शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

के हो धनुर्मास पूजा ?

शनिबार, ०२ पुस २०७९, ०६ : ०६
शनिबार, ०२ पुस २०७९

विश्वका हिन्दुहरूको आस्थाको केन्द्रबिन्दु भगवान् पशुपतिनाथ विराजित पावन भूमि पाशुपत क्षेत्रमा विभिन्न प्रकारको पर्व, उत्सव, मेला लाग्छ । 

यसबाहेक स्वयं पशुपतिनाथको समेत अनेकानेक प्रकारले विभिन्न तिथि आदिमा छुट्टै प्रकारको विशेष पूजा हुने गर्दछ । जस्तै दमनाराहोण, पवित्रारोहण, टिकन्छा, बालाचतुर्दशीमा इन्द्र कवच आरोहण लगायतका पर्वहरुमा छुट्टै प्रकारको विशेष पूजा हुने गर्दछ । 

यसै क्रममा नेपालमा चल्ने सम्वतहरु चन्द्रमान र सौर्यमानको आधारमा चल्ने गर्दछ । विक्रम सम्वत सौर्यमानको गणनाबाट चल्दछ भने अन्य तिथिहरु चन्द्रमाको गणितीय उद्धतिमा मनाइने गरिन्छ । गते रतिथीले पौष महिना पर्ने दिनहरूलाई धनुर्मास भन्ने गरिन्छ ।  

तिथिको हिसाबले मङ्सिरको पूर्णिमापछि पौष लाग्दछ भने मङ्सिर मसान्तको भोलिपल्ट अर्थात् सङ्क्रान्तिको दिन पौष लाग्दछ । यसै दिनदेखि सूर्य नारायण धनु राशिमा प्रवेश गर्छन् । तसर्थ यो वर्ष २०७९ साल पौष १ गते देखि २०७९ पौष २२ गतेसम्म धनुर्मास महिना लागेको छ । 

यसै समयको बिचमा पशुपतिनाथ अमाल कचहरीबाट पशुपतिनाथका मूल भट्टसँग परामर्शपश्चात् श्री साइत जुराइन्छ । यसका लागि तिथि र महिना दुवैले पौष महिनाभित्रै परेको दिन हुन आवश्यक छ । यस दिन भगवान्लाई जाडोबाट बच्न विशेष खिचडी चढाउने चलन छ । 

पहिले पहिले पौष महिनामा नौ पटकसम्म पनि धनुर्मास पूजा गर्ने गरिन्थ्यो । जुनसुकै भक्तजनहरूले पनि आफ्नो खर्चमा धनुर्मास पूजा गर्न सक्थे । हालको अवस्थामा वर्षमा भने एक पटक मात्र धनुर्मास पूजा हुने गर्दछ । जुन परम्परागत रुपमा पशुपतिनाथ अमालकोट कचहरीबाट हुन्छ ।

 रातको समयमा गरिने उक्त पूजामा चारैजना भट्ट ब्राह्मण, पालोवाला भण्डारी, श्रीको भान्छे र ब्राह्मण आदि सबैजना जुट्नुपर्ने हुँदा बाहिरी मानिसहरूद्वारा गरिने धनुर्मास पूजाको परम्परा हाल लोप भइसकेको छ । 

पशुपतिनाथलाई खिचडीको भोग दिने कार्य अमालकोट कचहरीका तर्फबाट वर्षमा एकपटक मात्र गर्ने परम्परा बसेको छ । उक्त पूजा मध्यरातको बाह्र बजे सुरु गरिन्छ । यस अवसरमा पशुपतिनाथलाई आदिकलश, पञ्चामृत स्नान, तैलाम्भ्य, श्रीयन्त्र लेखन, श्रृङ्गार, श्री चक्रको पूजा, धूप बत्ती र बालभोग अर्पण गरी मूलभोगका रूपमा भने खिचडी अर्पण गर्ने परम्परा छ ।

उक्त दिन पालो परेका भट्ट पूजारीले एउटामा सख्खरसहितको र अर्कोमा चिनीसहितको दुईवटा खड्कुलोमा खिचडी पकाउने चलन छ । मध्यरातमा सुरु गरिएको पशुपतिनाथको खिचडी भोगको कार्य बिहानको करिब ७ बजेतिर समापन हुने गर्दछ । 

त्यस अवसरमा रातभरी देवताको पूजा गरिने हुँदा धनुर्मास पूजा सकिएको दिन दिउँसो पशुपतिनाथ मन्दिर बन्द हुने गर्दछ । त्यस दिन बिहान १९ बजेतिर बन्द गरिएको मन्दिर बेलुका साँझको आरतीका लागि मात्र खोल्ने परम्परा छ ।

धनुर्मास विशेष गरी पशुपतिनाथलाई खिचडी अर्पण गर्ने पर्वका रूपमा प्रसिद्ध रहेको छ । यस अवसरमा औंसी, पूर्णिमा, एकादशी, सोमबार र शनिबारजस्ता पशुपतिनाथमा भक्तहरूको भीडभाड हुने दिनबाहेक अन्य कुनै एक दिन गरिन्छ ।

रात्रिपूजा सम्पादन गरीखिचडी भोग लगाएर ढोका बन्द गर्ने परम्परा भएकोले उपर्युक्त बारमा ढोका बन्द गर्नु उचित नहुँदा अन्य दिनमा गर्ने व्यवस्था गरिएको हो । 

यो पर्वको विशेषता के छ भने चन्द्रमास र सूर्यमास दुवैबाट पौष महिना भएपछि मात्र उक्त पर्व गर्न सकिन्छ । पौष महिना नलाग्दै चन्द्रमानले मार्गमा नै पौष कृष्ण चतुर्दशी पर्यो भने खिचडी भोग लगाउने पर्व हुँदैन । अतः यो पर्व थोरै दिनको पनि हुन सक्छ ।  

पशुपतिनाथलाई जाडोबाट जोगाउन चौबीसै घण्टा मूल मन्दिरमा धनुर्मास पूजा आराधना गरेसँगै भक्तजनका लागि मन्दिर बन्द गरिन्छ । पशुपतिनाथ मन्दिरमा आदिकालदेखि नै सौर र चन्द्र दुवै मासअनुसार पुस परेको दिनमध्ये उपयुक्त दिनमा धनुर्मास पूजा गर्ने परम्परा रहेको छ ।

बेलुकी आरती गर्नमात्र मन्दिरको ढोका खोलिन्छ । भगवान् पशुपतिनाथका गणसहित नवग्रहलाई समेत दिन एवं रातभर पूजा गरी आदिकालदेखि मनाउँदै आएको धनुर्मास पर्व सम्पन्न गर्ने परम्परा छ । पार्वतीसहितका शिवजीलाई जाडोबाट जोगाउन धनुर्मास पूजा गर्ने परम्परा बसेकाले पूजापछि शरीरमा ताप दिने खाद्य पदार्थ चाकु, सख्खर, खिचडीलगायत प्रसादका रुपमा चढाउने परम्परा छ । पशुपतिनाथलाई चढाउने खिचडी बनाउँदा दालको आधा चामल र चामलको आधा घिउ हाल्नुपर्ने विधि रहेको छ ।

धनुर्मास पूजा सकिएपछि बिहानैदेखि शिवपार्वती पनि घाम ताप्न जाने विश्वासमा मन्दिर बन्द गर्ने गरिने परम्परा छ । धनुर्मास पूजाका दिन पशुपतिनाथमा नित्य एवं नैमित्तिक भोगसमेत लाग्दैन ।

मानव शरीरमा भएका विभिन्न चक्रलाई खुशी पार्न महिना अनुसारका खाद्य परिकारको वर्णन शास्त्रमा गरिएको छ । जाडोले धनुजस्तै कुप्रिने बेलामा गरिने पूजा भएकाले धनुर्मास भनिएको हो । तन्त्र शास्त्रमा धनुर्मास पूजा विधिका बारेमा उल्लेख गरिएको जनाइएको छ । पशुपतिनाथ मन्दिरमा वैदिक र तान्त्रिक दुवै विधिबाट पूजा आराधना हुँदै आएको छ ।

श्रोतः

१ कुलचन्द्र कोइराला

२ प्रत्यक्ष अनुसन्धान

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप