको साथमा एजेन्टहरुले प्रयोग गर्ने रेड्डी नामक एप्लिकेशन इन्स्टल गरिएको मोबाइल भेटिएको छ ।

ठाकुरमार्फत सट्टेबाजी खेल्नेहरुले १ हजारदेखि ८ हजारसम्म लगानी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ठाकुरले वान एक्स बेटमा पैस लोड अनलोड गरिदिने र डलरमा कन्भर्ट गरेर खेलाडीहरुलाई उपलब्ध गराउने गरेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए । 

डिजिटल वालेट सट्टेबाजीमा दुरुपयोग भएको आशंमा अपराध अनुसन्धान कार्यालयले ४ सय ८५ वटा डिजिटल वालेटको कारोबार रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ । ‘ती वालेटबाट वेटिङ भएको फेला परेको हुनाले कारोबार रोक्न पत्राचार गरेका छौँ’, एसपी कृष्ण कोइरालाले भने, ‘शङ्कास्पद कारोबारबारे अनुसन्धान गरिरहेका छौँ ।’

ठाकुरविरुद्ध मुलुकी अपराधसंहिताको दफा–१२५ को उपदफा ४ बमोजिम सट्टेबाजी गर्न गराउन नहुने कसुरमा म्याद लिएर ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप